
सबैले भन्छन्-
पढ्, पढ्, मोरा पढ् !
पढिनस् भने पछि दुःख पाउँलास् !
ज्ञानी मान्छे म,
कुरै नबुझी मैले पढिदिएँ-
के पढेँ, पढेँ
आज दुःख पाएँ ।
के पढ्ने, किन पढ्ने ?
बुझ्न पाएको भए...
कसैले आएर भन्यो-
मुक्तिको लागि लड्, लड् !
आँटी मान्छे म,
कुरै नबुझी गोली बोकेँ,
लडिदिएँ- आज दुःख पाएँ ।
कस्को लागि लड्ने, किन लड्नेबुझ्न पाएको भए...
नबुझ्नु गल्ती होइन, कसैलाई सोध्न पाएको भए,
अथवा नसोधे पनि बताइदिने कोही भएको भए... ।
अङ्ग्रेजी दिए, पढिँदिएँ;
गणित दिए, पढिँदिएँ;
विज्ञान दिए, पढिँदिएँ;
के-के दिए, सबै पढिँदिएँ ।
चाँदनी- दोधारा पढाएनन्,
टिस्टा- काँगडा पढाएनन् ।
कि झूठो इतिहास लेखे,
कि सत्य लुकाए, कि बताएनन् ?
साम्यवाद दिए, पढिदिएँ;
समाजवाद दिए, पढिदिएँ।
प्रतिवाद दिए, राष्ट्रवाद दिएनन्
शत्रु भनेर चिनाए, सीमाना चिनाएनन्
सम्बन्ध चिनाए, स्वाभिमान चिनाएनन्
नानाथरी झण्डा बोकाए, चन्द्र-सूर्य बोकाएनन् ।
घोषणापत्र दिए, नक्सा दिएनन्
धर्म चिनाए, आस्था चिनाएनन्
जात चिनाए, पहिचान चिनाएनन्
ठूलो स्वर दिए, विनम्रता दिएनन्
पूर्वाग्रह सिकाए, आग्रह सिकाएनन् ।
आन्दोलन सिकाए, सहभागिता सिकाएनन्
इटा-ढुंगा हान्न सिकाए, चौतारी बनाउन सिकाएनन्
घचेट्न लडाउन सिकाए, सँगै हिँड्न सिकाएनन्
टायर बाल्न सिकाए, दियो बाल्न सिकाएनन् ।
यसैलाई राजनीति भनेर पत्याइदिएँ,
आज थाहा पाएँ- म कति मूर्ख रहेछु...
आफ्नै देशभित्र अल्मलिएको रहेछु ।
मेरो नेपाली भाषा विश्वविद्यालयसँगै रोइरहेछ
मेरो चन्द्र-सूर्य झण्डा हेर, कति राम्रो !
तराईको मलिलो माटो लागेको रहेछ ।
बुद्ध यसै शान्त छ,
सगरमाथा झुक्दैन, कहिल्यै झुक्दैन ।
पढ्न बाँकी धेरै छ कि अझै,
तर कसैले सोध्ला– के पढ्छौ ?
मसँग अब उत्तर छैन ।
-०-
मण्डनदेउपुर– ७, काभ्रेपलान्चोक
पेशा : अध्यापन