News 24 Television
प्रिसा, केआईआईटी र नेपालः किन र कसरी हुँदैछन् यस्ता घटनाहरु ?

काठमाडौं । अर्को एक नेपाली युवती विदेशमा रहस्यमय रूपमा मृत फेला परेकी छन् । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत १८ वर्षीया प्रिसा साहको मृत्युले फेरि एक पटक नेपाली विद्यार्थीहरूको सुरक्षा, मानसिक स्वास्थ्य र राज्यको उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ । 

सर्लाहीको कविलासी नगरपालिका वडा नं ८ स्थायी घर भई हाल वीरगन्जमा बसोबास गर्दै आएकी प्रिसा साह बीटेक प्रथम वर्षकी छात्रा थिइन् । 

गत बिहीबार साँझ उनी आफ्नै होस्टेल ‘क्वी सी ४’ को कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । दिउँसो मात्रै परिवारसँग फोनमा नेपाल फर्किने कुरा गरेकी उनले मे १८ का लागि टिकटको व्यवस्था गर्न आग्रह गरेकी थिइन् । तर त्यो साँझकरिब ९ बजेतिर उनी मृत भेटिइन् ।

घटना के हो ?

भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय फेरि एक पटक स्तब्ध भएको छ । तीन महिनामै दोस्रो पटक एक नेपाली छात्राको असामयिक निधनले । 

बीटेक प्रथम वर्षमा अध्ययनरत वीरगन्जकी १८ वर्षीया प्रिसा साह आफ्नै होस्टेल ‘क्वी सी ४’ को कोठामा झुन्डिएको अवस्थामा फेला परिन् ।

बिहीबार साँझ करिब आठ बजे नियमित हाजिरमा अनुपस्थित देखिएपछि उनका साथीहरूले ढोका ढकढक्याए । तर कुनै उत्तर आएन । अन्ततः उनीहरूले ढोका फोड्दा जुन दृश्य देखियो त्यसले सबैको हृदय चिरिदियो । 

झुन्डिएकी प्रिसाको निस्सासिएको शरीर, अनुहार निलो परेको अवस्था र कोठाभरि फैलिएको गहिरो शून्यता । एक वर्ष अघि मात्र ठूलो सपना बोकेर भारत पुगेकी थिइन्, प्रिशा । 

एक सामाजिक अभियन्ता

के यो केवल आत्महत्या हो ? वा कुनै योजनाबद्ध घटना ? प्रिसाको सामाजिक सक्रियता र जागरूकता यस प्रश्नलाई अझ गहिरो बनाउँछ । एक महिना अघिमात्र नेपाल आएकी उनले महिला हिंसाविरुद्धको आन्दोलनमा सक्रिय भाग लिएकी थिइन् । 

सिरहाकी रिंकु सदायको बलात्कारपछिको मृत्यु घटनामा उनले न्यायको माग गर्दै अग्रपंक्तिमा उभिएकी थिइन् ।

केआईआईटीमा दोस्रो नेपाली विद्यार्थीको मृत्यु

यसअघि पनि केआईआईटीमै नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो । घटनाको ७५ दिन बितिसक्दा समेत अनुसन्धान निष्कर्षमा पुगेको छैन । सम्बन्धित छात्राले मानसिक र शारीरिक यातना खेपेको प्रमाणहरू सार्वजनिक भइसकेका छन् । तर, कारबाही अन्योलमा छ ।

राजनीतिक र कूटनीतिक प्रतिक्रिया

नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटनाको सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग सम्पर्क गरिरहेको बताएकी छन् । उनले भारतमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने स्पष्ट सन्देश दिएकी छन् । 

अर्कोतर्फ, विद्यार्थी संगठन एबीभीपी (अखिल भारतीय विद्यार्थी परिषद) ले केआईआईटी विश्वविद्यालयमाथि तत्काल कडा कारबाहीको माग गरेको छ । 

यता, सरकारका तर्फबाट सधैंजसो पहल भइरहेको र छानबिन भइरहेको छ भन्ने ओठे प्रतिक्रिया आइरहे पनि व्यवहारमा सुधार नआउनुले शंका उब्जाएको छ । 

कसको जिम्मेवारी ?

केआईआईटी विश्वविद्यालय, ओडिसा राज्य सरकार र भारतको कानूनी संयन्त्रले आफ्ना भूमिकामा चुक्दा त्यत्तिकै दोष नेपालको पनि छ ।

विदेशमा रहेका आफ्ना नागरिकका सुरक्षामा नेपाल सरकारले देखाएको निष्क्रियता, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाको भूमिकालाई गम्भीर प्रश्नको घेरामा ल्याएको छ । सरकारले वास्तवमै नागरिकको रक्षाका लागि कूटनीतिक ताकत प्रयोग गरेको हो कि घटना भएपछि औपचारिकता पु¥याएर मुखैमुखी रिपोर्टिङ मात्र गरेको हो ? प्रश्न व्यापक बनिरहेको छ । 

के भन्यो केआईआईटीले ?

