काठमाडौं । समाज नकारात्मक टिप्पणीमा रमाउने, कसैको देवत्वकरण र कसैलाई दानवीकरण गर्नेमा उद्दत देखिन्छ । युवा पुस्तामा सामाजिक सञ्जालको लतदेखि विभिन्न विषयमा चल्ने चर्चा, राजनीतिक गफगाफदेखि विभिन्न विषयमा हुने बहस छलफल र टिकाटिप्पणी नकारात्मक बाटोतर्फ मोडिदा सामाजिक मूल्य मान्यता र नेपाली युवापुस्तामा संकट पैदा हुने त होइन भन्ने डर देखिन थालेको छ ।
समाज कस्तो बन्ने ? सामाजिक क्षेत्रका अवयवहरु कसरी विकास हुन्छन् ? यस्ता प्रश्नको सहज जवाफ हो, सामाजिक–राजनीतिक परिवेश र विकसित घटनाक्रमले निर्धारण गर्छ । तर, पछिल्लो समय नेपाली समाजमा नकारात्मकताले छपक्कै ढाक्न थालेको छ ।
कुनै विषयमा गरिएका सामान्य टिप्पणीले पनि क्षणभरमै कसैमाथि ठूला अपमान र घृणाका श्रृङ्खला थोपरिन सक्छन् । यसको पछिल्लो उदाहरण बनेकी छन्, अभिनेत्री सुरक्षा पन्त । सुरक्षाले एक टेलिभिजन कार्यक्रममा गरेको टिप्पणी आपत्तिजनक नभएपनि उनले खेपिरहेको सामाजिक प्राताण्ड भने कम देखिन्न ।
सुरक्षाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहलाई कस्तो रुपमा देख्न चाहनुहुन्छ भन्ने प्रश्नमा आफूजस्तै कलाकारितामा आए ठिक हुने भनिन् । सुरक्षाले जे विषयमा दख्खल राखिन त्यहि विषयमा राम्रो हुन्छ भन्ने विषय सामान्य भएपनि उनी अहिले आलोचनाको चुलीमा छिन् मानौं, उनले ठूलै अपराध नै गरेकी छन् ।
त्यो अपराधको सजाय सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट दिन थालिएको हो । तर, यो प्रकरणमा सुरक्षामात्रै यस्तो खप्की खानेमा भने पर्दिनन् । सामाजिक सञ्जालमा लखेटिने अन्य थुप्रै कलाकार छन् । केहि समय पहिले कलाकार प्रकाश सपुतले प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यको पुस्तक विमोचनमा पुगेर आफ्ना अभिव्यक्ति राखे । त्यसपछि उनी यति धेरै आलोचनाको सिकार बने कि, उनको चलचित्र बसन्तलाई ठूलो प्रभाव प¥यो ।
सार्वजनिक रुपमा एउटा कलाकारले गर्ने टिप्पणी केपी ओलीको व्यक्तिगत पक्षपोषणको रुपमा नभई मुलुकको प्रधानमन्त्रीको रुपमा पनि त हुन सक्थ्यो । तर, यस्तो रुचाइएन ।
यस्तै, गएको स्थानीय तहको निर्वाचनको बेला अर्का कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीले पनि भरतपुरको मेयर रेणु दाहालबारे गरेको टिप्पणी पनि यसै गरि आलोचनाको सिकार बनेको धेरै समय भएको छैन् ।
यी प्रतिनिधिपात्रका रुपमा देखिएका घटना हुन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र जितेका काठमाडौंका मेयर बालेन्द्र साह ’बालेन’, धरानका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपी हमालबारेका केहि आलोचनात्मक टिप्पणीमा पनि यसै गरि गाली गलौज गर्ने प्रवृत्ति अहिले पनि चल्ने गरेको छ ।
अझं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि टिप्पणी गर्नेहरु पनि ठूलो आलोचनाको सिकार बन्ने गरेको देखिन्थ्यो ।
राजनीतिक नेतृत्वमाथि सकरात्मक टिप्पणी गरे समर्थन पाउने होइन भने अपमान र गालीगलौज पाइने स्थिति अहिलेको समाजको खराब अवस्थाका रुपमा सतहमा चुलिएको छ । यसरी समाज नकारात्मक टिप्पणीमा रमाउने र अनेक भाष्य निर्माणमा जुट्ने खतरा देखिएका बेला हामीले सातै प्रदेशका सर्वसाधारणलाई ’अहिले युवा जमातमा विषयवस्तुमाथिको विवेचना नै नगरि नकारात्मक टिप्पणी गर्ने प्रचलन बढेको देखिन्छ । किन मानिसहरु नकारात्मक टिप्पणीमा रमाउन थाले ? यसमा तपाईको कस्तो धारणा छ ?’ भनेर सोधेका छौं ।
किन समाज नकारात्मकतातर्फ जादैछ ?
