
काठमाडौं । लामो रस्साकस्सीपछि राष्ट्र बैंकले गभर्नर त पाएको छ, तर अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्ने काम सहजै होला ? धेरैले शंका गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले नै कनिष्ठ भन्दै नियुक्ति अलमल गरेपछि सत्ता जोखिम बढ्यो, त्यसपछि प्रा.डा. विश्व पौडेल गभर्नर बन्ने सौभाग्य प्राप्त गरे । तर, के उनले मुलुकको अर्थतन्त्रलाई मार्गनिर्देश गर्न सरकारको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्लान् ? शंका, चासो बढेको छ ।
कांग्रेसका सक्रिय क्याडर प्राडा विश्व पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर बनेसँगै उनले संक्षिप्त प्रतिक्रियामै भनेका थिए, कानून बढाउनेभन्दा सुपरिवेक्षणलाई केन्द्रमा राख्छु । त्यसपछि उनले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट पद तथा गोनियताको सपथ ग्रहण गरे अनि कार्यभार सम्हाल्दै नियम कानूनभन्दा सुपरिवेक्षणमै जोड दिनेमै ध्यान केन्द्रित गर्ने जिकिर गरिदिए ।
पौडेल कांग्रेसबाट गएको प्रतिनिधिसभामा निर्वाचन लडेर राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसंग पराजित बनेका हुन् । प्रतिनिधिसभामा हार व्यहोरेका पौडेलले राष्ट्र बैंकमा रोचक बाजी मारेका छन् । तर, उनले मारेको बाजीको परीक्षा भने शुरु भइसकेको छ । नेपालको अर्थतन्त्र गम्भीर संकटमा छ । वित्त घाटादेखि अर्थतन्त्रमा देखिएको संकटमोचन कठिन छ ।
यता, नेपाल फेरि सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा छ । नेपालले आर्थिक रुपमा सवलीकरण गर्नेदेखि अपराधजन्य आर्थिक लाभका विषयलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने बाध्यता छ । तर, यस्ता भिमकाय चुनौतिकाबीच गभर्नर पौडेलले सहि बाटो हिडाउने काम गर्न सक्लान ? शंका, चासो र चिन्ता बढेको छ ।
गभर्नर कस्तो छान्ने ?
गभर्नरले मौद्रिक नीति र राष्ट्र बैंकबारे राम्रो ज्ञान राख्न नसक्दा नेपालले धेरै पटक आर्थिक मन्दीदेखि अनेक संकट ब्यहोरिसकेको छ ।
यस्तोमा राष्ट्र बैंक हाँक्न मौद्रिक नीतिको ज्ञाता, केन्द्रीय बैंकिक प्रणालीमा दख्खल राख्ने, वाणिज्य बैंकहरुको समस्यासंग जानकार, विदेशी मुद्रा व्यवस्थापनदेखि सरकारको आर्थिक सल्लाहकारको भूमिकाबारे जानेको व्यक्ति हुन आवश्यक छ । तर, अहिले डा. विश्व पौडेलले अर्थशास्त्रमा विद्यावारिधि गरेपनि उनीसँग राष्ट्र बैंकको ज्ञान कतै जोडिएको देखिन्न भने मौद्रिक नीतिदेखि अन्य विषयमा समेत खास दख्खल रहेको भेटिन्न । यस्ता विषयले मुलुक आर्थिक संकटसँग जुध्नुपर्ने र मन्दीतर्फ धकेलिनुपर्ने समेत हुनसक्ने विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
कनिष्ठ कार्यकर्तालाई राष्ट्र बैंकको जिम्मेवारी
कांग्रेसका कनिष्ट कार्यकर्तालाई राष्ट्र बैंकको जिम्मेवारी औपचारिक रुपमा सुम्पिएको छ । सरकारले गभर्नरमा नियुक्त गरेका डा. पौडेलले पहिलो निर्णय नै ५ सय र हजारका नोट छाप्ने निर्णयबाट कार्यभार सम्हालेका छन् ।
सामान्यतया अहिले डिजिटल युगमा विश्व परिवेश चलिरहेको बेला पौडेलले गरेको पहिलो निर्णयबाटै उनको क्षमतामाथिका प्रश्नहरु थप छताछुल्ल बनेका छन् । नेपालमा पनि डिजिटल कारोबार बढाउनका लागि राष्ट्र बैंकले अनेक नीति ल्याउने, छुट व्यवस्थादेखि विभिन्न प्रयास गर्दै आएको देखिन्छ । तर, पौडेलले नोट छाप्ने र त्यसमा हस्ताक्षर राख्ने रहर गरेजसरी पहिलो निर्णय नै नोटमा ध्यान केन्द्रित गर्दा उनको क्षमतामाथिका प्रश्नहरु स्वभाविक बन्न पुगेका छन् ।
रोचक नियुक्ति
गभर्नर सिफारिस समितिमा रहेका डा. विश्व पौडेल अन्ततः आफै गभर्नर बने । कांग्रेस एमालेको राजनीतिक दाउपेचको कोपभाजनमा लाभ उठाएका उनीमाथि ठूलो चुनौतिको चाङ आइलागेको छ । राष्ट्र बैंकमा लामो समय काम गरेर खारिएका अधिकारीहरु दलीय स्वार्थको दाउपेचमा पर्दा गभर्नर नियुक्ति नै गिजोलिन पुग्यो भने पौडेलले लाभ लिने मौका पाए ।
गभर्नर को बन्छ भनेर नाम सिफारिस समितिमा बसेर आफै गभर्नर बन्ने पौडेलमाथि नैतिकता र पदीय मान्यतालाई पुष्टी गर्ने यक्ष चुनौति थपिएको मात्रै छैन्, अहिलेको संकट पार लगाउने जिम्मेवारी समेत थपिएको छ । उसोतः संविधानले नै समाजवादउन्मुख अर्थतन्त्रको विकासका कुरा गरिरहेका बेला समाजवाद शब्दमै एलर्जी हुने पौडेलले कस्तो काम गर्लान ?
आम चासो समेत बढेको छ। यस्तै, मौद्रिक नीतिसम्बन्धिको ज्ञानको अभावले पनि उनीमाथि क्षमताको प्रश्न उत्तिकै पेचिलो बनेको देखिन्छ । कृषि र साधन स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेलले कम्युटर साइन्स र कृषि अर्थशास्त्रमा स्नात्तकोत्तर गरेका हुन भने कम्युटर इन्जिनिरिङमा उनले चीनबाट ब्याचलर गरेका छन् । यसले पनि उनको योग्यता र क्षमताको प्रश्न थप पेचिलो बन्न पुगेको छ ।