News 24 Television
कुुष्ठरोगको डरलाग्दो रुप ! हजारौं कुष्ठरोगी छटपटाहटमा 

काठमाडौं । नेपालमा अहिले पनि कुष्ठरोगको अवस्था जटिल छ । विभिन्न राष्ट्रिय, अन्र्तराष्ट्रिय प्रयासका बाबजुद पनि कुष्ठरोगको निवारण एवम् उच्च सुधार गर्न सकिएको अवस्था छैन । अहिलेपनि समाजमा कुष्ठरोगीलाई गर्ने व्यवहार मानवीय नभएका गुनासोहरु व्याप्त छन् । 

परिस्थिति यस प्रकारले जटिल रहेपनि के सरकारले कुष्ठरोग निवारणका लागि गरिरहेका प्रयास प¥याप्त छन् त ? कुष्ठरोग उपचारका लागि पुग्दो जनशक्ति र सहज वातावरण छ  त ? 

कुष्ठरोगको अवस्था नेपालमा अहिलेपनि निकै जटिल छ । यहाँ प्रत्येक वर्ष करिब २ हजार ८ सय ६७ वटा कुष्ठ रोगका नयाँ विरामी दर्ता हुने गरेको तथ्याङक छ । हाल नेपालमा करिव २ लाखको संख्यामा कुष्ठरोगका बिरामी रहेकामा करिव ३० हजार अपाङ्गताको अवस्थामा रहेको अनुमान छ । 

कुष्ठरोगको गति यति तीव्र रहेका बेला यसको उपचार व्यवस्थापनका लागि सहज अवस्था समेत छैन । कुष्ठरोगको उपचारका लागि जनशक्तिको अभाव रहेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार अहिले पनि अवस्था जटिल छ । यतिमात्रै होइन, नेपालमा छाला सम्बन्धी रोगको उपचार गर्ने जनशक्ति अभाव रहेको छ । छाला विशेषज्ञहरुको दरबन्दी पुरानै रहेको र दरबन्दीअनुसार पहिला अञ्चल अस्पतालमा मात्रै डर्मिटोलोजिस्टहरुको दरबन्दी रहेको छ । 

दरबन्दी थप्ने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नभएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालएको भएकाले मन्त्रालयले बिस्तारै दरबन्दी थप गरेपनि पर्याप्त नरहेको झाको भनाई छ । सबै ठाउँमा दरबन्दी पठाइएको छैन । 

मानिसको छालामा फुस्रो दाग देखिने र वरिपरिको भागलाई नष्ट गर्ने कुष्ठ रोग समयमै पहिचान र उपचार नभए व्यक्ति अपाङ्ग हुने सम्भावना रहने चिकित्सकहरुको भनाइ छ । 

नेपालमा कुष्ठरोगीको अवस्था अझैपनि दयनीय छ । पाप कर्म गरेकाले यस्तो भएको हो भन्दै छिछिदुरदुर गर्ने प्रवृति अहिले पनि नेपालमा व्याप्त छ । यि र यस्तै अवस्थाबारे मन्थन गर्दै समाधानका उपायमा केही सहजता प्रदान गर्न अहिले नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन विहीबारदेखि भइरहेको छ । यसै सम्मेलनमा कुष्ठरोगबारे अहिले छलफल चलेको हो । होइन, भने अन्य अवस्थामा सरकारले विचारविमर्शकै लागि समेत प¥याप्त कार्यक्रमनै गर्ने गरेको छैन ।  

यस पटकको सम्मेलनमा कुष्ठरोग उल्मुलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, संरक्षणका लागि विद्यमान नीति, कानूनी पाटोकाबारे पनि गहन छलफल हुने बताइएको छ । 

कुष्ठरोग कस्तो प्रकारको रोग हो ? कुष्ठरोग लाग्दा के हुन्छ ?

-    कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो । 

-   माइकोब्याक्टेरियम लेप्रे नामक शुष्म किटाणुको कारणले हुने दीर्घकालीन संक्रामक रोग नै कुष्ठरोग हो । 

-    यो रोगले छाला र  सतहको स्नायुलाई असर गर्छ । 

-    कुष्ठरोग बाल्यकालदेखि बुढ्यौलीसम्म सबै उमेरमा देखापर्दछ । तर, ५ वर्ष भन्दा मुनि र ६० वर्ष भन्दा माथिका मानिसहरुमा यो रोग कम लागेको पाइएको छ ।  

कुष्ठरोगको विगत  र वर्गिकरण

-  कुष्ठ रोग मानव समाजमा प्राचिनकाल देखि नै परिचित भए पनि सन् १८७३ अर्थात वि.स. १९३० मा नर्वेका डा गेरहार्ड हेनरिक आर्मर ह्यान्सनले यस रोगको किटाणु पत्ता लगाएका थिए,  त्यसैले यस रोगलाई ह्यान्सेन रोग पनि भनिन्छ ।

-   मानिसको शरीरमा यस रोगको किटाणुले प्रवेश गरेपछि यदि त्यस व्यक्तिमा कुष्ठरोगको किटाणुविरुद्द लड्ने प्रतिरोधात्मक शक्ति कमजोर भएमा २ देखि ५ वर्षभित्र यो रोगको प्रारम्भिक लक्षण÷ चिन्ह  देखा पर्न सक्छ । 

-  उपचारको लागि कुष्ठरोगलाई प्युसीबेसिलरी (पीबी) कुष्ठरोग र मल्टिबेसिलरी (एमबी) कुष्ठरोग गरि दुई समूहमा वर्गिकरण गरिएको छ ।  
कुष्ठरोग कसरी सर्ने गर्छ ?

-   मानव शरिरमा हुने रोगविरुद्द लड्न सक्ने शक्तिले शरीरभित्र पस्ने रोगका किटाणुलाई नष्ट पारि रोग लाग्नबाट बचाउछ । 

-   यो रोग लागेको र उपचार शुरु नगरेको विरामीबाट मात्रै अन्य मानिसलाई सर्न सक्दछ । त्यसैले कुष्ठरोग लागेका सबै व्यक्तिबाट अरुलाई यो रोग सर्दैन । 

-   उपचार नगरिएका विरामीहरूसँग धेरै नजिक भएमा, भिडभाड वा धेरै मान्छे एकै ठाउँमा बस्ने, सुत्ने गरेमा यो रोग सर्ने सम्भावना धेरै हुन्छ । 

-    यो रोग मुख्य गरि श्वासप्रश्वास को माध्यमद्वारा सर्छ । 

-    उपचार नगरेको र धेरै किटाणु भएको संक्रमित व्यक्तिले श्वास फेर्दा र हाछ्युँ गर्दा किटाणुहरु विरामीको शरीरबाट बाहिरआई निरोगी व्यक्तिले श्वास लिँदा सोहि किटाणु  उसको शरीर भित्र प्रवेश गर्दछ । 

-   गर्भवतीलाई कुष्ठरोग लागेको अवस्थामा पनि स्वास्थ बच्चा जन्मिन्छ ।
 त्यसैले पेटमा रहुन्जेल यो रोग संक्रमित आमाबाट बच्चामा सर्दैन । 

-   विरामीको दिसापिसाब र विरामीले प्रयोग गरेको भाँडा वा लत्ताकपडाको पुनः प्रयोग गर्दा, विरामीलाई टोकेको लामखुट्टे र उडुसले निरोगी व्यक्तिलाई टोक्दा, यौन सम्पर्कबाट कुष्ठरोग सर्दैन । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update