
काठमाडौं । राजनीतिक रुपमा कोहि मानिस कहिलेसम्म सक्रिय रहने ? यो आम प्रश्न हो । तर, जवाफ हो राजनीतिक रुपमा राष्ट्रलाई योगदान दिनसक्ने समयसम्म । स्वास्थ्यदेखि अन्य अवस्थाले नधान्दासम्म राजनीतिक रुपमा शक्तिशाली बनिरहने र दोश्रो तहका नेताहरुलाई ग्रुमिङ नै नगर्ने प्रचलनका कारण मुलुकका शीर्ष नेताहरुमाथिका प्रश्न थप बढेका छन् ।
लामो समय पार्टी वा सत्ता होल्ड गर्ने उनीहरुको शैलीप्रति अनेक प्रश्नहरु खडा भएका छन् । नेपालको राजनीतिमा उठिरहेको प्रश्न हो, पुस्तान्रण । पुस्तान्तरण भन्नाले पुराना नेताहरुले नेतृत्व र लिगेसी नै जिम्मा दिनुपर्ने आवाज बलियो बनिरहेको छ ।
राजनीतिक रुपमा सक्रिय ७० पार गरिसकेका नेताहरुले पार्टी नेतृत्व छाड्नुपर्ने आवाज उठ्ने गरेको देखिन्छ । तर, नेताहरुले यसको विपरित भन्ने गरेका छन, नेतृत्व छाड्ने बेला भएको छैन् । प्रधानमन्त्री केपी ओलीले एमाले नेतृत्व नछाड्ने प्रष्ट पारेका छन् ।
उनले आफ्नो स्वास्थ्यलाई लिएर हुने टिप्पणीमै निर्मम टिप्पणी गर्दै अझैं २०\२५ वर्ष सक्रिय हुने भनेका छन् ।
ओलीले यस्तो भनेको पहिलो पटक भने होइन । भर्खरै जुँगा पलाउन थालेदेखि अनेक टिप्पणी गर्ने ओलीले पार्टी विधानमा रहेको ७० वर्षको उमेरहदलाई नै निलम्बनको अवस्थामा राखिसकेका छन् । यता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफू ७० वर्ष पार गरेपनि समाजवादको आधार तयार पारेर मात्रै विदा हुने भनिरहेका छन् ।
उनले अझै दुई कार्यकाल आफ्नो विकल्प पार्टीमा नरहेको भन्न थालेका छन् । प्रचण्डविरुद्ध पनि माओवादी केन्द्रभित्र खास आवाज उठाउन सक्ने नेताहरु देखिन्नन् । पछिल्लो समय जनार्दन शर्माले प्रचण्डलाई काउन्टर दिन खोजेपनि त्यो निर्णायक बन्ने छाँट देखिएको छैन । तर, नेतृत्व अब दोश्रो पुस्ताले लिनुपर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भने विश्वास गर्नुपर्ने भन्ने गरेका छन् ।
तर, राजनीतिक रुपमा पाएको शक्ति नेताहरुले जटिलता सिर्जना नभएसम्म छाड्ने मनशाय व्यक्त गरेको भने देखिन्न । यस्तोमा नेताहरु माधव नेपालदेखि नारायणमान विजुक्छेसम्म लहरमा देखिन्छन् ।
को को नेताहरु लामो समयदेखि नेतृत्वमै छन् त ?
