
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नीति तथा कार्यक्रममा निराशा मात्रै देखिएको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै उनले आलोचनात्मक समर्थन जनाएका छन् ।
देशभर सिर्जना भएका समस्याहरुको समाधान दिने गरी नीति तथा कार्यक्रम नआएको बताउँदै गौतमले समाजवाद निर्माणका लागि मार्ग निर्देशन हुनेगरी नीति तथा कार्यक्रमले कतै पनि नबोलेको बताए । नीतिगत पक्ष बलियो भए पनि कार्यक्रमको पक्ष कमजोर भएको उनकाे टिप्पणी छ ।
विश्वव्यापी रुपमा नेपालको इज्जत प्रतिष्ठामा आँच आउने गरी भइरहेका भ्रष्टाचार अन्त्यका लागि नीति तथा कार्यक्रममा कुनै पनि कार्यक्रम नभएको उनको भनाइ छ । उनले कर्मचारी, चिकित्सक, शिक्षक लगायतले विभिन्न माग राखेर भइरहेका आन्दोलनलाई समाधान गर्ने गरी कुनै पनि कार्यक्रम नभएको बताए ।
गौतमले भने, ‘राष्ट्रव्यापी रुपमा समस्यै समस्या सिर्जना भइरहेको अवस्थामा आएको यो नीति तथा कार्यक्रमको गन्तव्य निश्चयपनि बुहप्रतिक्षित समाजवाद निर्माणमा मार्ग दर्शननै हुने छ भनेर आशा बोकेर बाँचेका नेपाली जनताका निम्ति निराशा मात्रै देखिएको छ । म अहिले नै समाजवाद निर्माण गर्न सकिन्छ भन्ने मान्यतामा रहेको र दस्तावेज पनि लेखेर सबै मान्यहरुलाई बाँढेको र यदि मैले त्यस्तो किसिमको काम गर्न पाउने हो भने मैले काम गरेर देखाउन सक्छु र देखाउन सकिन भने बलिदान हुन्छु भनेर यहीँबाट भनेको व्यक्ति भएको हुनाले अहिले पनि मेरो मान्यता छ यसपटक प्रश्तुत भएको कार्यक्रममा नीतिको पक्ष धरै छ कार्यक्रमको पक्ष कमजोर छ । नीतिगत पक्ष धेरै भनेको छ नीतिको पक्षमा समातेर डोहो¥याउन नसक्ने स्थिति नआउन सक्छ त्यो जतापनि जानसक्छ । कार्यक्रम ठोस हुन्छन् त्यो चाहीँ छैन त्यसो भएर मैले आलोचना गरेको छु । चारैतिर भ्रष्टाचार, सहकारी भ्रष्टाचार, एनेसेल भ्रष्टाचार । देशलाई बदनाम गराउने गरी विश्वव्यापी भ्रष्टाचारका सूचनाहरु प्रवाह भइरहेका छन् । नीति तथा कार्यक्रमले भ्रष्टाचार समाप्त गर्ने कुनै अभियानको कार्यक्रम ल्याएको छ कि भनेर ध्यान दिँदा त्यस्तो कतै पाउन सकिएन । आन्दोलनको कुरा गर्दा पूर्वराजा पनि आन्दोलनकारी जम्मा गरेर शाही गद्दि मलाई फिर्ता देउ भनेर आन्दोलनमा सामेल छन् । कर्मचारी, स्वास्थ्यकर्मी आन्दोलनमा छन् । यस परिस्थितिका लागि कुनै प्रकाश ज्योति पाइन्छ कि भनेर पन्ना पन्ना पल्टाएर हेर्दा सुदृढ र सवल पाइला चाल्ने गरी केही शब्द पनि उल्लेख गर्न सकेको देखिएन ।’
पूर्वराजा ज्ञानेन्द्रले जस्तै गद्दी फर्काइदेउ भनेर मल्लहरु, लिच्छवीहरु तथा २ हजार वर्ष शासन गरेका किराँतले पनि गद्दी माग्नसक्ने भन्दै इतिहासले औचित्यहिन पुष्टि गरिसकेका संस्थालाई चलमलाउन नदिने गरी कानून निर्माण गर्नुपर्नेमा समेत उनले जाेड दिए ।