News 24 Television
एमाले प्रदर्शनमा संसदको गर्जन, बादल रविसँग जुधे ! शक्ति कति ?

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापना गर्दै अन्तरिम सरकार गठन गर्नुपर्ने मागसहित नेकपा एमाले देशभर विरोध प्रदर्शनमा उत्रिएको छ । एमालेले देशका सबै जिल्लामा सभा आयोजना गर्दै विरोध प्रदर्शन गरेको हो । एमालेले विभिन्न तह हुँदै काठमाडौंमा अन्तिम सभा आयोजना गर्ने बताएको छ । शनिबार देशभर गरिएको प्रदर्शनमा के–के भयो त ? 

नेकपा एमालेले शनिबार देशभर जिल्लाव्यापी प्रदर्शन गरेको छ । एमालेले कात्तिक १५ गते नै केपी ओलीको निवास गुण्डुमा बसेको बैठकले पालिका, जिल्ला र केन्द्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार मंसिर २९ गते अर्थात शनिबार जिल्लाव्यापी प्रदर्शन गरिएको हो । शनिबारको प्रदर्शनमा विभिन्न जिल्लामा शीर्ष नेताहरु उपस्थित भएर सभालाई सम्बोधन गरेका छन्, भने प्रदर्शन भव्य रुपमा सम्पन्न भएको भनिरहेका छन् । 

अब एमालेले मंसिर ६ गते काठमाडौंमा प्रदर्शन गर्नेछ । जुन प्रदर्शनले अहिलेको अन्तरिम सरकार विघटन गरि संसद पुनस्र्थापना र नयाँ अन्तरिम सरकार गठनको पक्षमा समेत आवाज उठाउने भनिएको छ । यस्तोमा एमालेले देशका विभिन्न जिल्लामा आयोजना गरेको सभालाई नेताहरुले सम्बोधन गर्दै संविधानको रक्षा, लोकतन्त्रको पहरेदारी लगायतका दाबीहरु गरेका छन् । 

एमाले नेताहरुले विभिन्न जिल्लाका सभालाई सम्बोधन गर्दै देशभरको प्रदर्शनले जनतामा जागरण ल्याउने दाबी मात्रै होइन, संसद पुनस्र्थापनालाई समेत मुख्य मुद्दा बनाइरहेका छन् । 

मोरङबाट एमाले उपाध्यक्ष गुरु बरालले संसद पुनस्र्थापनाको मागलाई मुख्य गर्जन बनाइरहँदा एमाले सचिव लेखराज भट्टले सुदूरपश्चिममा आयोजित सभालाई सम्बोधन गर्दै एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने धारणा राखेका छन् । 

जेनजी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग समेत नेताहरुले राखिरहेका छन् । 

एमाले महासविच शंकर पोखरेलले समेत बाँकेको नेपालगञ्जमा आयोजित सभालाई सम्बोधन गरेका छन् । महासचिव पोखरेलले देशलाई जोगाउन एमालेमात्रै विकल्प भएको दाबी गर्दै अहिलेको अन्तरिम सरकारमाथि आक्रोश पोखेका छन् । 

एमाले महासचिवदेखि शीर्ष नेताहरुले विभिन्न जिल्लामा पुगेर सभालाई सम्बोध गरिरहँदा सर्वाधिक चर्चामा भने पूर्वमाओवादी नेता रामबहादुर थापा परे । उनले चितवनमा गरेको भाषण चर्चामा छ, अहिले । 

थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कठपुतलीको संज्ञा दिएका छन्, भने फागुन २१ का लागि तय निर्वाचनलाई समेत कडा शब्दमा प्रहार गरेका छन् ।

एमालेले देशभरका विभिन्न जिल्लामा सभा आयोजना गर्दै संसद पुनस्र्थापनादेखि एमालेको नेतृत्वमा अन्तरिम सरकार गठन गरेर चुनावमा जानुपर्ने भनिरहेको छ । एमालेले आफ्नो पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि जेनजी आन्दोलनलाई समेत स्वीकार गर्न चाहेको देखिन्न भने निर्वाचन समेत सम्पन्न नहुने दाबी गर्दै आएको छ । 

अन्तरिम सरकारको विकल्प खोज्नुपर्ने भनिरहेको एमालेले मंसिर ६ गते काठमाडौंमा विशाल सभाको आयोजना गर्ने भएको छ । त्यो सभामा जनसहभागीता कस्तो हुन्छ र त्यसपछि एमालेले कस्तो रणनीति तय गर्छ भन्ने विषयले समेत एमालेको विषयमा प्रष्ट हुँदै जानेछ । यद्यपि, जेनजी आन्दोलनबाट निर्वाचनमा जाने निर्णयलाई भने एमालेले पूर्णतः अस्वीकार गर्ने स्थिति भने देखिन्न । 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update