प्रिसाको निधनपछि केआईआईटीले विज्ञप्ति जारी गर्दै आत्महत्याको निष्कर्ष निकालेको छ । प्रहरी अनुसन्धान चलिरहँदा विश्वविद्यालयले निकालेको वक्तव्यले आत्महत्याको निक्र्याैल गर्नुले पनि यो विषयको प्रश्न थप पेचिलो बनेको छ । 

भारतको केआईआईटीमा प्रकृति लम्सालको मृत्य प्रकरण अनुसन्धानकै क्रममा रहेको बेला प्रिसाको निधनलाई वैज्ञानिक जाँचदेखि अन्य अनुसन्धानको निष्कर्ष नआउदै आत्महत्या निक्र्याैल कति जायज ? प्रश्न र शंका भने उब्जिएका छन् ।

शिक्षा पलायन र युवाको मूल्य चुकाउँदै 

केआईआईटीमा प्रिशा र प्रकृति मात्र होइनन् । प्रत्येक वर्ष विदेश जाने हजारौँ नेपाली विद्यार्थीमध्ये कतिको सपना चुँडिन्छ कतिको जीवन रहस्यमय रूपमा हराउँछ । देशभित्रको शिक्षा, बेरोजगारीको त्रास, राजनीतिक हस्तक्षेप, र सम्भावनाविहीन भविष्यले युवाहरूलाई देश छाड्न बाध्य बनाएको छ । तर परदेश सधैँ सुनौलो हुँदैन । 

विदेशमा भाषा, संस्कृति, सामाजिक एक्लोपन र मानसिक तनावको थिचोमिचोले धेरै विद्यार्थीहरू दबिएका छन् । दुःखद् त के भने विदेश पठाउने अभिभावकले आर्थिक लगानी गरे पनि मानसिक तयारी गराउँदैनन् । न त राज्यसँग आपतकालीन अवस्था व्यवस्थापनका लागि कुनै पूर्व तयारी देखिन्छ ।

अब पनि आँखा चिम्लिने ?

प्रिशा र प्रकृतिकोे मृत्यु कुनै एउटा घटनामात्र होइन । यो विफल संरचना, अकर्मण्य शिक्षा नीति र बेखबर समाजको दाग हो । यस घटनाले केही गम्भीर प्रश्नहरू उठाएको छ ।

–    के आफ्ना युवालाई विदेश जाने आवश्यक मानसिक, सामाजिक र व्यावसायिक तयारी गराइरहेका छौं ?

–    किन नेपाली दूतावासहरू संकट व्यवस्थापनमा मौन छन् ?

–    कति युवाको मृत्युपछि मात्र चेत्नेछौं ?

के गर्न सकिन्छ ?

–    नेपाली विश्वविद्यालयहरूमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्छ ।

–    विदेश जाने विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य, सांस्कृतिक तालमेल, संकट व्यवस्थापनजस्ता पूर्वतयारी कक्षा अनिवार्य गरिनुपर्छ ।

–    विदेशमा रहेका विद्यार्थीहरूको स्थिति ट्र्याक गर्ने दूतावास केन्द्रित संयन्त्र विकास गरिनुपर्छ ।

–    दूतावासमार्फत २४ घन्टा सहयोग र काउन्सेलिङ सेवा उपलब्ध गराइनुपर्छ ।

नेपालमै पढ्न सकिने कम्प्युटर साइन्स जस्तो विषयका लागि परदेश जानुपर्ने बाध्यता र परदेशी भूमिमा पुग्दा सुरक्षित हुन नसक्ने परिस्थिति दुई देशबीचको कूटनीतिक सम्बन्ध र नेपालको शैक्षिक संरचनाको आलोचना हो । 

आफ्ना नागरिकको ज्यान जोखिममा हुँदा पनि एउटा विदेशी शिक्षण संस्थासँग संवाद गर्न नसक्ने वा दवाव सिर्जना गर्न नसक्ने नेपाल सरकार कति सक्षम ? 

यस्ता घटनाले नेपालको राष्ट्रिय स्वाभिमानमा गहिरो चोट पु¥याएको छ । यदि सरकार प्रत्येक घटनामा अनुसन्धान हुँदैछ भन्ने रटानमै सीमित रहिरहने हो भने कसरी बिश्वास गर्ने ? 

यस्ता घटनामा अब दूतावासले चिठी पठायो वा भारत सरकारसँग संवाद भयो जस्ता प्रतिक्रियाले मात्र पुग्दैन । ठोस कदम आवश्यक छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update