कैलाली । आगामी फागुन २१ गते गर्न लागिएको प्रतिनिधिसभाको निर्वाचनका लागि हाल फोटोसहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यस पटक अन्य क्षेत्रमा जस्तै सुदूरपश्चिममा समेत निर्वाचनमा सहभागिताका लागि उत्साह देखिएको छ ।
आगामी फागुनमा हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न युवाको आकर्षण बढेको छ । अन्य क्षेत्रमा जस्तै सुदूरपश्चिममा समेत युवाले निर्वाचनमा चासो बढाएको देखिन्छ । मतदानका लागि उमेर पुगेका युवा र उमेर पुगेर पनि फोटोसहितको मतदाता नामावली बनाउन छुटेकाहरू अहिले धमाधम जिल्ला निर्वाचन कार्यालयहरुमा पुगेर नाम लेखाइरहेका छन् । सुदूरपश्चिमका प्राय सबै जिल्लामा सुरुवाती चरणमा सेवाग्राहीको चाप कम भए पनि अहिले अन्तिम समयमा चाप बढेको छ ।
यसरी हेर्दा, विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् । के भन्छन् त मतदाता नामावलीका लागि नाम दर्ता गराउन निर्वाचन कार्यालय पुगेका कैलालीका युवाहरु ?
हिजोआज जिल्ला निर्वाचन कार्यालय कैलाली अगाडि सेवाग्राहीको लामो लाइन लागिरहेको हुन्छ । अनलाइनमार्फत कागजपत्र पेस गर्न सकिने भए पनि धेरै मतदातालाई अनलाइन फारम भर्न नआउँदा उनीहरु भौतिक रुपमै उपस्थित भएका देखिन्छन् ।
साथै मतदाता नामावलीमा नाम लेखाउन सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयमा पनि भीड लाग्ने गरेको छ । मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै केही आशा देखिएकाले पहिलो पटक मतदान गर्न आफूले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रतिक्रिया दिइरहेका छन् । विगतमा मतदानप्रति उदासीन रहेका युवा पनि यस पटक भने आशावादी देखिएका छन् । अहिलेको सरकारले देशको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन गराउनुपर्ने नयाँ मतदाताहरुको भनाई छ ।
सेवाग्राहीको भीड हुने भएपनि एक दिनमा मुस्किलले ५ सय भन्दा बढी जनाको नाम दर्ता हुने गरेको निर्वाचन कार्यालयले जनाएको छ । गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म सुदूरपश्चिम प्रदेशमा १३ हजार १ सय ६९ सय नाम दर्ता भइसेकको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । गएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशभर कुल मतदाता १६ लाख ७४ हजार ६२३ जना रहेका थिए । यसपटक यो संख्या उच्च हुने देखिन्छ ।
