News 24 Television
भट्ट–अग्रवालको डरलाग्दो कनेक्सन, स्वदेश र विदेशको अवैध लगानीमा तरिका नै अर्कै !

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र कार्यालयमा सम्पत्ति शुद्धिकरण विभागले छापा मारेको छ । अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान जारी रहेको वेला विभागले छापा मार्नुलाई अर्थपूर्ण ठानिएको छ भने दीपक भट्टको लगानीको स्रोत खोज्नेदेखि शुद्धिकरणसम्मका कनेक्सन पहिल्याउने काम चलिरहेको देखिन्छ । 

व्यवसायी सुलभ अग्रवाल र विवादास्पद व्यापारी दीपक भट्टको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको हो। विभागले अनुसन्धानको क्रममा घर र कार्यालयमा छापा हानेको पुष्टी गरिसकेको छ भने उनीहरुको घरबाट मोबाइल, ल्यापटप, कागजात जस्ता महत्वपूर्ण सामाग्री बरामद गरिएको समेत बताइएको छ। विभागले भट्टको सानेपा तथा सुलभको लाजिम्पाटको घरबाट चाहिने कागजात लिएको छ । यसबाहेक विभागले महाराजगञ्जस्थित हिमालय रि–इन्स्योरेन्सको कार्यालयमा समेत छापा मारेको छ । 

दीपक भट्टको इन्फिनिटी होल्डिङ्सदेखि विभिन्न कम्पनीमा भएको लगानी, सेयर बजारमा गरिरहेको कारोबार जस्ता विषयमा सम्पत्ति शुद्धिकरणको अनुसन्धान चलिरहेको छ भने अग्रवालविरुद्ध भट्टसंगको कनेक्सन र अवैध कारोबारको शंकामा आधारमा अनुसन्धान चलिरहेको छ । भट्ट र अग्रवालले सामूहिक रुपमा लगानी गरेका छन् । उनीहरुको लगानीको स्रोत खोज्ने काम समेत विभागले गरिरहेको बताइन्छ ।

विभागले झण्डै १२ घण्टा बढि समय छापा मार्दापनि काम पुरा नभएपछि सिल नै गरेको बताइन्छ ।भट्टको निवासमा फेला परेका विभिन्न सवारी पनि सिल गरिएको बताइन्छ । जसमा रेञ्जरोभर, टोयोटा ल्याण्डक्रुजर, बीएमडब्लु, टेस्ला, प्रोटन र बीवाइडी जस्ता सवारी रहेको बताइएको छ । विभागले भट्ट र अग्रवाललाई दुई सातादेखि हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण, बीमा र बैंकिङ कसुर लगायतका विषयमा छानबिन गरिरहेको छ। 

त्यसमध्ये छानबिनका लागि भट्टलाई पहिलोपटक र दोस्रो पटक १०\१० दिन गरेर २० दिन हिरासतमा राख्न विभागले जिल्ला अदालत काठमाडौंबाट अनुमति पाइसकेको छ। यता, अग्रवाललाई पनि छानविन गर्नका लागि म्याद थप गरेर अनुसन्धान चलिरहेको छ। भट्ट र अग्रवालको कनेक्सन भने गम्भीर आर्थिक अपराधमा देखिएको बताइन्छ । 

नेपालमा रहने आर्थिक स्रोतहरु अग्रवालको नाममा रहने र सिंगापुरदेखि हङकङ, दुबई जस्ता मुलुकमा लगेर भट्टको नाममा राख्ने गरिएको अख्तियारले सूचना दिएपछि विभागले छापा मार्नु परेको हो । अनुसन्धान चलिरहेकाले अभियोजन कसरी हुन्छ र उनीहरुको आर्थिक अपराधको पटाक्षेप कसरी हुन्छ भन्ने चासो भने व्याप्त देखिन्छ । 

भट्ट उनै व्यापारी हुन, जसले जुन पार्टीको सरकार आएपनि सहजै मिलाउने दाबी गर्ने गर्थे भने सरकार नै ढाल्न सक्ने पात्रका रुपमा आफूलाई उभ्याउने गर्थे । तत्कालीन प्रचण्ड नेतृत्वको सरकार ढल्दा समेत भट्टले नै भूमिका खेलेको आरोप चर्को बनेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update