
काठमाडौं । यतिबेला भारत–पाकिस्तान अशान्त छन् । बुधवार भारतले पाकिस्तानको कश्मीरमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको गरेको छ । यस घटनाले नेपाललाई समेत प्रभावित बनाउने देखिएको छ । त्यसैले संसदमा अशान्तिका यी घटनाहरुबारे सांसदहरुले विषय उठान गरेका छन् । भारतले पाकिस्तानमा आक्रमण थालेसँगै अहिले अशान्तिको अवस्था चरमतातिर बढेको छ । भारत प्रशासित कश्मीरमा एक नेपाली र अन्य २५ पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई साता पश्चात जवाफी हमलासँगै भारत–पाकिस्तान अशान्त बनेका छन् । बुधवार भारतले पाकिस्तानको कश्मीरमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको हो ।
आक्रमण अझै बढ्ने अवस्था देखिन्छ । नजिकैका मुलुकले युद्धको बाटो अंगालेपछि नेपालमा पनि यसबारे चासो बढेको छ । नेपालको संसद्मा भारत–पाकिस्तान युद्धको विषय उठेको छ ।
दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गरेका छन् ।
प्रतनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएपनि आतंकवादको सम्बन्धमा आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताए । बुधबार प्रतिनधि सभाको बैठकमा बोल्दै उनले पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा समेत गरे ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।
हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको उनको टिप्पणी छ । छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् ।
भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता रहेकोमा त्यसो हुन नसक्नुलाई उनले अनुचित मानेका छन् ।
यस्तै सत्ता पक्ष कांग्रेसकै सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताए ।
भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले नेपाललाई पार्ने अल्पकालिन र दीर्घकालिन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बन्नु पर्ने उनको भनाई छ ।
साथै राजनीतिक दलका शीर्ष नेताहरू पनि यो विषयमा गम्भीर हुन आवश्यक रहेको उनको भनाई छ । राजनीतिक दलका बीचमा राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।
अन्य सांसदहरुले पनि युद्धको विषयमा गम्भिर बन्नुपर्नेमा जोड दिएका छन् ।
सुरक्षा परिषद् बैठकले समेत नेपाल भारत खुला सीमामा निगरानी बढाउनेदेखि विभिन्न विषयमा निर्णय गरेको बताइन्छ ।
नेपालमा व्यापार प्रभाव
पाकिस्तान अशान्त बनिरहँदा नेपाल–पकिस्तानबीचको व्यापारिक सम्बन्धमा असर पर्नसक्ने खतरा बढेको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि चैत मसान्तसम्मको तथ्यांकले नेपाल र पाकिस्तानबीचको व्यापारिक सम्बन्ध उच्च देखिन्छ । खासगरी पाकिस्तानबाट नेपालमा मसला, स्याम्फुदेखि औषधिसम्म आयात भएको देखिन्छ ।
- तथ्यांकअनुसार चैतसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको देखिन्छ भने केवल ६ करोड २२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।
- यसले १९ करोड २४ लाख रुपैयाँको व्यापार घाटा देखाउँछ ।
- नेपालले पाकिस्तानबाट मसला, औषधिय जडीबुटी, औषधि, सौन्दर्य प्रशाधन र रासायनिक पदार्थजस्ता विविध वस्तु आयात गर्छ ।
- सबैभन्दा धेरै आयात हुने वस्तुमा मसला हो । नेपालले ५ करोड ३८ लाख बराबरको मसला यो अवधीमा आयात गरेको छ ।
- त्यस्तै औषधिजन्य जडीबुटी २ करोड ४६ लाख, फेस क्रिम १ करोड ४० लाखको नेपालले पाकिस्तानबाट आयात गरेको देखिन्छ । औषधिमा एन्टिबायोटिक र हर्मोनका औषधि र रासायनिक वस्तुहरूमा सोडियम बाइकार्बोनेट पनि पाकिस्ताबाट नेपालमा उल्लेख्य मात्रामा आयात हुन्छन् ।
- कालो नुन, चुरोट, साबुन र प्लास्टिकका सामानजस्ता वस्तुहरू पनि आयातको सूचीमा छन् । लामो समयसम्म युद्ध चर्किदै गए पाकिस्तानबाट समान नआउँदा यी वस्तुको हाहाकार हुने खतरा बढेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार लाहोर र कराचीजस्ता ठूला शहरहरूका हवाई क्षेत्र बन्द गरिएको छ । यस क्षेत्रमा ठूला विमानस्थलहरू पर्दछन् जस्मा इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थल पनि पर्दछ ।
ति क्षेत्रमा हवाई उडानहरूमा ठूलो असर परिसकेको छ र उडानहरूको निगरानी राख्ने वेबसाइट फ्लाइटरेडार २४ का अनुसार कतिपय विमानहरू पाकिस्तानबाट ‘डाइभर्ट’ भएका छन् । सामाजिक सञ्जालमा राखेको विवरणमा वेबसाइटले फिनएअर, एमिरेट्स, टर्किश कार्गो र साउदी अरेबियाका विमानहरू अन्यत्र मोडिएको जनाएको छ ।
एक वक्तव्य जारी गर्दै एअर फ्रान्सले भनेको छ उसले अर्को सूचना नभएसम्म पाकिस्तान माथिका उडानहरू रद्द गरिएको छ ।
यता, भारतसँग त नेपालको व्यापार सम्बन्ध सध्यौंदेखिको छ । सबैभन्दा लामो र खुला सीमा रहेको भारतसँग नेपालको राजनीतिक, आर्थिक तथा जनताको स्तरमा निकै गहिरो सम्बन्ध छ । भारत नेपालको ठूलो व्यापार साझेदार मात्रै नभएर वैदेशिक रोजगारीमा जानेहरुका लागि ठूलो श्रम गन्तव्य पनि हो । यस कारण पनि नेपालमा आयात गरिने सामग्री भारतबाट महंगिएर आउनसक्नेतर्फ आकलन भइरहेका छन् ।