News 24 Television
ध्यान, कविता र आत्मसंवादमा रविन्द्र मिश्र 

काठमाडौं । चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनले सिंगो देशलाई नै झस्काएको थियो । उक्त प्रदर्शनमा एक पत्रकारसहित २ जना मारिएका थिए भने आगजनी र तोडफोडबाट करोडौंको क्षति भएको थियो । 

घटना हिंसात्मक बनाउन उक्साएको भन्दै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अहिलेसम्म पनि प्रहरी हिरासतमै छन् । हिरासतको क्रममा मिश्र ध्यान, कविता र आत्मसंवादमा लिप्त छन् ।

चैत १५ गते तीनकुनेमा आगोको लप्काबीचको आन्दोलनले केवल सडक मात्र होइन देशको राजनीतिक तापक्रम पनि तातियो । 

त्यसै दिनदेखि राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र प्रहरी हिरासतमा छन् । उनको दैनिकी अहिले कविता, ध्यान, र आत्मसंवादमा केन्द्रित देखिए पनि भित्रभित्रै उनी नेपालकै राजनीतिक संरचना र विकल्पको गहिरो द्वन्द्व बोकेर बसेका छन् ।

कुनै समय बीबीसी नेपाली सेवामा काम गर्दा खरो प्रश्न गरेर राजनीतिक दलका नेताहरुलाई ¥याख¥याख्ती पार्ने मिश्र अहिले राजसंस्थाको पुनस्र्थापना गर्ने अभिष्टका साथ राजनीतिमा सक्रिय भएर लागेका छन् । 

वैकल्पिक धारबाट राजनीतिमा आएका उनी अन्ततः राजावादी बनेका हुन् । उनको यो वैचारिक परिवर्तनलाई केहीले राजनीतिक प्रयोग भनेका छन् भने केहीले सत्ताको खोजीमा गरिएको मूल्यहीन सम्झौताको संज्ञा दिएका छन् । तर, मिश्र स्वयं भने आफूलाई गणतन्त्रले धोका दिएका जनताको आवाज मान्ने गरेका छन् । 

हिरासतभित्रको सन्नाटा र आत्म–संवाद

प्रहरी हिरासतमा मिश्रको दिनहरु लेखन, ध्यान, र मौन संवादमा बित्ने गरेको छ । उनलाई भेट्न आउने केही नजिकका नेताहरू छन् तर उनले अपेक्षा गरेका धेरै पुराना मित्रहरू भने भेट्न आएका छैनन् ।  

यही मौनताभित्र उनी राजनीतिमा विचारभन्दा मित्रता कमजोर हुन्छ ? भन्ने चिसो यथार्थसँग जुधिरहेका छन् । हिरासतको शून्यतामा मिश्र कविताको माध्यमबाट आत्म–संवाद गर्छन् । ती कविताहरू निराशाको अभिव्यक्ति मात्र होइन, आत्मबलको पुनर्निर्माण रहेको उनको निकटमा रहेकाहरू बताउँछन् ।  

पार्टीभित्रको मौन विद्रोह

राप्रपाभित्र अहिले असन्तोषको तरंग छ । बैशाख १९ बाट कार्यकर्ताहरूले मिश्रको रिहाइको मागमा रिले अनशन सुरु गरेका छन् । 

राष्ट्रवादीहरूलाई रिहा गर्नुपर्ने नारासहित अर्धनग्न प्रदर्शनको चेतावनीले आन्दोलनलाई चरम मोडमा पु¥याएको छ ।

तर, पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको निष्क्रियता र आन्दोलन अराजक भयो भन्ने टिप्पणीले नेतृत्वको प्रतिबद्धतामाथि प्रश्न उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको उनको सामीप्यताका कारण प्रभावशाली लबिङको कमीका आरोप पनि खुलेरै आएका छन् । संसदमा पनि राप्रपाले मिश्रको रिहाइका लागि अपेक्षित दबाब सिर्जना गर्न नसकेकोप्रति कार्यकर्ताहरू असन्तुष्ट देखिन्छन् । यद्यपि, पार्टी नेतृत्वले भने मिश्रको रिहाइका लागि आवश्यक पहल जारी रहेको दाबी गरिरहेको छ ।

राजनीतिक अवसरवाद वा वैचारिक संकल्प ?

रविन्द्र मिश्रको राजसंस्था समर्थनलाई धेरैले आन्दोलनको वैचारिक ध्रुवीकरण मान्छन् । तर, विश्लेषकहरू यो परिवर्तन विचार नभई महत्वाकांक्षा ठान्छन् । विशेषगरी अहिलेको गणतान्त्रिक संरचना प्रति व्यापक असन्तुष्टि र शासनको अपारदर्शिता राजावादी विचारहरूको पुनर्जागरणका लागि उपयुक्त मौका बनेको छ । स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता आधारभूत अधिकार अझै पनि सर्वसुलभ छैनन् । युवाहरू विदेश पलायन भइरहेका छन् । 

राजनीतिक नेतृत्वप्रति विश्वास हराउँदै गएको छ । यही विकृतिका बीच राजसंस्था समर्थकहरू फेरि सक्रिय हुँदैछन् । मिश्र अहिले प्रहरी हिरासतमा भएपनि देशको गहिरो असन्तुष्टि, वैचारिक द्वन्द्व र राजनीतिक विकल्पको बहसलाई पुनः तीव्र बनाएको छ । यो केवल एक व्यक्तिको राजनीतिका यात्राको मात्र नभई देशको दिशाको प्रश्न बनिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update