News 24 Television
फेवा ताल जोगाउने उपाय, नारामै सिमित 

कस्की । पोखराको सुन्दरतासँगै पर्यटकीय पहिचान बनेको फेवाताल अतिक्रमण र प्रदूषणको चपेटामा परेको छ । ताल वरपर अवैध संरचनाहरू विस्तार भइरहेका छन् भने पानीको सतह घट्दो छ, तर संरक्षणका योजनाहरू भने कागजमै सीमित छन् । फेवातालले संरक्षण खोजिरहे पनि निरन्तररुपमा खुम्चीरहेको र दिनहुँ प्रदूषित भइरहेको हुँदा तालको अस्तित्व नै खतरामा परेको छ । 

पोखराको शौन्दर्य र मुटु मानिने फेवाताल पछिल्लो समय तीव्र अतिक्रमण र प्रदूषणको चपेटामा परिरहेको छ । पर्यटकीय आकर्षणको मुख्य स्रोत मानिने यो तालको किनारमा अवैध संरचना बन्दै गएका छन्, जसका कारण फेवातालको आकार र स्वरूप दुवै खुम्चिँदै गएका छन् । 

त्यसमा पनि तालको वरपरका क्षेत्रमा सडक विस्तार र यही सडकबाट बगेर आउने ग्रेगर, ढुंगा, माटोले ताल पुरिदै गएको छ । 

प्रेस क्लब गण्डकीले फेवाताल बचाउन सबैको भूमिका महत्वपूर्ण रहने भन्दै ‘फेवातालको विगत र वर्तमानको अवस्था’ विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

फेवाताल पर्यटनसँग मात्र जोडिएको छैन । यसको सम्वन्ध प्रकृति र तालको वरिपरि बसोबास गर्दै पुस्तौंदेखि माछा मार्ने पेसा गरेर जिविका चलाउँदै आएका जलारी समुदायसँग पनि जोडिएको छ । तर, पछिल्लो समय तालमा बढ्दो अतिक्रमण, प्रदूषण र सरकारी हस्तक्षेपका कारण उनीहरूको जीवनशैली संकटमा परेको छ । 

जसले गर्दा माछामात्र होइन ताल नै लोप हुने र जलारी समुदाय विस्थापित हुने खतरा बढेको हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारी चिन्ता व्यक्त गर्छन् ।

फेवातालको क्षेत्रफल ५ दशमलव ७२ वर्ग किलोमिटर थियो, तर पछिल्लो दशकमा १३ हेक्टरभन्दा बढी क्षेत्र अतिक्रमणमा परेको सरकारी तथ्यांकले देखाएको छ । यसरी ताल निरन्तररुपमा खुम्चीरहने र दिनहुँ प्रदूषित भइरहँदा ताल लोप हुने अवस्थामा पुगेको हुँदा बेलैमा संरक्षणतर्फ ध्यान दिनुपर्ने अन्तरक्रियाका वक्ताहरुको जोड दिए ।

फेवाताल संरक्षणमा कार्यान्वयनको पक्ष फितलो हुँदा तीनै तहका सरकार चौतर्फि रुपमा आलोचित बन्दै गएका छन् । तर पछिल्लो समय स्थानीय सरकारबाटै संरक्षणमा कडारुपमा लागिरहेको पोखरा महानगरपालिकाले जनाएको छ । 

ताल अतिक्रमणमा सक्रिय रहेका भूमाफियालाई पनि नियन्त्रण गरिएको र पछिल्लो समय तालको जग्गा पुर्ने, अतिक्रमण गर्ने काम नभएको पोखरा महानगरका जनप्रतिनिधिले दावी गरे ।

फेवाताललाई बचाउन सरकारले योजना बनाएको धेरै वर्ष भइसक्यो, तर कार्यान्वयनको गति भने कछुवाजस्तै छ । अतिक्रमण, प्रदूषण र अव्यवस्थित विकासको चपेटामा परेको ताल अझै पनि वास्तविक संरक्षणको पर्खाइमा छ । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update