कुनै बेला एमाले अध्यक्ष केपी ओलीको हाईहाइ हुन्थ्यो । आई लभ यु केपी बा भन्दै समर्थनमा नाराबाजी नै चल्ने गथ्र्यो ।
सामाजिक सञ्जालमा ओलीले एकछत्र कब्जा नै गरेका थिए । भारतको अघोषित नाकाबन्दीपछि ओली राष्ट्रवादी छविका देखिन्थे ।
ओलीमाथि कसैले केहि नकारात्मक टिप्पणी गर्न पनि धेरै पटक सोच्नुपर्ने बाध्यता जस्तो बन्न पुगेको थियो । यस्तोमा एमालेले त साइबर सेना नै निर्माण ग¥यो । यसको काम भनेको सामाजिक सञ्जालमा अनेक तिकड्म गरेर ओली र एमालेको सकारात्मक प्रचार गर्नु नै थियो ।
यो क्रम अहिले पनि चलिरहेको छ, तर प्रभाव खास देखिन्न । यता, दलका नेताहरुबिरुद्ध अहिले माहोल ठिक देखिन्न । उनीहरुले सकारात्मक र चाहिने कुरा गरेपनि नकारात्मक टिप्पणीले भरिभराउ नै हुने गर्छ ।
देश निर्माणको खाका नै दिएपनि गाली गलौज चलिरहन्छ । यस्तो स्थिति सिर्जना हुनुमा यिनै नेताहरुको पनि भूमिका कम भने छैन् । राजनीतिक नेतृत्वले निर्माण गर्ने भाष्य र त्यसबाट समाजलाई पार्ने प्रभावको विषयमा खास ध्यान दिन नसक्दा अहिले आफैले उत्पादन गरेको यस्तो जमात आफैविरुद्ध खनिने गर्छ ।
त्यसपछि उनीहरुले नै भन्न थालेका छन, सामाजिक अराजकताा बढ्यो । कसैले कसैलाई सम्मान गर्ने वातावरण नै हराउन थाल्यो ।
सामाजिक सञ्जालमा अनेक सक्रियता
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मको प्रयोग तथा दुरुपयोग व्यापक बनिरहेको छ । केहि ठूला सामाजिक सञ्जालका पेजहरु व्यवसायीक रुपमा कुनै पोस्ट गरिदिएवापत निश्चित रकम लिने गर्छन् ।
फेसबुक पेज चलाउनेहरुले निर्वाचन परिणाम नै उलटफेर गर्न सक्ने हैसियत निर्माण गरेका छन् । केहि हदसम्म यसको प्रयोग पनि भएको देखिन्छ भने, त्यस्ता सामाजिक सञ्जालका मालिकलाई पोस्ने निर्णय समेत हुने गरेको हल्ला चलिरहन्छ । अहिले तीनै सामाजिक सञ्जालका मालिकहरुले माथि लैजान सक्छन् भने कुनै बेला तल ल्याउन पनि सक्छन् ।
यसको हेक्का भने खास राखेको देखिन्न । तर, नेपालमा व्याप्त बेरोजगारी, नैराश्यता, सुशासन कायममा सरकारी असफलता, भ्रष्टाचारको ग्राफमा देखिन थालेको उकालो ग्राफदेखि तमाम विषयले मानिसमा आक्रोश बढेको देखिन्छ भने यस्तै खाले इन्फुएन्सरहरुले भीडलाई उत्तेजित पार्ने गरेको देखिन्छ ।
सामाजिक र मनोवैज्ञानिक कारण
जातपात, वर्ग र लैंगिक विभेद जस्ता कारण नेपालमा केही सीमित व्यक्ति वा समुदायले धेरैलाई लामो समय दमनमा राख्यो । तर आज त्यस्तो दमन छैन, सबैमा बोल्नुपर्छ भन्ने भावना प्रष्फुटन भएको छ ।
यस्तो सामाजिक संरचनाका कारण अहिले पनि धेरै दमित आवाजहरु विष्फोटको रुपमा बाहिर निस्किने गरेको छ ।
लामो समयसम्म मनमा थिचिएको आक्रोश, असन्तोष वा हीनताबोध अहिले गाली वा नकारात्मक व्यवहारमार्फत निस्किरहेको छ । यो बाहेक असुरक्षा र आत्मविश्वासको कमी पनि अर्को कारण रहेको छ ।
अरूलाई गाली गर्दा आफूलाई माथि देखाउन सकिन्छ भन्ने भावनाले पनि समाज गालीगलौचमा उत्रिन थालेको हो । यसमा व्यक्तिगत तनाव, बेरोजगारी, राजनीतिक असन्तुष्टि, आर्थिक समस्या जस्ता सबै कुरा एकैठाउँमा मिसिदा समाज प्रोयाक्टिभ हुनुको साटो रियाक्टिभ फोर्समा परिणत भइरहेको छ ।
स्वनियन्त्रण आवश्यक
नागरिक तहमा देखिएको निराशा र नकारात्मक सोचले अन्ततः प्रभाव आफूमाथि नै पार्ने हुन्छ । नकारात्मक भाष्य खडा गर्न जति परिश्रम र मेहनत लाग्छ, त्यसलाई सहि बाटोमा ल्याउन त्योभन्दा धेरै कठिन हुने गर्छ ।
अहिले युवा पुस्तामा बढेको नकारात्मकताले सामाजिक विद्वेषमात्रै नभएर राज्य प्रणालीमाथि नै संकट आउन सक्छ ।
यसर्थ, सभ्य समाजको निर्माण र नकारात्मकताबाट सिर्जनशिलतातर्फ जानका लागि स्वनियन्त्रण र सकारात्मक सोचसहित आलोचनात्मक चेतको विकास आवश्यक भइसकेको छ ।