News 24 Television
असोजको बाढीको पीडा नसकिँदै वर्षाको त्रासदी 

काठमाडौं । गत असोजको दोस्रो साता परेको भारी बर्षाका कारण धेरैजसो संरचनाहरुमा क्षति पुर्यायो । भएका सडक सञ्जालहरु बाढीसँगै बग्न पुगे । जसका कारण सडकको अवस्था दयनीय बन्न पुग्यो । आफूले यात्रा गर्ने सडक राम्रो नहुँदा सयौं यात्रुले सास्ती भोगिरहेका छन् । यहि सास्तीकाबीच वर्षा नजिकिएपछि फेरि भेलबाढीको त्रासदी थपिएका छ । 

गत असोजको दोस्रो साता परेको अविरल बर्षाका कारण बागमती प्रदेशको राजधानी र संघीय राजधानी जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौं सडक खण्डका धेरै भाग बाढीसँगै बग्यो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा आएको बाढीको वितन्डाले कुलेखानीदेखि फाखेलसम्मको सडकहरुमा धेरै क्षति पु¥र्यायो । अब बर्खा लाग्ने बेला भइसकेको छ । 

बागमती प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेको सोही सडकको मर्मतमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा बल्ल सडक निर्माणको कामलाई तीव्रता दिइएको छ । निर्माण कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरुले समन्वय गर्दै आएका छन् । जसका कारण आउँदो सनसुन अघि नै सडक सञ्चालनमा आउने तयारीमा रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । 

आउँदो बर्खाअघि नै फाखेल हुमाने हुँदै हेटौंडा–काठमाडौँ आउजाउ गराउने उद्देश्यले यस सडक खण्डमा कालोपत्रे गर्नका लागि १९ दिन सवारी आवागमन समेत बन्द गरिएको छ । पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्र अनुसार यही जेठ २ गतेदेखि २० गतेसम्मका लागि इन्द्रसरोवर २ स्थित कंलकी देखि इन्द्रसरोवर–४ मा पर्ने हुमानेभञ्याङसम्मको सडक बन्द गरेर कालोपत्रेको काम थालिएको हो ।

कंलकीदेखि हुमानेसम्मको १२.६ किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य अबको १५ दिनभित्रै पूरा हुने पूर्वाधार विकास कार्यालयको दाबी छ ।  यता, बाढीका कारण जीर्ण बनेको सडक निर्माण भैरहेको स्थानमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले नियमित रुपमा अनुगमन थालेका छन् । अघिल्लो बर्खामा परेको जस्तो विपद् यस बर्ष यात्रुहरुले खेप्न नपरोस् भन्ने उदेश्यले कालोपत्रेको काम छिटो सम्पन्न गर्न मन्त्री मास्के आफै फिल्डमा खटिने गरेका हुन् ।   

२०८० वैशाख १७ गते पिएन इन्फ्रा इन्सट्रक्चर प्रा.लि ले कुल ४० करोड ७२ लाख ४५ हजार रुपैंयामा निर्माण सम्झौता गरेको यस सडकको निर्माणको कामका अन्तिम मिति आगामी असार मसान्तसम्म छ । सडक चौडा गर्ने, टेवा पर्खाल, नाली निर्माण, कल्भर्ट निर्माण, कालोपत्रे तथा ढलान गर्ने कार्यको जिम्मेवारी पाएको यस निर्माण कम्पनीले हालसम्म ८० प्रतिशत भन्दा बढी काम सम्पन्न गरिसकेको जनाएको छ । 

काठमाडौंबाट हेटौंडा हुँदै तराईका जिल्लाहरु पुग्न छोटो दुरीको सडकको रुपमा प्रयो हुँदै आएको यस सडकखण्ड आगामी बर्खाअघि नै सञ्चालनमा आउने प्रदेशको भौतिक पुूर्वाधार विकास मन्त्रालयको दाबी छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update