
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको विवाद अब थप बढ्ने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले कांग्रेस निकट महेश श्रेष्ठ निर्वाचित गराउने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको कदमलाई विभाजनको प्रयास भनेका छन् भने, हारेकाहरुले विभाजन गर्न नसक्ने भन्दै आफ्नै सरकारकी परराष्ट्रमन्त्री राणामाथि अघोषित आक्रोश पोखेका छन् ।
यो परिस्थितिले विवाद थप बढ्ने निश्चित देखिएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको विवाद थप उत्कर्षमा पुगेको छ ।
बद्री केसी नेतृत्वको एनआरएनएले आयोजना गर्न लागेको ग्लोबल कन्क्लेभ २०२५ लाई उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका हुन् ।
ओलीले एनआरएनएलाई पार्टीको भातृ संगठन बनाउन नहुने र एमालेले यस्तो नगर्ने भन्दै चर्को स्वरमा आक्रोश पोखेका छन् ।
ओलीले यतिमात्रै भनेका छैनन्, कांग्रेस–माओवादी केन्द्रका शीर्ष नेताहरुले उपस्थिति जनाएको एनआरएनएलाई अवैध समेत भनिदिएका छन् ।
कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्ष बनाउदै घोषणा भएको समितिलाई परराष्ट्रमन्त्रालयले मान्यता नै दिइसकेको छ भने यो विवादको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा पुगेको छ ।
सर्वोच्चले मुद्दाको छिनोफानो गर्ने कुनै टुंगो नभएको बेला प्रधानमन्त्री ओलीले हारेका १७ जनाले भन्दैमा विभाजन हुन नसक्ने भनेका छन् ।
प्रधानमन्त्री ओलीले जस्तै कांग्रेस सभापति पत्नी समेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समेत गैरआवासीय नेपालीलाई राजनीति नगरिदिन भनेकी थिइन् ।
राजनीति नगर्न भन्दै सरकारी अधिकारीहरुले चर्को राजनीति गरिरहेका छन् र औपचारिक विभाजनको बाटो देखाइरहेका छन् ।
गैरआवासीय नेपालीहरु दलीय आधारमा प्यानल बनाएरै चुनावी मैदानमा उत्रिने गर्छन् भने गएको निर्वाचनबाट बद्री केसी निर्वाचित भएपनि महासचिवको उम्मेदवारले शून्य मत पाएको देखिएपछि विवाद चर्किएको थियो ।
केसी समूहले भोटिङ मेसिनमै छेडखानी गरेको आरोप समेत लागेको थियो । त्यसपछि जारी विवाद अदालतमा विचाराधीन छ । तर, सर्वोच्चले शेष घलेलाई निर्वाचन गराउन जिम्मेवारी दिएपछि ६ महिनाको समयभित्रै निर्वाचन त भयो, तर यसमा केसी समूहले अनुपस्थिति जनाउदै महाधिवेशनमा सहभागी नहुने निर्णय लियो । त्यसपछि कांग्रेस एमालेबीचको विवाद थप चर्किएको छ।
बारदेखि स्ववियुसम्मका गठजोड एनआरएनएबाट बिग्रिदै
स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत कांग्रेस एमालेले गठबन्धन गरिरहेका थिए । नेपाल बारमा समेत कांग्रेस एमालेले गठबन्धन गरेरै निर्वाचनमा होमिए र नतिजा आफ्नो पक्षमा पारे । तर, गैरावासीय नेपाली संघमा भने उनीहरु फरक कित्तामा मात्रै उभिएका छैनन कि, आरोप–प्रत्यारोपमै उत्रिएका छन् । सत्ता समिकरणमा समेत गडबडी चल्न थालेका बेला शीर्ष नेताहरुबीच नै देखिएको टकरावले सत्ता सहकार्यमै संशय सिर्जना गरिदिएको छ ।