
काठमाडौं । बढ्दो नकारात्मक सोच र चिन्तनले मानिसलाई अस्वस्थ बनाउँछ । त्यसैले यस्ता नकारात्मक सोंच र चिन्तन घटाउन योग, ध्यान र साधनाले मात्रै सकिने विश्वास गरिन्छ ।
समाजमा आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा बढेको अपराध तथा तनावको कारण आम मानिसमा निराशा र मनोवैज्ञानिक समस्याले जरा गाडेको हुदाँ योग तथा ध्यानवाट केही राहत मिलेको योग अनुरागीहरुको अनुभव छ । अहिले केन्द्रदेखि स्थानीय तहहरुले समेत योग प्रयोगशालाको विस्तारमा जोड दिन थालेका छन् ।
खासगरी बसाइउठाइ, खानपान तथा दैनन्दिन कार्यहरुका कारण नै मानिसहरु मानिसहरु अस्वस्थ हुने गरेका छन् । राजनीतिकर्मी, समाजसेवी, डाक्टर, वकिल पत्रकार लगायत हरेक क्षेत्र मानसिक तनावबाट गुज्रिएका छन् ।
जसले गर्दा विभिन्न समस्याहरु निम्तिने गरेका छन् । योग र ध्यानको कमीको कारण मुलुकको नीति नियम तथा कानून तर्जुमा गर्ने थलो संसद पनि गाली बेइज्जती गर्र्ने थलोको रुपमा विकास भइरहेको छ ।
त्यसैले तनाव कम गर्नका लागि पनि पछिल्लो समय योग, ध्यान र साधनाको महत्व बढ्दै गएको छ । योगलाई दिवसकै रुपमा मनाउन थालिएको छ । हरेक क्षेत्रले योगको आवश्यकता महशुस गरिरहँदा सांसदहरुले समेत योग साधना आवश्यकता महशुस गर्न थालेका छन् ।
विश्व योग दिवसको अवसरमा विभिन्न सामाजिक संस्थाहरुले विभिन्न कार्यक्रम गरी योगको सान्दर्भिकताको खाँचो औल्याएका छन् । राजनीतिक दलका नेता कार्यकर्तादेखि समाजसेवी सबैका लागि योग ध्यान आवश्यक रहेको शनिवार रामनगर उर्जाशील समूहले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जोड दिए ।
योग तथा साधानाले आम सर्वसाधारणको जनस्वास्थ्यमा ठुलो सहयोग पुर्याएको छ । योग प्रयोगशालको अभाव र योग तथा ध्यानको विकासको लागि सरकारको स्पष्ट सोच र प्राथमिकताको कमीको कारण समस्या भएको प्रशिक्षहरुको भनाई छ ।
शनिवार नै विश्व योग दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूविरुद्ध गालीगलौंचमा उत्रिनेहरु योगको संगतमा आएको खण्डमा मान्छे बन्ने तर्क गरेका छन् ।
नेपाली समाजमा बढ्दै गएको मानशिक तनाव, निराशा तथा आपसी द्धन्दलाई योग, ध्यान तथा साधनाले पक्र्कै पनि राहत पुग्न सक्छ । योग दिवसका दिन एक दिन मात्र साधना गरेर नपुग्ने भएकाले सधैं नै योग ध्यान गर्नुपर्ने योग प्रशिक्षकहरुको भनाई छ ।
यसका लागि केन्द्रदेखि स्थानीय तहहरुले समेत योगशाला तथा साधना कक्षलाई उचित स्थान आवश्यक देखिन्छ ।