News 24 Television
स्वास्थ्य बीमामा गाउँपालिकाको सक्रियता, ५० प्रतिशत नै अनुदान 

कास्की । कास्कीको रुपा गाँउपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई जनतासँग जोड्ने प्रयास थालेको छ । पालिकाले आफ्नै अस्पतालमा बीमा कार्यक्रम लागु गरेर विमित रकममा ५० प्रतिशत अनुदान दिएको छ । यसले बीमाका लागि शहरका ठुला अस्पतालमा धाउनुपर्ने  बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ । 

कास्कीको रुपा गाउँपालिकाले स्वास्थ्य बीमालाई जनतासँग सहज तरिकाले जोड्ने कार्य शुरु गरेको छ । साथै जनस्वास्थ्यको दायित्व बहन गरि विमित रकममा ५० प्रतिशत अनुदान समेत प्रदान गर्ने कार्य अघि बढाएको छ । 

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा दिएर स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरेका हुन् । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । 

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५ जनाको परिवारको बिमा गर्दा लाग्ने ३ हजार ५ सय रुपैयाँको ५० प्रतिशत गाउँपालिकाले व्यर्होने छ । बिमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको छ । पालिका भित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने बाध्यता थियो । यसबाट जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने पालिकाको अपेक्षा छ । 

स्वास्थ्य विमा बोर्डसँगको सहकार्यमा स्वास्थ्य विमा कार्यक्रममा नागरिकको पहुँच बृद्धि गर्न पालिकाले विमा सहजकर्ता खटाएको छ । पालिकाका ४ सय घरपरिवार विमा कार्यक्रममा जोडिएका छन् । अस्पताल आउने ७० प्रतिशत विरामीको उपचार अस्पतालबाटै पूर्ण हुने र बाकीँ ३० प्रतिशतलाई ठुला अस्पतालमा रिफर गर्ने गरिएको छ । कोरोना महामारीमा अस्पतालको खाँचो खड्कीए पछि पालिकाले २०७७ जेठमा अस्पताल संचालनको तयारी थालेका थियो । क्रमशः अस्पताललाई स्तरोन्नती गदैँ पालिकाले २ डाक्टरसहित २८ जना स्वास्थ्यकर्मी नियुक्ती गरेर सेवा दिइरहेको छ । 

अस्पतालबाट २४ सै घण्टा इमर्जेन्सी सेवा, सार्वजनिक बिदाको दिनबाहेक ओपिडी सेवा, निशुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध हुने गरेको छ । 

यति मात्र हैन जनतालाई सहज हुने गरी बिहान ८ बजेबाट नै बहिरंग सेवा (ओपिडी) सुरु सुचारु हुन्छ । रिफर लिएर ठुलो अस्पताल जान परे पनि अस्पतालका दुइवटा एम्बुलेन्स छन् । 

ती एम्बुलेन्सले पालिकामा कोही विरामी परेमा तत्काल अस्पताल पुर्याउने गरेका छन् । ५ सय रुपैयामा एम्बुलेन्स सेवा लिन सकिन्छ । पालिकाले अस्पतालबाट दिइने सेवालाई बृद्धि गदै लैजाने नीति लिएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update