
काठमाडौं । सभापति रवि लामिछाने रुपन्देही कारागारमा पुर्पक्षका लागि कारागार चलान भएपछि संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पाटी संकटमा छ ।
पार्टी सभापति नै कारागार पुगेपछि रास्वपा अलमलमा परेको देखिन्छ । पार्टीका सांगठनिक र औपचारिक कार्यक्रम पातलिएका छन् ।
जनता रिझाउने रास्वपाको महत्वकांक्षी अभियान जनयात्रा ओझेलमा परेको छ । सभापति लामिछाने कारागार पुगेको एक महिना बित्नै लाग्दा बल्ल रास्वपा तंग्रिने सुरुसारमा लागेको छ ।
रास्वपा सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।
यता, रवि विनाको रास्वपा के गर्ने कसो गर्नेको स्थितिमा छ । कारागार जानुअघि सभापति लामिछानेले पार्टीको महत्वकांक्षी योजनाको रुपमा जनयात्राको घोषणा गरेका थिए ।
चैत २३ मा चितवनबाट जनयात्रा प्रारम्भ पनि भयो । तर त्यसको अघिल्लो रात चैत २२ नै सभापति लामिछाने प्रहरीको कब्जामा परे ।
सभापति प्रहरीको कब्जामा परेपछि रास्वपाको जनयात्रा चितवनमा नरोकिएपनि सोचेजस्तो नहुँदा रास्वपाले खल्लो महशुष ग¥यो । जनताका बीचमा जाने, समस्याको मन्थन गर्ने र सरकारसँग जवाफ माग्ने उदेश्य बोकेको रास्वपाको जनयात्रा चितवनपछि ओझेलमा परेको छ ।
नेतृत्वकर्ता नै कारागारमा ुँदा रास्वपाले जनयात्रा अभियान बारे अहिलेसम्म औपचारिक धारण बनाउन सकेको छैन । अभियान सुरु गरेको एक महिना बित्न लाग्दा बल्लतल्ल रास्वपा नेताहरु सोच्न बाध्य भएका छन् ।
जनयात्रा अभियानको रुपरेखा नै परिवर्तन गरेर पुनः सुरु गर्ने सुरसार रास्वपाले गरेको छ । केन्द्रीय समितिले अभियान संयोजकको जिम्मेवारी विरानभक्त श्रेष्ठलाई दिएको छ । यस्तै, अभियानको उपसंयोजकमा डा. तोषिमा कार्कीले जिम्मेवारी पाएकी छन् भने सचिवमा कमल सुवेदी र प्रवक्तामा निशा डाँगीले जिम्मेवारी पाएका छन् । जिम्मेवारी नै तोकेर पुन शुरु गर्न लागिएको जनयात्राको रोडम्यापबारे चासो देखिएको छ ।
२०७९ मंसिर ४ को आचुनावमा नेपाली राजनीतिमा स्थापित ठुला दल कांग्रेस, एमाले र माओवादीलाई चुनौती दिदै उदाएको दल हो, रवि लामिछाने नेतृत्वको रास्वपा ।
एकाएक राष्ट्रिय राजनीतिमा ठुला दलका किल्ला भत्काउँदै प्रतिनिधिसभामा २० सिट हात पार्दा चल्तीका नेताहरुको मुटु हल्लिएको थियो ।
पछि तनहुँ उपचुनावमा एक सिट थप गर्दै प्रतिनिभिसभामा २१ सिट पुर्याएको रास्वपालाई नेपाली राजनीतिको बैकल्पिक शक्तिका रुपमा चित्रण गरिदै आइएको छ ।
पुराना दल प्रतिको वितृष्णा र नयाँ प्रतिको आशाको एजेण्डामा रास्वपालाई नेपाली जनताले जोडदार प्रतिपक्षको भुमिका खेल्न अनुमोदन गरेका थिए । तर जनचाहना विपरित सभापति लामिछाने नेतृत्वमा रास्वपा दुई\दुई पटक सरकारमा पुग्यो ।
जनमतले प्रतिपक्षमा बस्न अनुमोदन गरेपनि सत्ताभोगमा रुमलिन पुग्दा रास्वपा प्रतिको भरोसा कमजोर बनेको विश्लेषण यतिबेला भइरहेको छ ।
यसबीचमा छोटो समयमै जनमत क्यास गर्दा आत्तिएका ठुला दल एमाले, कांग्रेस र माओवादीले रास्वपा ढाल्ने मास्टरप्लान नै शुरु गरेको आरोप लाग्दै आएको छ ।
कार्यवाहक महामन्त्री मुकल ढकाल बखास्तीदेखि सभापति लामिछाने नागरिकता र सहकारी घोटला प्रकरणमा नराम्ररी फसे । नागरिकता प्रकरण सल्टिएपनि सहकारी प्रकरणले सभापति लामिछाने र सिंगो पार्टीलाई धक्का दिएको छ । पार्टीकै पोस्टर ब्वाईको रुपमा रहेका रवि नहुँदा रास्वपा रानो विनाको मौरी जस्ते बनेको छ ।
उसो त रास्वपामा यतिबेला नेताहरु बीच आन्तरिक किचलो पनि बढ्दै गएको छ । पुर्वशिक्षामन्त्री समेत रहेकी सांसद सुमना श्रेष्ठले असन्तुष्टि जनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिइसकेकी छन् ।
पार्टी सभापति वियोगले मर्माहत रास्वपालाई सुमनाको राजीनाले थप पीडा दिएको छ । उनलाई मनाउन रास्वपा नेताहरु लागि परेका छन् । अर्काेतर्फ रास्वपाका प्रदेश नेताहरुले समेत पार्टीलाई असर पर्नेगरी सक्रियता देखाइरहेका छन् ।
यस्तोमा राष्ट्रिय राजनीतिबाट चौतर्फी घेराबन्दीमा पुगेको रास्वपाले जनयात्रा अभियानलाई सार्थकतामा परिणत गर्ला, अनि सभापति विना के कस्ता योजना र एजेण्डा लिएर रास्वपाले आगामी यात्रा तय गर्ला, त्यो भने हेर्न बाँकी छ ।