News 24 Television
सुदूरका माओवादी नेता कोही स्याउ फलाउँदै, कोही सेकुवा पोल्दै

कैलाली । धेरैजसो राजनीतिकर्मीको राजनीतिबाहेक अन्य कुनै पेशा ब्यवसाय हुँदैन । उनीहरूको नियमित आम्दानीको स्रोत पनि हुँदैन । तर पनि कतिपय नेताहरूको जीवनशैली भने बिलासी हुन्छ । 

यसले समाजमा नकारात्मक असर पारिरहेको छ । धेरैले राजनीतिलाई कमाई गर्ने माध्यम बनाउँदा मुलुकमा भ्रष्टाचार मौलाएको छ । तर केही यस्ता पनि नेताहरु छन् जसले राजनीतिसँग आम्दानीको स्रोतको रुपमा अन्य पेशा व्यवसाय पनि अंगाल्दै आएका छन् ।

उनी हुन् सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री, तथा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य  त्रिलोचन भट्ट , राजनीति गर्दा अन्य पेसा व्यवसाय गर्नु हुँदैन र समय पनि हुँदैन भन्ने मान्यतालाई चिर्दै भट्टले कैलालीको धनगढीमा दैनिक उपभोगका खाद्य सामाग्री सहितको न्यूँ प्रस्थान किनारा पसल संचालन गरेका छन् । उनले नेताहरु राजनीति मात्रै गर्छन् अरु कुनै काम गर्दैनन् । 

जीवन कसरी चल्छ भन्ने आम मानिसको प्रश्न रहने गरेको बताउदै आफ्नो परिवारको दैनिकी चलाउनको लागि राजनीतसँगै व्यवसाय सुरु गरेको बताउँछन् ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संसदीय दलका नेता खगराज भट्टले पनि कैलालीको धनगढीमा क्याफे सञ्चालन गर्दै आएका छन् । आफ्नो राजनीति जिम्मेवारीको बाँकी रहेको समयलाई आफ्नो मेहनतले आर्थिक उपार्जनमा सहयोग पुगोस् भनेर उनले क्याफे सञ्चालन गरेका हुन् । पुर्व बिना बिभागिय मन्त्री समेत रहेका  भट्ट बिगतमा पनि काठमाडौमा गाई फर्म र तरकारी खेति सुरु गरेर कृषि कर्ममा रमाउने गरेका थिए । राजनीति गर्ने सबै दलका नेताहरु श्रम र उत्पादनसँग जोडिनुपर्ने भट्टको भनाइ छ ।  

कैलाली ५ को प्रदेश सभा (क)बाट बिजयी माओवादी केन्द्रका रमेश धामीले पनि धनगढीमा सामान्य होटल ब्यवसाय सञ्चालन गर्दै आएका छन् । घर खर्च चलाउनकै लागि भन्दै उनी सेकुवा घर सञ्चालन गर्दै आएको बताउँछन् । छोराछोरीको पालनपोषण तथा पढाइ खर्च जुटाउन केही पेश ब्यवसाय गर्नुपरेको धामीको भनाई छ । 

सुदूरपश्चिम प्रदेश सरकारका पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत भएका धामी आफैले श्रममा खटिने गरेका छन् । राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउनका लागि राजनीतिसँगै व्यवसायलार्ई अँगाल्नु परेको उनी बताउँछन् । अन्य राजनीति गर्ने र बेरोजगार युवाहरुलाई पनि उनी थोरै लागानीबाट राम्रो आम्दानी गर्ने पेशा ब्यवसाय गर्न सुझाउँछन् । राजनीति गर्ने मानिसको आफ्नो छुट्टै पेसा व्यवसाय भएमा अनियमिता कमी हुने उनको विश्वास छ । 

माओवादीबाट दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर–२ बाट बिजयी मानबहादुर धामीले दार्चुलामा दुई सय रोपनी जमिनमा स्याउँ खेति सुरु गरेका छन् । कालापानी स्याउ फर्म सञ्चालन गरी उनी कृषि कर्ममा रमाइरहेका छन् । योसँगै उनले ललितपुरमा एक हजारबाट सुरु गरेको कुखुरा अण्डा उत्पादन अहिले बृद्धि भएर पाँच हजार पुगेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका धामीले माओवादीको सशस्त्र युद्धमा २०५३ देखि भूमिगत जीवन बिताएका थिए । मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लान नाराले मात्र नहुने उनको बुझाइ छ । 

तल्लो तहमा होस् वा माथिल्लो जसले राजनीतिलाई मर्यादित बनाउँछु भन्ने सोच्छ उसले राजनीतिसँगै केही न केही इलम गर्न जरुरी छ । त्यसैले अब सबै तह र तप्काका नेतृत्ववर्गले राजनीतिलाई मर्यादित तथा व्यावहारिक बनाउने सोंच्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update