
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छन् । विद्यालयका कार्यक्रमदेखि विभिन्न क्षेत्रको दौडधुपमा रहेकी भण्डारीले एमालेको नेतृत्व लिने दौडलाई तीव्र पार्दै लगेको टिप्पणी सतहमै छ । चीन भ्रमणबाट फर्किएपछि थप हौसिएकी विद्याले एमाले अध्यक्ष केपी ओलीकै गृह जिल्लामा पुगेर उनीमाथि दबाब सिर्जना गरेकै हुन् त ? यो चर्चाको विषय बनेछ ।
राष्ट्रपतिको दुई कार्यकाल सकेपछि घरमै रहेकी विद्यादेवी भण्डारीले सक्रिय राजनीतिको बाटो खोज्न थालेकी छन् । एकथरीले एमालेको शीर्ष नेताको रुपमा उनलाई प्रोजेक्सन गरिरहेकै बेला उनले चीन भ्रमण गरिन् । त्यसमा एमालेका नेता र सरकारका मन्त्री समेत सहभागी भएपछि यो विषय रणनीतिक हिसाबले पनि चर्किएको छ । तर, चीनमा उनलाई उच्च महत्व दिएको भन्दै एमालेभित्र र बाहिर चर्चा चलिरहेको छ । कतिपयले त उनलाई कम्युनिस्ट आन्दोलनको नेतृत्व लिन सुझाव दिएको समेत भन्न थालेका छन् ।
यस्तोमा भण्डारीले पुर्व पुगेर राजनीतिक सक्रियतालाई थप प्रष्ट पारेकी छन् । विद्यादेवीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको गृहजिल्लामा पुगेर राजनीतिक सन्देश दिन खोजेकी छन् ।
ओलीको जिल्लामा पुगेकी विद्यादेवी भण्डारीले स्थानीय तहका प्रमुख–उपप्रमुखहरुको सम्मेलनलाई सम्बोधन समेत गरिन् । सो राष्ट्रिय सम्मेलनमा मुलुकभरका २ सय ९१ वटा पालिकाहरुको उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा महिलाहरुको सहभागिताका लागि संविधानले नै स्पष्ट पारेको र समावेशी महिला प्रतिनिधित्व हटाउने गरी गरिने राजनैतिक गठबन्धन उपयुक्त नभएको बताइन ।
भण्डारीले महिलाको सहभागिताको चिन्तासंगै आफू राजनीतिक रुपमा सक्रिय हुने सन्देश प्रष्ट दिइन् । यस्तै, एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञान प्रविधिको प्रयोग र समृद्धिको खाका समेत सुनाइन् ।
ओलीको गृहजिल्लाबाट एमालेको सक्रिय राजनीतिमा आउने सन्देश दिइरहेकी भण्डारीलाई एमालेमा लिएर अनेक टिप्पणी चल्ने गरेको छ । तर, भण्डारीको सक्रियता चलिरहेकै बेला प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली पनि मोरङ पुगे । हेलोकोप्टरबाट मोरङको कटहरी गाउँपालिका– २ मा पुगेका ओलीले जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरे । उद्घाटन गर्दै ओलीले विकास समृद्धिका कुरा सुनाए । राजनीतिक चर्चा गरे । फर्किए ।
विद्याको सक्रियता र अर्थ
विद्यादेवी भण्डारीले चीनमा पुगेको बेला समेत आफ्ना पति मदन भण्डारीबारेको प्रसंग कोट्याइन् । आफू राष्ट्रपति हुँदा यो विषयमा खास नबोलेकी भण्डारीले चीन पुगेर मदनबारे बोल्नुलाई धेरैले राजनीतिक सक्रियताको अभ्यास शुरु भएको सन्देशको अर्थमा लिएका छन् ।
यस्तै पछिल्लो समय एमालेका विभिन्न कार्यक्रममा पुग्नेदेखि विद्यालयका कार्यक्रममा समेत सहभागी हुँदै आफू सक्रिय राजनीतिमै रहेको भनिरहेकी उनले एमाले नेतृत्व हत्याउने प्रयास गरिरहेकी छन् । तर, एमाले अध्यक्ष केपी ओलीले अझैं १५÷२० वर्ष एमालेको नेतृत्व आफैले गर्ने भन्दै गर्दा भण्डारीले ओलीको स्वास्थ्य स्थितिबारे समेत टिप्पणी गरिसकेकी छन् ।
यसरी हेर्दा ओली–विद्या तनाव चुलिने संकेत देखिएपनि कतिपय एमाले नेताहरुले भने ओलीकै सहमतिमा विद्याले एमालेको नेतृत्व लिने दाबी समेत गर्ने गर्छन् । यद्यपी विद्याको पुर्वबाट देखिएको सक्रिया भने अर्थपूर्ण देखिन्छ ।
राजनीति नैतिकताको प्रश्न
राष्ट्रपति जस्तो पद सफलतापुर्वक सम्हालिसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउने विषयलाई जनताले खास रुचाएको भने देखिन्न ।
तर, माओवादी केन्द्रमा उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय बनिसकेको नजिरलाई देखाएर राजनीतिमा हाम फाल्ने प्रयास भने चलिरहेको छ । तर, सर्वोच्च पदमा रहेको व्यक्तिले सक्रिय राजनीति रोज्न गलत हुने भन्दै आलोचना भने हुने गरेको छ । तर, संविधान कानूनले सक्रिय राजनीतिमा फर्किने विषयलाई कतै बन्देज नलगाएकाले व्यक्तिको नैतिकता र स्वतन्त्रताभित्र पर्ने चर्चा समेत हुंदै आएको छ ।