१. माधव नेपाल
माधव नेपाल लामो समय नेकपा एमालेको नेतृत्वमा रहे । त्यसपछि उनले नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । पार्टी विभाजनपछिको महाधिवेशनबाट समेत नेपालले अध्यक्ष पद सम्हालेका छन् ।
२. डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपाल सजामवादी नयाँ शक्तिको नेतृत्व गरिरहेका छन् । उनले पार्टी नेतृत्व सम्हाल्दै गर्दा राजनीतिमा नयाँ धार जन्मिनुपर्ने विषयमा वकालत गर्ने गरेका छन् । यस्तो स्थितिमा बाबुरामले माओवादी केन्द्र विभाजनपछि नेतृत्व लिनेक्रम जारी राखेका छन् । गको महाधिवेशनमा अध्यक्षका उम्मेदवार देखिएपनि बाबुराम नै दोहोरिन पुगे ।
३. चित्रबहादुर केसी
लामो समयदेखि जनमोर्चाको अध्यक्षको रुपमा चित्रबहादुर केसी सक्रिय छन् । उनले जनमोर्चाको नेतृत्व गरिरहेका मात्रै छैनन्, बुढ्यौलिले समेत छोइसकेको छ । तर, अर्को पुस्तामा नेतृत्व हस्तान्तरणको सट्टा नेतृत्वमा जिवन्त रहने स्थिति देखिन्छ ।
४. नारायणमान विजुक्छे
नेपाल मजदूर किसान पार्टीको अध्यक्षमा नारायणमान विजुक्छेको रेकर्ड नै कायम भइसकेको छ । जीवनकाल रहेसम्म उनले अध्यक्षता गर्ने स्थिति बनिरहेको छ । गएको पार्टि महाधिवेशनबाट समेत विजुक्छे अध्यक्षमा चयन भएका थिए ।
५. मोहन वैद्य किरण
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीको नेतृत्वमा रहेका मोहन वैद्य किरण स्वास्थ्यका हिसाबले समेत केहि कमजोर देखिन्छन् ।
नेपालको वामपन्थी आन्दोलनमा ठूलो इज्जत कमाएका वैद्य अहिले पनि पार्टी नेतृत्वमा छन् । तर, पछिल्लो समय स्वास्थ्यका कारण सीपी गजुरेललाई कार्यबाहकको जिम्मेवारी दिएका त छन्, तर नयाँ पुस्ताले त्यहाँ पार्टी नेतृत्व लिन सक्ने आधार भने तयार भएको देखिन्न ।
अपवादमा देउवा
कांग्रेसको पार्टी विधानका कारण सभापति शेरबहादुर देउवा तेश्रो पटक सभापति बन्न सक्दैनन् । नभए देउवाले पनि यो प्रयास गर्नेमा कुनै शंका थिएन । अहिले अन्तिम कार्यकालका लागि सभापतिको पद सम्हालिरहेका देउवा वेटिङ प्रधानमन्त्री पनि हुन् ।
उसोतः देउवाले प्रधानमन्त्री धेरै पटक बन्ने रेकर्ड नै बनाउने गरि अघि बढेका छन् । यसले पनि के देखाउँछ भने देउवाले सक्ने स्थिति बन्थ्यो भने उनी सभापतिमा दोहोरिनका लागि तयार छन् । तर, पार्टी विधानले रोकेपनि उनी शक्तिकेन्द्रको रुपमा देखिन्छन् ।
कांग्रेसका दोश्रो पुस्ताका नेताहरुले देउवालाई उत्तराधिकारी चयन गर्न दबाब बढाइरहेका छन् । देउवाले आफुलाई पछिसम्म सहज हुने गरि आफ्नो उत्तराधिकारी चयन गर्ने बताइन्छ ।
विश्व राजनीति पनि उस्तै !
विश्वको राजनीतिमा समेत एकपटक कुनै नेता शक्तिमा आएपछि लामो समयसम्म रहने प्रयास जोडतोडले गर्ने प्रचलन भने देखिन्छ ।
चीनमा राष्ट्रपति सी जिनपिङ, रुसमा भ्लादिमिर पुटिन, भारतमा नरेन्द्र मोदी, अमेरिकामा डोनाल्ड ट्रम्प, इजरायलमा बेन्जामिन नेतान्याहूदेखि अन्य मुलुकमा समेत यस्तो अभ्यास दोहोरिने गरेको पाइन्छ । तर, केहि राष्ट्रमा युवा पुस्ताले नै नेतृत्व गरेका उदाहरण पनि छन भने राजनीतिक रुपमा नैतिकता देखाउने समेत गरिन्छ भने विशेषगगरी दक्षिण एसियाली राजनीतिमा लिगेसी, परिवारवाद लगायतको आधिपत्य जमेको देखिन्छ ।