
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मौकामा धमिलो पानीमा माछा मार्ने षड्यन्त्र विभिन्न पक्षले गरेका थिए । त्यसमध्ये वर्तमान राज्य ब्यवस्था नै समाप्त पारि राजतन्त्र फर्काउने योजनामा थिए राजावादीहरु । तर राजावादीहरुको योजना भने सफल हुन सकेन ।
ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्मका संरचनाहरु ध्वस्त भइसकेपछि भदौ २४ गते राती १० बजेपछि मात्रै सुरक्षा दिने नेपाली सेनाले उद्घोष गरेको यिो । जतिबेलासम्म राज्यका महत्वपूर्ण निकायहरु खरानी भइसकेका थिए भने सात तारे हिल्टन होटल, भाटभटेनीका सबै स्टोर, चौधरी उद्योग, होटल पर्यटन ब्यवसाय लगायतका दर्जनौं संरचनाहरु ध्वस्त भइसकेको थिए ।
सेनाको मुलुकको सुरक्षा ब्यवस्थाको जिम्मा लिएपछि प्रधान सेनापति अशोककुमार सिग्देलले नै जेनजी आन्दालनका अगुवाहरुसँग वार्ताको समेत जिम्मा लिएका थिए । तर जेनजी आन्दोलनको वास्तविक अगुवा को को हुन्, भन्ने नै अन्योल कायमै थियो । सैनिक मुख्यालय जंगिअड्डाले आह्वान गरेको वार्तामा नै हुलहुज्जत भएपछि सीमित प्रतिनिधि वार्तामा सहभागी हुन सेनाले माइकिङ नै गर्नु परेको थियो । तर जेनजी आन्दोलनको वास्तविक अगुुवाहरुको हुन् भन्ने जंगी अड्डा परिसरको दृष्यले नै प्रष्ट पारिदियो । जेनजीको थुप्रै समूह देखा प¥यो ।
आन्दोलनको खास एजेण्डा नै के हो भन्ने गोलमटोल बन्दै गयो । कोही वार्ताको प्रतिनिधि बनेर जंगीअड्डामै बसे भने कोेही भाषणबाजी गर्दै त कोही वास्तविक जेनजी भन्दै सडकमै धर्ना कस्न थालेका थिए ।
जंगीअड्डामा दुर्गा प्रसाईँको प्रवेश
जंगीअड्डा परिसरमै जेनजीको दर्जनौं समूह नाराबाजी उत्रिरहेकाबेला चैत १५ मा काठमाडौंको तीनकुनेमा विध्वंस मच्चाएका विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँको जंगी अड्डामा प्रवेश भइसकेको थियो । उनी प्रधानसेनापति सिग्देलसँग घण्टौ गफिएका थिए ।
प्रधानसेनापतिसँगको भेटघाटको तस्विर प्रसाईँले नै सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिए । प्रसाईँले यहि मौकामा सेनालाई नै सत्ता हातमा लिन सुझाएको अभिब्यक्ति दिँदै हिँडे ।
सेनाले सुरक्षा जिम्मा लिएपछि काठमाडौं उपत्यकाबाहिरबाट पनि सेनाको संख्या ह्वात्तै बढाइयो । देशका विभिन्न ठाउँबाट बख्तरबन्द गाडीहरु काठमाडौं भित्रिन थाल्यो ।
राष्ट्रपति रामचन्द्र पौडेलदेखि निवर्तमान मन्त्रीहरु तथा प्रमुख राजनीतिक दलका नेताहरु सेनाले सैनिक ब्यारेकमा राखेको थियो ।
जेनजीका थुप्रै अगुवाहरु किनारा, सुदन गुरुङको ‘इन्ट्री’
जेनजीमा साझा एजेण्डा र अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद उत्कर्षमा पुग्यो । काठमाडौंका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङदेखि कुलमान घिसिङ सम्मका चर्चा चलाइयो । जेनजीको विवादकैबीच भदौ २६ गते राती पूर्वराजालाई फिर्ता ल्याउने हल्ला सनसनी फैलियो ।
राजपरिवारकै सदस्यबाट सुखद खबर आउने भनी हल्ला फैलाइयो । राजावादीहरुले राती नै सामाजिक सञ्जालबाट खुशीयाली मनाउन थाले । सोही राती नै ‘कू’ हुने हल्ला भारतीय मिडियाले समेत चलाए ।
अन्तरिम सरकारको नेतृत्व विवादहरु जेनजी समूह अल्झिरहँदा जेनजीको लिडर आफू भएको भन्दै एकाएक सुदन गुरुङको प्रवेश भयो । जो जंगीअड्डादेखि शितल निवाससम्म नै वार्ता गर्न छिरे ।
सेप्टर ८ मा जेनजी प्रदर्शनको आह्वान गर्नेहरु किनारा लागे । वार्तामा संसद विघटन र जेनजीले सिफारिस गरेको ब्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न राष्ट्रपति पौडेल पनि सहमत भए । अन्ततः वर्तमान संविधानकै धारा ६१ मा टेकेर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति बन्यो । सरकारलाई आफ्नो सन्देश सुनाउने भन्दै जेनजीहरु सेप्टेम्बर ८ मा सडकमा उत्रिएका थिए । तर पहिलो दिन नै १९ विद्यार्थी मारिएपछि भड्किएको आन्दोलनमा घुसपैठ भएको स्वयम् जेनजीहरुले नै स्वीकारेका छन् ।
त्यसैले जेनजी आन्दोलन भड्काउन र धमिलो पानीमा माछा मार्न विभिन्न शक्ति केन्द्रहरु लागेको कुरा प्रष्ट छ । राष्ट्रपति पौडेलले समेत अनेक जोडबलले संविधान जोगाएको भनी दलहरुलाई सहयोग गर्न गरेको अपिलले शक्तिकेन्द्रको चलखेललाई पुष्टि गरिदिएको छ ।