
रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाले आम्दानीको स्रोत संकलनका लागि गर्ने दानव नदीको उत्खनन्बाट निम्तिने समस्या समाधानका लागि कुनै चासो नदिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
गाउँपालिकाले आफ्नो आम्दानी स्रोत बढाउन वर्सेनि नदीजन्य पदार्थको उत्खनन्का लागि दानव नदीमा ठेक्का लगाउने गर्छ । तर उत्खनन्बाट हुने क्षति न्युनीकरणका लागि स्थानीयबासीसँग गरेको सहमतिको कार्यान्वयन गर्नेतर्फ चासो नदेखाएको आरोप छ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाले हरेक वर्ष नदीजन्य पदार्थको ठेक्का लगाउँछ । यसबाट करोडौं आम्दानी पनि हुन्छ । तर, नदी किनारका बासिन्दाको समस्या समाधानमा भने पालिकाले बेवास्ता गर्दै आएको छ ।
खासगरी वडा नम्बर १ र ६ स्थित दानव नदी किनारका बासिन्दा बढी प्रभावित भइरहेका छन् । मनपरी ठूला मेसिन लगाएर नदीजन्य पदार्थ उत्खननु गरिँदा कटान र सडक भत्किने समस्या छ । स्थानीय र पालिकामा क्रियाशील राजनीतिक दलले उत्खनन्कै कारण नदी किनारका जमिनमा हुने गरेको कटान नियन्त्रण गर्नेतर्फ गाउँपालिकाले चासो नदिएको आरोप लगाएका छन् ।
हरेक वर्ष नदीले स्थानीयको जमिन कटान गरी बगरमा परिणत गर्ने गरेको छ । यसबाट दानवमा बनेका पुलसमेत जोखिममा परेका छन् ।
स्थानीयले नदीजन्य पदार्थ ठेक्काबाट हुने आम्दानीको आधा रकम स्थानीय सडक बनाउन र नदी किनारमा तटबन्ध लगाउन माग गरेका छन् ।
जथाभावी दोहनले नदीको सतह गहिरिँदै जाँदा आसपासका बस्तीमा पानीको स्रोत सुक्दै जान थालेको, सिंचाइमा समस्या भएको, पानी चुहाउँदै नदीजन्य पदार्थको ढुवानीले आसपासका ग्रामीण सडकमा ठूला ठूला खाडल परेको, उब्जाउ भूमि कटान बर्षेनी बढ्दै गएको, नदीमा निर्मित पक्की पुलहरु जोखिममा पर्ने लगायतका समस्या निम्तिने गरेको स्थानीय बताउँछन् ।
गाउँपालिकाले भने नदीजन्य पदार्थको ठेक्का लगाउँदा प्राप्त हुने कुल राजश्वको २५ प्रतिशत रकम सम्बन्धित वडामै छुट्याउने र स्थानीयको माग अनुरुप नदी कटान नियन्त्रणका काम गरेको दावी गरेको छ ।
मापदण्ड बिपरित कुनै पनि उत्खनन्का काम हुन नदिने र बद्मासी गर्ने ठेकेदारलाई कारवाही गर्ने पालिकाले प्रतिबद्धता जनाएको छ ।
स्थानीयका अनुसार विगतदेखि नै मापदण्ड र नियम बिपरित मेसिन लगाएर रातारात ठेकेदारले नदीजन्य पदार्थको उत्खनन् गर्दापनि गाउँपालिका र नियमनकारी निकायले अनुगमन र कारवाही गर्दैनन् । गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा नदीको दोहन हुने गरि नदीजन्य पदार्थको उत्खनन् हुने गरेको स्थानीयको आरोप छ ।
शुद्धोधनले यस वर्ष १२ वटा घाटको ठेक्का लगाउँदै छ । यसमध्ये ३ वटा राष्ट्रिय गौरवका आयोजनालाई नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमती दिइएको छ भने ९ वटा घाटको ठेक्का आह्वान भएको छ ।
गतवर्ष पालिकाले नदीजन्य पदार्थ ठेक्का लगाएर ११ करोड बराबर राजस्व संकलन गरेको थियो । यस वर्ष पनि सोही बराबर आम्दानी हुने अपेक्षा छ । तर, स्थानीयको विरोधले उत्खनन् सुरु गर्न भने चुनौती थपिएको छ ।