
काठमाडौं । संसदका प्रमुख २ ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन भएको ९ महिना बढी भइसकेको छ । तर पनि नेपाली राजनीति लयमा आउनै सकेको छैन । बरु बेरोजगार, महंगी, कालोबजारी, भ्रष्टाचार ब्याप्त छ । न्यायको खोजीमा विभिन्न क्षेत्रहरु आन्दोलित छ । यहि मौकामा राजावादी शक्तिहरु पनि सक्रिय बनिरहेका छन् । सर्वत्र असन्तुष्टि चुलिएकाबेला विभिन्न राजनीतिक शक्तिहरु आ–आफ्नै दाउपेचमा छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको डेढ दशक बढी भइसक्दा मुलुकमा राजनीतिक अस्थिरता झनै बढेको छ । हरेक क्षेत्रका नागरिकहरु असन्तुष्ट छन् । बेथिति र विसंगतिहरु झन् झन् मौलाउँदै गएको छ ।
कार्यपालिका, ब्यवस्थापिकादेखि न्यायपालिकाको समेत विश्वास गुम्दै गएको छ । जसका कारण कारण वर्तमान राज्य ब्यवस्थाकै विकल्पका श्वरहरु बढ्दै गइरहेको छ । नागरिकमा बढ्दो असन्तुष्टिको फाइदा उठाउन विभिन्न शक्तिहरु यो वा त्यो ढंगले लागिरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहकै सक्रियता बढिरहेको छ भने राजावादी शक्तिहरु पनि उक्तिकै उत्साहित बनिरहेको अवस्था छ । ब्यवस्था नै परिवर्तन गर्न भन्दै सबै राजावादी शक्ति एकजुट भएर अघि बढेको राजावादीहरुकै स्वीकारोक्ति छ ।
राजावादी शक्तिहरुले शक्ति संघर्षको अभ्यास पनि गरिसकेका छन् । गत फागुन ७ मा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन भन्दै राजनीतिक अभिब्यक्ति दिएपछि नै राजावादी शक्तिहरु उत्साहित भएका हुन् । फागुन २५ मा पोखराबाट काठमाडौं फर्किँदै गर्दा निकै ठूलो शक्ति प्रदर्शनका साथ शाहलाई विमानस्थलबाट निर्मल निवाससम्म नै स्वागत गरिएको थियो ।
त्यसपछि चैत १५ मा विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा भएको राजावादीको प्रदर्शन हिंसात्मक नै बन्न पुगेको थियो । त्यसयता राजसंस्थाप पुर्नस्थापनाका लागि भन्दै जनआन्दोलन समिति नै बनाएका राजावादी शक्तिहरुले आन्दोलन उठाउने प्रयासहरु गरिरहेका छन् । जसले गर्दा लोकतन्त्रवादी शक्तिहरुलाई झस्काइरहेको छ ।
त्यसैले सडकदेखि सदनसम्म नै प्रधानमन्त्रीदेखि विभिन्न नेताहरुले आक्रोशहरु पोखिरहेका छन् । र, गणतन्त्रको रक्षाका लागि अपिल गरिरहेका छन् ।
नागरिक असन्तुष्टि चुलिएका बेला विभिन्न शक्ति केन्द्रहरु पनि लागिरहेका छन् । त्यसैले कुनै पनि बेला अप्रिय घटना घट्ने त्रासदी गणतन्त्रवादी सबै जसो नेताहरुमा देखिन्छ । १० वर्षे सशस्त्र संघर्षको नेतृत्व गरेका प्रचण्डले पनि नयाँ क्रान्तिको संकेत गरिरहेका छन् ।
विहीबार १ सय ३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले मजदुरहरुलाई पनि आन्दोलनका लागि तयार रहन आह्वान गरेका छन् ।
कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण भएपछि सत्ताविमुख भएका प्रचण्डले बेलाबेलामा क्रान्तिको चेतावनी दिइ नै रहेका छन् । आफू सत्ता विमुख भएपछि दुई दलीय सत्ता समिकरण भत्काउन उनी हरतरहले लागिरहेका छन् । तर पनि आफूलाई सरकारमा नजाने कुनै रुची नरहेको बताउन भने छाडेका छैनन् ।
लोकतन्त्र र गणतन्त्रवादी भन्ने राजनीतिक दलका नेताहरुको अर्कमन्यताकै कारण मुलुक समृद्धिको बाटो अघि बढ्न नसकेको अवस्था छ । त्यसैले नागरिकको असन्तुष्टिलाई कसले कसरी उपयोग गर्छ, भन्न मुश्किल छ ।