
काठमाडौं । मुलुकको वित्तिय व्यवस्था र बैंकिङ प्रणालीलाई रेगुलेट गर्नका लागि गभर्नर अनिवार्य हुन्छ । तर, सरकारले गभर्नर चयनलाई असहज स्थितितर्फ विषयवस्तुलाई डो¥याउने देखिएको छ ।
गभर्नरमा राजनीतिक भागबण्डाको विषय मिलान हुन नसक्दा सिफारिस समिति पहिलो बैठक बस्न नै नसक्ने स्थितिमा पुगेको छ । सत्ता साझेदार एमाले र कांग्रेसका उच्च तहका नेताहरु सकेसम्म आफ्नो पार्टी निकट ब्यक्तिलाई गभर्नर बनाउने कसरतमा छन् ।
नेपाल राष्ट्र बैकका बर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल पूरा हुदाँ पनि सरकारले नयाँ गभर्नर चयन गर्न सकेन । मुलुकको अहिलेको कठिन अवस्थामा अर्थतन्त्र चलायमान हुन नसकेको र बैक तथा बितीय संस्थाहरुको लगानी परिचालन हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई तत्काल सूचारु गर्न सक्ने योग्य ब्यक्तिको छनौट गर्नु पर्ने हुन्छ ।
यतिवेला गभर्नरको दौडमा हालका राष्ट्र बैकका संचालक समेत रहेका डा रविन्द्र पाण्डे, राष्ट्र बैंकबाटै डा गुणाकर भट्ट, निजी बैकर ज्ञानेन्द्र ढुंगाना, केवल भण्डारीको नाम काग्रेसले अघि सारेको बुझिएको छ भने सत्तारुढ दल एमालेले राष्ट्र बैकबाट हालका दुई डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना, बम बहादुर मिश्र र अर्थमन्त्री बिष्णु पौडेलका सल्लाहकार समेत रहेका डा. प्रकाशकुमार श्रेष्ठ र निजी क्षेत्रका बैकर अशोक शेरचनको नाम अघि सारेको बुझिएको छ ।
मुलुकको.केन्द्रीय बैकको गभर्नर भागवण्डामा भन्दा पनि मौद्रिक अर्थ ब्यवस्था हाक्न सक्ने योग्य व्यक्तिका बारेमा सत्ता साझेदार एमाले कांग्रेस एकमत हुन सकेको देखिदैन । यस्तो स्थितिमा कांग्रेस नेता डा. शेखर कोइरालाले सार्वजनिक रुपमै सरकार विचौलियासँग घुमिरहेको आरोप नै लगाएका छन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २५ गते सकिँदैछ । सरकारले चैत ११ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेल रहेको ३ सदस्यीय गभर्नर सिफारिस समिति गठन गरिसकेको छ । राष्ट्र बैंक ऐनमा भएको व्यवस्थाअनुसार उक्त समितिले कम्तिमा १ जना डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिस गर्नेछ । यसरी समितिले सिफारिस गरेका ३ मध्ये १ जनालाई मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्नेछ ।
गभर्नर पदमा आफू समर्थित व्यक्ति र्पुयाउन राजनीतिक दल र व्यावसायिक घरानाहरु समेत आफू अनुकुलको व्यक्तिलाई र्पुयाउन लागि परेका परेको देखिन्छ । राष्ट्र बैकका हालका डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिना र अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैक भित्र्रैबाट गभर्नर छनौट हुनु पर्ने भन्दै एमाले निकट शक्ति केन्द्रहरुमा धाइरहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले महिलालाई पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मूख्यमन्त्री र मुख्यसचिव आफूले नै बनाएको बताएर महिलालाई नै गभर्नर बनाउने संकेत गरेका थिए ।
३ जना सिफारिस गर्दा एकजना डेपुटी गभर्नर सिफारिस गर्नैपर्ने व्यवस्था भएकाले नीलमको नाम सिफारिस हुनसक्ने बलियो सम्भावना रहेको राष्ट्र बैकका अधिकारीहरु बताउछन् ।
राष्ट्र बैंकमा कार्यकारी निर्देशक बनेको केही समयमै डेपुटी गभर्नरमा नियुक्त भएका बमबहादुर मिश्र पनि प्रधामन्त्री ओली निकट मानिन्छन् । ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा छन् ।
ढुंगाना कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेपालका ठुलो चौधरी समूहका अध्यक्ष विनोद चौधरीको लगानीमा रहेको नबिल बैंकको सीईओ भएर काम गरिसकेका छन् ।
गभर्नरका अर्का बलियो दाबेदार राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्ट पनि रहेका छन् । सुदूरपश्चिमका भट्ट कांग्रेस सभापति शेरबहादुर देउवासँग सिधा पहुँच भएका बलिया मानिन्छन् ।
त्यसैगरी राष्ट्र बैकमा कार्यकारी निर्देशक तथा हालका संचालक समेत रहेका डा पाण्डे पनि अर्थतन्त्र र मौद्रिक अर्थब्यवस्थालाई राम्रोसंग हाक्न सक्ने भन्दै काग्रेस बृतमा उनको नाम अगाडी छ ।
पूर्व सचिव केवल भण्डारी र पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई पनि गभर्नरको दावेदारमा हेर्न थालिएको छ । राष्ट्र बैक ऐनमै परिमार्जन गरेर भए पनि उमेरलाई समेत मिलाएर गभर्नर चयन गर्न सक्ने संकेत देखिएको छ ।
अहिलेको अवस्थामा गभर्नर छनौट समितिले कसैको इशारा र प्रभावमा नपरीकन गभर्नर नियुक्त गरेर अर्थतन्त्रलाई जीवन्त बनाउनु पर्ने अवस्था छ । गभर्नरको दौडमा रहेका ब्यक्तिहरु आफना पार्टीका नजिकका हुन वा नातेदार हुन भन्दा पनि सरकारले अहिलेको कठिन अवस्थामा रहेको अर्थतन्त्रलाई इमान्दारीपूर्वक काम गर्न सक्ने योग्य ब्यक्ति गभर्नर बनाउन सकेको अवस्थामा मुलुकले राहत पाउन सक्नेछ ।