
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गर्दै वित्तीय विवरणदेखि विभिन्न तथ्य सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणले नाफामा गएको भनिएको प्राधिकरण झण्डै ६ अर्ब घाटामा रहेको तथ्याङ्कसहित आन्तरिक ऋण लिने प्रक्रिया नै शुरु भएको भनिएपछि यसले तरङ्ग ल्याएको छ ।
केहिदिन पहिले नै सार्वजनिक गर्ने भनिएको श्वेतपत्र ढिला गरि शुक्रबार सार्वजनिक गरिएको छ । ऊर्जामन्त्री दीपक खड्कालाई अप्ठ्यारो पर्ने गरि स्वेतपत्र तयार भएपछि केहिदिन रोकेर शुक्रबार श्वेतपत्र सार्वजनिक गरिएको हो ।
स्वेतपत्रले विद्युत प्राधिकरणको वित्तिय विवरणदेखि आगामी कार्ययोजनाका बारेमा समेत बोलेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण झण्डे ६ अर्ब घाटामा रहेको दाबी पेश गरेका छन् । प्राधिकरणले सार्वजनिक गरेको यस विवरणले भने तरङ्ग पैदा गरिदिएको छ ।
शाक्यले यतिमात्रै भनेका छैनन्, प्राधिकरणको खातामा मोज्दात नै नरहेको भन्दै भेनडरलाई भुक्तानी दिन नसकेकाले १० हर्ब आन्तरिक ऋणको प्रक्रिया समेत शुरु भएको जिकिर गरेका छन् । यस्तै स्वेतपत्रमा विद्युतको पहुँचबारे समेत कुलमानको भन्दा केहि फरक तथ्य सार्वजनिक गरेको देखिन्छ ।
महंगोमा अल्पकालीन ऋण लिन लागेको भनेका शाक्यले प्राधिकरणको खातामा शून्य मौज्दातलाई कारण भनेका छन् । तर, यस पहिलेका कार्यकारी निर्देशक कुलमानले भने प्राधिकरणलाई नाफामा गएको दाबी गरेका थिए । यस्तो स्थितिमा प्राधिकरणको भविष्य समेत अब संकटतर्फ जाने त होइन भन्ने शंकाहरु उठ्न थालेका छन् ।
श्वेतपत्र सार्वजनिक मै अलमलले शंका
स्वेतपत्र कसरी घाटा देखाउन सकिन्छ भन्नेमा ठूलो शक्ति खर्च भएको बताइन्छ । यस पहिले नै स्वेतपत्र सार्वजनिक गर्ने समय तोकेर अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
यसका पछाडी ऊर्जामन्त्री दीपक खड्काले केहि तथ्याङ्कले आफूलाई संकटमा पार्ने भन्दै रोक्न निर्देशन दिएको बताइन्छ । मन्त्री खड्काको निर्देशनपछि रोकिएको स्वेतपत्रमा विभिन्न तथ्याङ्कलाई सकेसम्मको तोडमोड र घाटा देखाउने ठूलो अभ्यास गरिएको बताइन्छ ।
यसका पछाडी कुलमान घिसिङले नाफामा गएको छ भन्दै मन्त्री खड्कालाई चुनौति दिइरहेको र उनै शाक्यलाई विस्थापित गरेर कार्यकाल चलाएको हुनाले पनि दुबै जनाको स्वार्थ मिलेकोमा शंका छैन् । त्यसमाथि उनीहरुको स्वार्थ सम्बन्धको घनिष्टताकै प्रभावले केहिसमय पहिले मन्त्री खड्काले शाक्यलाई एसियाकै उत्कृष्ठ इन्जिनियरको पगरी गुथाइसकेका छन् ।
यसले पनि दुबैजना प्राधिकरणको भविष्यभन्दा पनि कुलमानको बदख्याँईमै केन्द्रित बनेकोमा आरोप बढ्दो छ । यद्यपी, शाक्यले लिने भनेको अल्पकालीन ऋण र त्यसको चर्को ब्याजको विषय सरकारले कसरी सम्बोधन गर्छ भन्ने कुरा सार्वजनिक चासोमा देखिन्छ ।
अर्बाैं वक्यौता उठाउन बाँकी
प्राधिकरणले बक्यौता उठाउने मामलामा भने आँखा चिम्लिने देखिएको छ । प्राधिकरणले ४४ अर्ब बढि बक्यौता उठाउन बाँकी छ । स्वेतपत्रमै स्विकार गरिएको बक्यौता रकम ४४ अर्ब ५४ करोड छ भने श्वेतपत्रअनुसार २०८१ असार मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित फागुन मसान्तसम्मको बक्यौता ४४ अर्ब ५४ करोड रहेको हो । तर, प्राधिकरणले बक्यौता तत्काल उठाउनुको सट्टा अल्पकालीन ऋणको बाटो समात्ने भएको छ ।
यसमा सरकारले अनुमति दिने प्रक्रिया चलिरहेको शाक्यको दाबी समेत छ । जुन बक्यौता उठाउने मामलामा कुलमान एक्लिन पुगेका थिए भने उद्योगी व्यापारीले ठूलो चलखेल गरेको आरोप लागेको थियो ।