News 24 Television
बागमतीका प्राय सामुदायिक वनमा डढेलो, प्रदुषण उच्च 

काठमाडौं । गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जताततै वन डढेलोको प्रकोप बढिरहेको छ । बागमती प्रदेशका चितवन, धादिङ, सिन्धुली, मकवानपुर लगायत प्रायः जिल्लाहरुमा वन डढेलो लाग्दा वायू प्रदुषण बढेको छ । 

वनमा लागेको डढेलोका कारण जंगली जनावर त प्रभावित भएका छन् नै आम मानिसहरुमा पनि स्वास्थ्य समस्या बढ्दै गएको छ । 

केही दिनयता बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा आसपासका क्षेत्रहरु बाक्लो तुवाँलोले ढाकेको छ । मकवानपुरका विभिन्न सामुदायिक वनहरुमा यतिबेला डढेलो लागिरहेको छ । जसको धुँवा वायू मण्डलमा मिसिदा श्वास फेर्न समस्या हुने, आँखा पोल्ने, रुघा खोकी लाग्ने जस्ता स्वास्थ्य समस्याहरु बढ्दै गएको पाइन्छ । 

पछिल्लो समय वायू प्रदुषणकै कारण अस्पतालहरुमा बिरामीको चाप बढेको छ । दमका रोगी, मुटुरोगी तथा अन्यलाई समेत घाँटी दुख्ने, श्वास फेर्न असहज हुने र रुघाखोकी लाग्ने समस्या लिएर बिरामीहरु आउने गरेको हेटौंडा अस्पतालका फिजिसियन डा. उदित आचार्य बताउँछन् । 

प्रदुषणले आँखा पोलेर मानिसलाई बाहिर निस्कन कठिन भइरहेको छ । माक्स नलगाउँदा श्वास फेर्नै सकस हुने स्थानीय बताउँछन् । 

जथाभावी लगाइएको डढेलोका कारण निस्किएको तुवाँलोले वायु प्रदुषण निकै बढेपछि आँखा सम्बन्धि समस्या पनि उत्तिकै बढेको छ । 

साना बालबालिकादेखि बृद्धबृद्धासम्मको आँखामा समस्या देखिएको छ । वायू प्रदूषणका कारण अन्य समयमा भन्दा केही दिनयता आँखाका बिरामी बढेको हेटौंडा सामुदायिक अस्पतालको दाबी छ । त्यसो त, वन जंगलमा लागेको डढेलोले सबैतिर क्षति मात्रै निम्त्याएको छ । 

जंगली जनावरको बासस्थान देखि किराफट्याङ्ग्रासम्मको नास हुने हुँदा वन डढेलोले जैविक विविधतामा समेत प्रभाव पार्ने जानकारहरु बताउँछन् । प्रदेशका प्रायः सबै जिल्लाका सामुदायिक वनहरुमा डढेलो लाग्दा प्रदेशको वन तथा वातावरण मन्त्रालयले वन डढेलो नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि विभिन्न कामहरु गरिरहेको दाबी गरेको छ । 

मकवानपुरमा मात्रै यो बर्ष ६० हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय मकवानपुरको तथ्यांक छ । चालु आर्थिक बर्षमा जिल्लामा वन डढेलो नियन्त्रणका लागि १५ लाख रुपैंया बजेट विनियोजन भएको थियो । बजेटले भ्याएसम्म डढेलो नियन्त्रणका उपायहरु अपनाइएको डिभिजन वन कार्यालयले बताएको छ । तर भौगोलिक वनावटका कारण पनि डढेलो लागिसकेपछि नियन्त्रणमा ल्याउन भने निकै कठिन हुने गरेको डिभिजनल वन कार्यालयका अधिकृत राकेश प्रसाद चन्द्रवंशी बताउँछन् । 

पछिल्लो समय वनमा लागेको डढेलोको धुवाँसँगै सवारी साधनबाट निस्कने धुँवा, खुल्ला रुपमा फोहोर विसर्जन तथा जलाउने प्रक्रियाले पनि वायु प्रदूषण बढाएको वातावरणविद्हरुको भनाइ छ । 

हामीले फेर्ने श्वासमै प्रदुषीत हावा प्रवाह हुँदा अनेक किशिमका रोग लाग्ने हुने हुँदा वन डढेलो नियन्त्रणका लागि सबै एकजुट हुन आवश्यक छ । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update