काठमाडौं । मधेश प्रदेशको राजनीति संकटतर्फ गइरहेको छ । एमालेको सत्तामोहका कारण मधेशको राजनीतिले संघीयतामाथि प्रश्न मात्रै होइन, पुराना दलहरुको शक्तिको धङधङ्गी अझै कायमै त छैन ? शंका जन्माइदिएको छ ।
प्रदेशसभाको बहुमत एकातर्फ हुँदा समेत मुख्यमन्त्री बन्ने एमालेको उत्कट चाहनाका कारण संविधान मिचिएको छ भने, मुलुकको राजनीति संकटतर्फ गएको छ ।
मधेश प्रदेशको राजनीतिक तरङगले संघीयता र समग्र मुलुक नै अप्ठ्यारोमा पर्न थालेको छ । विश्वासको मत लिने दिनमा माओवादी केन्द्रका दुई सांसदले विश्वासको मत नदिने घोषणा गरेसँगै मधेशको राजनीति गर्माउन शुरु भएको थियो ।
उनीहरुले विश्वासको मत नदिने भन्दै आफैलाई मोसो समेत दल्न भ्याए । आफैले आफैलाई मोसो दल्नेमा थिए, माओवादी सांसद रहबर अन्सारी । अन्सारीजस्ता अन्य सांसदहरुले समेत विश्वासको मत दिने स्थिति नबनेपछि जितेन्द्र सोनलले राजीनामाको घोषणा गरे ।
उनको राजीनामापछि मधेशमा मुख्यमन्त्री को बन्छ भन्ने चासो चलिरहेको बेला प्रदेश प्रमुख सुमीत्रा भण्डारी बर्खास्त हुन पुगिन् । कारण थियो– अन्य दलहरुलाई छल्दै आफ्नै पार्टी एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै सपथ होटेलमा गराउनु ।
होटेलमा सपथ गराएपछि बर्खास्तीमा परेकी भण्डारीपछि सरकारको सिफारिसमा राष्ट्रपति प्रदेश प्रमुख नयाँ नियुक्त गरिसकेका छन् । तर, मधेशको राजनीतिक संकट थप गहिरिदै गएको छ । मधेशका मुख्यमन्त्री यादवले मधेशमा आन्दोलन भड्काउने षडयन्त्र भएको र यसमा भारतको हात रहेको गम्भीर आरोप लगाएका छन् ।
असुरक्षा बढेको दाबी गरेका उनले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको जिकिर गरेका छन् ।
मधेश प्रदेशमा भने यादवको पद खारेजी हुनुपर्ने भन्दै ७ दल आन्दोलनमा छन् । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति र सभामुख विरुद्ध ७ राजनीतिक दलले आन्दोलन जारी राखेका छन् ।
मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको र सभामुखले पदीय आचरण विपरित कार्य गरेको विरोधमा राजनितिक दलहरुले कार्यकर्ता उतारेर शनिवार पनि जनकपुरमा प्रदर्शन चलिरहेको छ । ७ राजनीतिक दलहरुले सभामुख रामचन्द्र मण्डलविरुद्ध भने पदीय आचरण विपरित कार्य गरेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
सभामुख मण्डलविरुद्धको अविश्वासको प्रस्ताव लिएर जाने क्रममा सांसदहरूमाथी हातपात समेत भएको थियो । आफूविरुद्ध अविश्वासको प्रश्ताव आएपछि सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका छन् । यस्ते राजनीतिक कारण मधेशको राजनीति संकटतर्फ गएको छ । सभामुख मण्डल पनि एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
सभामुखविरुद्ध आन्दोलनमा उत्रिएका मधेश प्रदेशका सांसदहरुले चौरमै बैठक सञ्चालन गरेका छन् । मधेस प्रदेशकी उपसभामुख वविताकुमारी राउतले चौरमा प्रदेशसभा सञ्चालन गरेपछि मधेशको राजनीति कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि सभामुखले सांसदलाई बर्खास्त गरेको भन्दै यसलाई उपसभामुखले असंवैधानिक भनेकी छन् । मधेश प्रदेशमा सत्ता नेतृत्व लिनलाई जस्तोसुकै कदम चाल्ने प्रवृत्तिमा एमाले अग्रसर बनेपछि स्थिति तनावग्रस्त बन्न पुगेको छ ।
मधेश प्रदेशमा उठेको प्रश्नका कारण नै संघीयतामाथि समेत प्रश्न उठेका छन् । तर, एमाले नेतृत्वले यो विषयमा कस्तो निर्णय लिन्छ भन्ने विषय भने अनुत्तरित नै देखिन्छ ।
