News 24 Television
फोहर पानीले नै जीवन धान्दै ! पखालाले धमाधम मृत्यु ! बेमतलबी सरकार !

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमका मुसहर समुदाय फोहोरमै दिनचर्या चलाउनुपर्ने बाध्यतामा छन् । घरमा कलको सुविधा नभएकोले उनीहरू भाँडाकुँडा धुनेदेखि नुहाउनसम्मको कार्य लागि नदीमा जाने गर्दछन् । यतिमात्रै होइन, उनीहरु नदी छेउछाउमै दिशा पिसाब गर्दछन् । फोहोर पानीको प्रयोगले नै बस्तीमा झाडापखाला फैलिएको छ । 

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँच हुने भनि मौलिक हककै रुपमा व्यवस्था गरेको छ । तर, सप्तरी छिन्नमस्ता गाउँपालिका–५ लोखरमको मुसहर बस्तीका बासिन्दा भने यो मौलिक अधिकारबाट समेत बञ्चित रहेका छन् । 

मुसहर बस्तीमा प्राय सबै बिपन्न वर्गका मानिस छन् । दैनिक मजदुरी गरेर छाक टार्ने उनीहरूलाई आफ्नो चपाकल अर्थात पानी निकाल्ने साधन राखेर पानी प्रयोग गर्न सक्ने अवस्था छैन । पचास भन्दा बढी घर रहेको यस टोलमा चार वटा मात्रै चपाकल छ, जसबाट उनीहरू पानी खाने गरेका छन् । तर भाँडाकुँडा धुन उनीहरूलाई नदी नै जानुपर्ने बाध्यता रहेको छ । 

यस टोलमा कुनै घरमा शौचालय छैन् । सो बस्तीका बासिन्दाले नदीकै छेउमा शौच गर्ने गरेका छन् । भलुवाही नदीमा जिल्लाको सदरमुकाम राजविराजका बासिन्दाहरूले विभिन्न किसिमको फोहोर फाल्ने गरेका छन् । यसै नदीमा दिशा पिसाब गर्ने गरिएको छ । 

सोही नदी बगेर लोखरम पुग्ने गरेको छ । तरपनि बाध्यताले त्यहाँका बासिन्दा यसै नदीमा भाँडाकुँडा धुनेदेखि नुहाउने समेत गरेका छन् । यसैको परिणाम स्वरुप अहिले यहाँ झाडापखालाले समस्या बढाइरहेको छ । 

झाडापखालाले यस बस्तीका तीन जनाको मृत्यु भएको छ भने पाँच जनाको दिशाको परिक्षणले हैजा रहेको पुष्टि गरेको छ । बिहिबार मात्रै थप पाँच जना झाडापखालाले ग्रसित भएपछि गजेन्द्रनारायण सिंह अस्पताल उपचारका लागि पुगेछन् । स्थानीय सरकारले  चुनावमा भोटका लागीमात्र  आफूहरुलाई खोज्ने गरेको स्थानीयको गुनासो  छ ।  

लोखरम टोलमा झाडापखालाको प्रकोप फैलिएको छ । झाडापखाला बिरामीको प्रारम्भिक जाँचमा त्यहाँ हैजाको आशंका पनि देखिएको छ । सरसफाई आभाव तथा फोहर पानीकै कारण रोग फैलिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा सतिश यादव बताउँछन् । 

बस्तीका बासिन्दा नदी र खुल्ला शौच गरिरहँदा सो वडाका वडाध्यक्षले जग्गा अभावको कारण सबै घरमा चर्पी नभएको प्रतिक्रिया दिएका छन् । उनले दातृ निर्मित तीन÷चार वटा शौचालय पनि प्रयोगबोहिन रहेको वडाध्यक्षको भनाइ छ ।  

झाडापखाला फैलिएपछि पालिका स्वास्थ्यकर्मी र गैरसरकारी संस्थाहरू सरसफाई तथा जनचेतना फैलाउने काममा पनि लागेको छ । तर, उनीहरूको लागि शुद्धपानीको मुहानको व्यवस्था गर्न कुनै सरकाको ध्यान पुगेको छैन । अहिले पनि उनीहरूको दिनचर्या फोहरमै चलिरहेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update