
काठमाडौं । वर्तमान राजनीतिक अवस्था र नेपाली समाजको अवस्था द्वन्द्वात्मक देखिन्छ । नागरिकमा चरम असन्तुष्टि र आक्रोश छ भने सरकार चरम वेथितिको चाङमा फसेको आरोप चर्किएको छ । मुलुकको नेतृत्व सम्हालेकाहरुले गफ मात्रै गर्ने परिणाम नदिने शैली र विश्वको विकास गतिबीच तालमेल नमिल्दा नागरिक आक्रोशित हुनु स्वभाविक जस्तो बन्न पुगेको छ ।
अहिले यस्तै जटिल अवस्थामा छ, नेपाल । सामाजिक मनोविज्ञानमा नै खलल पु¥याउने अहिलेको अवस्था सुधार कसले र कहिले गर्ने त ?
वर्तमान व्यवस्था र अहिलेको आर्थिक, राजनीतिक अवस्थाले वाक्कदिक्क भएका जनता आक्रोशमा छन् । त्यसैले व्यवस्था नै बदल्नुपर्छ भन्ने आवाजका गति बढिरहेका छन् । अनि अहिले धेरै राजनीतिक दललाई यो व्यवस्थाको रक्षाका लागि प्रयास गर्नु परिरहेको छ ।
प्रष्ट भन्दा नेताहरुको भ्रष्टिकरणले वर्तमान व्यवस्थालाई सुधारको गति दिनु न कता हो कता यसको सुरक्षार्थ नै समय खर्चिनु परिरहेको छ ।
करिब वर्षैपिच्छे सरकारमा फेरबदल हुने, विकासका क्षेत्रहरुको कमजोर अवस्था, भ्रष्टाचारको उच्च ग्राफसहित जहाँ जतापनि राजनीतिक भागवण्डाका आधारमा मुलुक डुबेपछि आक्रोश बढ्नु स्वभाविक पनि हो । तर, सरकारले न त सुशासन प्रदान गर्न सकेको छ ? न त, जनतामा आशा जगाउने कुनै काम गरेको छ । यद्दपी, सरकार चलाउनेहरु भने आफुहरुले गरिरहेका कामको प्रशंसा स्वयंम आफै गरिरहेका छन् ।
अझ कतिसम्म भने सांसदहरुलाई नै निर्देशन दिँदै सरकारले गरेका कामहरु राम्रो छ भनेर प्रचार गर्नुस भनिरहेका छन् मुलुकको नेतृत्वकर्ताले ।
सरकार सम्हालिरहेका नेताहरुले आफुहरुले ठुलाठुला जिम्मेवारी निभाइरहेको र राम्रो काम गरिरहेको जिकिर गरिरहँदा अन्य नेताहरु भने सरकार सहि लयमा नरहेको टिप्पणी गरिरहेका छन् । राज्य दोहन गरिरहेको आरोप राजनीतिज्ञहरुले नै लगाउन थालेका छन् ।
यो एक नेताको असन्तुष्टिमात्रै होइन, अन्य नेताहरु पनि सरकारले गरेका काम ठिकै छ भन्ने अवस्थामा समेत छैनन् । कतिसम्म भने सत्तापक्षकै नेताहरुले वर्तमान सरकारको शैलीमाथि खुलेआम आलोचना गरिरहेका छन् ।
यता, प्रतिपक्षी दलका नेताहरुका दिनहुँका भाषण सुन्दा लाग्छ उनीहरुले त मुलुक चुट्किनै विकास गर्छन् कि ?
राजनीतिक दलका यि नेताहरुका जादुमयी भाषणले पनि जनतामा खास आशा जगाउने आधार छैन । जब सरकारमा बसिन्छ तब काम नगर्ने तर सरकारबाट बाहिर आउने वित्तिकै मुलुक विकासका गफ हाक्ने अनि सत्ताको गोटी खेलिराख्ने उनीहरुको शैलीले सुशासन र समृद्धि केवल नारामात्रै भएको टिप्पणी जनमानसमा छ ।
नागरिक असन्तुष्टि सडकमा उस्तै देखिन्छ । दिनहुँका आन्दोलन, प्रदर्शनले कोलाहलको वातावरण बनिरहेको छ । कहिले शिक्षकहरु आन्दोलनमा त कहिले राजनीति दलहरु, कतिले चिकित्सक त कहिले अन्य पक्ष, निरन्तरका आन्दोलनले मुलुक व्यवस्थापनमा थुप्रै काम बाँकी रहेको प्रष्ट देखिन्छ । अहिले पनि राजनीति अस्थिरता चरम नै छ ।
वर्तमान अवस्थाको कुरा गर्दा सत्ता पुन फेरबदलका अनेक प्रयास भइरहेका छन् । कहिले विदेशी शक्तिका चलखेल बाहिर आइरहेका छन् ।
वर्तमान सत्ता गठबन्धन कुन बेला टुटफुट हुन्छ त्यसको टुङगो छैन । त्यसैले पटक पटक सरकारको आयुबारे सत्ता गठबन्धनका नेताहरुले रक्षात्मक जवाफ दिनु परिरहेको छ ।
राजनीतिक अस्थिरताको यही खराब अवस्थामा धमिलो पानीमा माछा मार्ने विचौलीयाहरुको रजगज पनि उस्तै मौलाएको छ नै । जनताको प्रत्यक्ष सेवासँग जोडिएका क्षेत्रको अवस्था लथालिङग छ । हो यि र यस्तै क्षेत्रका कारण भोग्नु परेका पीडा आक्रोश बनेर नागरितहबाट सामाजिक सञ्जालमा व्यापक बनिरहेका छन् । तर, नेताहरुले आफ्नो शैली सुधार गर्नु त कहाँको कहाँ उल्टै समाज अराजक भयो भन्दै आक्रोश पोखिरहेका छन् ।
वास्तवमा नेपाली समाजको धरातल शान्त स्वभावको नै हो । तर, चरम वेथितिले थिचेपछि जनआक्रोश केही बढेको हो भन्नेतर्फ नेताहरुको ध्यान कहिले पुग्ने ? अब पनि मुलुकको समग्र विकासका लागि प्रभावकारी कदम चाल्ने बेला भएन र ? राजनीतिक दल र नेताहरुको ध्यान बेलैमा समस्या समाधानतर्फ पु¥याउने कि ?