
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी कित्तामा पुगेपछि पनि सत्ताको मोह त्याग्न सकेका देखिँदैनन् ।
प्रचण्ड सुरुका दिन देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अनेकौँ टिप्पणी र आरोप छेँड्दै आएका छन् । त्यस्तै उनी काँग्रेससँगै मिलेर नयाँ सरकार गठनका लागि पनि भित्रि पहल गर्दै आएकै देखिन्छन् । अर्कोतर्फ प्रचण्ड आउँदो निर्वाचन अघि सरकारमा नजानेसमेत घोषण गर्दै आएका छन् । जसले प्रचण्डको दोहोरो चरित्र स्पष्ट झल्काएको छ ।
गत वर्षको असारमा काँग्रेस र एमालेको मिलनपछि प्रचण्ड सत्ताबाट बाहिरिए । त्यहाँदेखि नै उनी सरकारमा तत्काल नफर्किने जिकिर गर्दै आएका थिए ।
यो जिकिरलाई प्रचण्डले लामो समय नै कायम राखे । यहाँसम्मकी उनले माओवादीको तराई–मधेश जागरण अभियानको सुरु गर्दासम्म पार्टी सरकारमा नजाने ढिपी कसिरहेका थिए । तर पार्टीको अभियानकै दौरानमा भने उनी सत्ताको अभिलाषा बोकेर काठमाडौं र अभियानमा ओहोरदोहार गरिरहेकै देखिन्थे ।
खटपटको दाउ कुरेका प्रचण्ड !
प्रचण्ड भन्नका लागि २०८४ सम्म सरकारमा नजाने भनिरहन्छन् । उनले आफ्नो पार्टीको अभियानकै क्रममा पनि माओवादी तत्काल सरकारमा नजाने भनेर पटक–पटक प्रष्टिकरण दिइरहेका सुनिए ।
तर उनको मनस्थिति भने खास सत्तामै देखिन्थ्यो । पार्टीको अभियानका क्रममा कहिले राजावादी आन्दोलन त कहिले सत्तारुढ दलहरुको खटपटको चर्चाकै क्रममा पनि प्रचण्ड काठमाडौं धाइरहेका थिए । यहीबीच नयाँ वर्षको अवसरमा प्रचण्डले २०८२ सालको आगमनसँगै सरकार परिवर्तन हुनसक्ने भनेर मिडियामै बोलेका थिए ।
यहीबीचमा काँग्रेस र एमालेबीच सरकार संचालको विषयमा समस्या पैदा भयो । यसैको मौकामा माओवादीले काँग्रेस समक्ष नयाँ समीकरणका लागि प्रस्ताव नै लगेको चर्चा भए ।
तर माओवादीको प्रस्ताव काँग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको बताइन्छ । यसैकारण असम्भव देखेपछि माओवादी तत्कालका लागि सत्ता दौडबाट व्याक भएको हो ।
‘ताक परे सत्ता नत्र आन्दोलन’
सत्ता खटपटका बेला माओवादीले सरकारमा सामेल हुन भित्रभित्रै अनेकौँ प्रयास गरेको प्रष्ट छ । काँग्रेसको नेतृत्वमा सरकार बन्नेभए सरकार निर्माणमा आफूहरु तयार रहेको समेत माओवादीले काँग्रेसलाई खबर पठाएको विषय लुकेको छैन । तर एमालेसँगकै गठबन्धनमार्फत प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका देउवाले माओवादीको सहकार्य रुचाएनन् ।
यही दिनदेखि माओवादीले फेरि सरकारमा जाने चाहना नरहेको जिकिर गर्न थालेको हो । हुनतः प्रचण्डले वर्तमान सरकार संविधानविपरित बनेको आरोप सुरुका दिन देखि नै लगाउँदै आएका थिए । तरपनि सरकार निर्माण भएरै छाड्यो ।
सुरुमा सरकार बन्न नदिने र पछि पुनः सत्तामा जान गरेको प्रयत्न फेल भएपछि प्रचण्ड अहिले यथास्थितिमा पार्टीहरूसँग मिलेर सरकारमा नजाने मुडमा पुगेको निश्कर्ष दिन थालेका छन् ।
बरु उनी फेरि नयाँ आन्दोलन र अभियानमा लाग्ने घोषणा गर्दै हिँडिरहेका देखिन्छन् । प्रचण्डको यो घोषणाले ताकपरे सत्ता नत्र आन्दोलन भन्ने भाष्य प्रमाणित गरिरहेको छ ।