News 24 Television
कांग्रेसमा गज्जबको किचलो, फरक–फरक मुद्दामा बहस, टुंगोमा पुग्न सकस !

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा हिन्दु राज्य र राजसंस्थाबारे समेत छलफल गर्नु पर्ने आवाज उठेको छ । 

मुलुकमा देखिएको पछिल्लो राजनीतिक संकटको समाधान निकाल्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल गर्नु पर्ने र मुलुकलाई हिन्दु राज्य कायम गर्नु पर्ने माग कांग्रेसभित्रका केही तप्काले उठाएका हुन् । गत बर्ष भएको कांग्रेसको महासमिति सदस्य बैठकमा हिन्दु राज्यको प्रसंगले स्थान पाएको थियो । 

करीब एक महिना देखि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । बैठकमा महाधिवेशन, विशेष महाधिवेशन, निर्वाचन र संसद पुर्नस्थापनाको बिषयसंगै हिन्दु राज्य घोषणा हुनु पर्ने र मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाहसँग समेत संवाद हुनु पर्ने बिषयले प्रवेश पाएको हो । 

केहि दिन अगाडि बैठकमा सम्बोधन गरेका केन्द्रीय सदस्य शंकर भण्डारीले खुलेरै हिन्दु राज्य हुनु पर्ने आवाज उठाएका थिए भने मुलुकमा देखिएको समस्या समाधानका लागि राजसंस्थासँग समेत छलफल हुनु पर्ने उनको भनाइ थियो । 

भण्डारीले मात्रै होइन बैठकमा बोल्ने क्रममा कांग्रेस नेतृ सुजता कोइराला लगाएतका नेताहरुले समेत हिन्दु राज्य र राजसंस्थाको बिषयमा चर्चा गरेका थिए । पछिल्लो समय मुलुकमा बिकसित भएको घटनाक्रम पछि यी दुई बिषयमा जनमत संग्रहमार्फत छिनोफानो गर्नु पर्ने कांग्रेस सह–महामन्त्री किशोरसिंह राठोर बताउँछन् । 

कुनै पनि मुलुक धर्मनिरपेक्ष हुन नसक्ने तर्क गर्दै गत वर्ष महासमितिको गोकर्णको भेला, गोदावरीको भेला र त्रिवेणीमा भएको भेलामा झण्डै दुई तिहाई महासमिति सदस्यहरुले हिन्दु राज्यको विषयलाई पास गरेको भएप्नि पार्टीले छलफल नगरेको भन्दै यस बिषयमा छलफल गर्नुपर्ने आवश्यकता भएको कांग्रेस नेता देवेन्द्रराज कंडेल बताउँछन् । 

पछिल्लो समय मुलुकमा जेनजीसँगै अरु शक्तिहरुसँग समेत छलफल गर्ने वा गोलमेच सम्मेलन नै आयोजना गरेर निकाश खोज्नु पर्ने विषयमा आफुले विगत देखि नै भन्दै आएको कांग्रेस नेता अर्जुननरसिंह केसी बताउँछन् । 

पछिल्लो एक महिनायता कांग्रेसमा महाधिवेशन, विशेष महाधिवेश, निर्वाचन, संसद पुनःस्थापना र राजसंस्थासहित हिन्दु राज्यको विषयमा घनिभूत छलफल हुँदै आएको छ । तरपनि कांग्रेस आगामी रोडम्याप कस्तो बनाउने भन्नेमा टुंगोमा पुग्न सकेको छैन । 

यी विविध विषयहरुमा एकैपटक बहस छेडिदाँ कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय आउन अझै केही समय लाग्ने देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update