News 24 Television
ओली–देउवा सत्ताभित्र खैलाबैला झन् बढ्दै, शेखरलाई तिखार्ने को ?

काठमाडौं । कांग्रेस–एमालेको सत्ता सहकार्यमा अझैसम्म पनि मिठास आउन सकेको छैन् । कांग्रेसमा संस्थापन इतर पक्षका नेताहरुले सत्ता सहकार्यमा तीखो टिप्पणी गरिरहेका छन् । कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्नेदेखि वामपन्थीलाई सरकार बुझाएकोसम्मका आरोप लगाउनेक्रम चलिरहेको छ । तर, सहकार्यको एक वर्ष हुँदैलाग्दा समेत किन यस्तो परिस्थिति छ ? यो प्रश्नको जवाफ भने उनीहरुकै व्यवहारले दिएको देखिन्छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै बेला भन्ने गर्थे, विश्वासको मत जति पटक मागेपनि पाउँछु । माओवादीसंग जादुको संख्या छ । उनी यस्तै गरि गठबन्धनमा कहिले एमाले त कहिले कांग्रेस गरिरहे । तर, कांग्रेस एमालेले आन्तरिक रुपमा सहकार्यको रोडम्याप तयार पारिदिए । प्रचण्ड सत्ताबिहीन बनिदिए । उनले यसलाई संवैधानिक जालजेल भनिरहेका छन् । 

संविधानको धारा ७६ को उपधारा २ बमोजिम केपी ओली प्रधानमन्त्री बन्नु अस्वभाविक भएको प्रचण्डले जिकिर गर्ने गरेका छन् । तर, यो विषयको मुद्दा सर्वोच्चमा विचाराधिन अवस्थामा छ । छिनोफानो कहिले हुन्छ थाहा छैन् । तर, अदालतभन्दा पनि प्रचण्ड झैं कांग्रेसमा पनि दिक्दारी पोख्ने काम शुरु भएको छ ।

प्रचण्डले पोखिदिनुपर्ने दिक्दारीमा कांग्रेसको अग्रसरता र त्यसमा पनि शेखरको सक्रियता भने रोचक देखिन्छ । कुनै बेला कोशी प्रदेशमा कांग्रेस माओवादीको सत्ता सहकार्यमा धोकाको शुरुवात उनै कोइरालाले गरेका थिए । माओवादी केन्द्रले कोशीको मुख्यमन्त्री पाउने सहमतिको उल्लङ्घन उनले एमालेसंग मिलेर गरिदिए । कांग्रेसका केदार कोइरालालाई मुख्यमन्त्री बनाए । 

त्यसको जिम्मेवारी समेत लिए । यतिमात्रै नभएर कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गराउन समेत उनले भूमिका खेले । सत्ता सहकार्य टुट्नुमा शेखरको ठूलो भूमिका थियो । यो विषयमा कांग्रेसकै नेताहरुले स्वीकार गर्ने गरेका छन् । तर, उनी भनिरहेका छन, कम्युनिस्टसंगको संगतमा कांग्रेस पर्नु हुंदैन् । 

कांग्रेस एमाले सत्ता सहकार्यका लागि ढोका खोल्न सक्रिय भूमिका खेलेका शेखर पछिल्लो समय सरकारप्रतिका टिप्पणीले चर्चामा छन् । उनका केहि अभिव्यक्तिले सरकारमाथि गरेका टिप्पणी र उनको राजनीतिक शैली भने झल्किन्छ ।

यी प्रतिनिधि अभिव्यक्ति हुन् । यसरी शेखरले पटक–पटक अभिव्यक्ति दिदै आएका छन् । उनले कम्युनिस्टसंगको सत्ता सहकार्यमा प्रश्न मात्रै गर्ने गरेका छैनन्, कांग्रेसले सत्ता नेतृत्व लिनुपर्ने समेत भनिरहके छन् । तर, के शेखरले भनेजस्तै कांग्रेसलााई सत्ता नेतृत्व लिन सहज छ ? प्रश्न र चासो भने उत्तिकै देखिन्छ ।

के चाहन्छ इतर पक्ष ?

कांग्रेसको इतरपक्ष समयमै महाधिवेशन र नेतृत्व लिने होडमा देखिन्छ । सायद यहि भएर हुनुपर्छ, कांग्रेस महामन्त्री गगन थापाले पनि शेरबहादुर देउवाभन्दा राम्रो क्षमता भएका प्रधानमन्त्रीका उम्मेदवार कांग्रेसमा थुप्रै रहेको भनिरहेका छन् । मिसन सभापतिमा जुटेका गगनले सन्तुलन मिलाउनका लागि देउवाको विरोध र समर्थन गर्ने गरेको देखिन्छ । 

गगनले देउवालाई चुनौति दिदै गर्दा यसले शेखरलाई फाइदा पुग्ने आंकलन भन्दा पनि राजनीतिक स्वार्थका पोकाहरु फुटाउनेक्रम बढेको देखिन्छ । तर, पार्टी महाधिवेशनबाट नेतृत्वको छिनोफानो छिट्टै होस भन्ने चाहना समेत उत्कट हुने देखिन्छ । शेखर पनि देउवालाई उक्साउदै प्रधानमन्त्री बनिहाल्नुपर्नेमा जोड दिन्छन् । यतिमै नरोकिने शेखर महाधिवेशनको विषय पनि उठाइरहन्छन् । 

यसरी चलिरहेको राजनीतिक रिले दौडमा शेखर सरकारविरुद्ध जेहाद छेड्दै कांग्रेस सत्ता नेतृत्वमा पुगे महाधिवेशन समयमै हुने र पार्टी नेतृत्वमा पुग्ने अभ्यासका लागि बाटो खुल्नेमा आशावादी देखिन्छन् । तर, धोकाधडीको राजनीतिमा शेखर अग्रपंक्तिमै हुने गरेका छन भने उनले सत्ता उलटफेरमा आफ्नो क्षमता भ्यासम्म उलटफेरको जिम्मा लिने प्रयास गरिरहनेमा पर्छन् । कांग्रेस सभापति देउवाको मनशायले चाहदा चाहदै पनि कहिलेकाहीं बाजी मार्ने गरेका उनी पछिल्लो समय यहि लय समाउने तयारीमा जुटेका छन् । तर, देउवा नै निर्णायक रहेको बेला के होला भन्ने अहिले नै खुल्ने स्थिति भने छैन् । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update