News 24 Television
हृदयघातबाट युवा उमेरमै समस्याः कारण, बच्ने उपाय र विश्वव्यापी जोखिम कस्ता ?

काठमाडौं । नियमित व्यायाम, सन्तुलित आहार र अनुशासित जीवनशैली अपनाउने मानिसहरू स्वस्थ रहन्छन् भन्ने विश्वास आम मानिसमा गहिरो छ । तर पछिल्ला केही वर्षका घटनाहरूले के बाहिरी रूपमा ‘फिट’ देखिनु मात्रै पर्याप्त हो ? गम्भीर प्रश्न खडा गरिदिएको छ ।  स्वास्थ्यप्रति सजग र अनुशासित जीवनशैली अपनाउने व्यक्तिहरू समेत अचानक हृदय गति रोकिएर मृत्यु हुने घटनामा व्यापक वृद्धि देखिन थालेपछि यो बहस थप चर्किएको छ ।

पछिल्लो समय बलिउड अभिनेत्री शेफाली जरीवालाको आकस्मिक निधनले स्वास्थ्य संकटको गम्भीर बहस सुरु गरिदिएको छ । ‘काटा लगा’ गीतबाट चर्चामा आएकी, स्वस्थ र सक्रिय जीवनशैलीमा रहेकी जरीवालाको ४२ वर्षको उमेरमा कार्डियक अरेस्टबाट निधन हुनु केवल एक व्यक्तिगत त्रासदी मात्र होइन फिटनेस र हृदय स्वास्थ्यबीचको जटिल सम्बन्धको प्रतिनिधि घटनाजस्तै भएको छ । 

उसोतः यसरी ज्यान गुमाउनेका उनी एक्लो भने होइनिन् । कोरोना महामारीपछि विशेषगरी युवा उमेर समूहमा कार्डियक अरेस्टका घटना उल्लेखनीय रूपमा बढेका छन् ।

महामारीपछि बढ्यो हृदय रोग

कोभिड–१९ को महामारीको असर केवल संक्रमणमा सीमित रहेन । रोग निको भएपछि पनि धेरै मानिसमा विभिन्न दीर्घकालीन स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरुले बताउने गर्छन् । 

जसमा हृदयसम्बन्धिका जटिलता अग्रस्थानमा छन् । चिकित्सकीय अध्ययनका अनुसार कोरोना महामारीपछिको अवधिमा घरबाहिर हुने कार्डियक अरेस्टका घटनामा झन्डै ३९% वृद्धि भएको छ । 

भारतको कोच्चीमा गरिएको एक अध्ययनले २० देखि ४० वर्षसम्मका व्यक्तिहरूमा कार्डियक अरेस्टको घटना दोब्बरले वृद्धि देखिएको छ । चिकित्सकका अनुसार सामान्य रूपमा स्वस्थ देखिने, नियमित व्यायाम गर्ने र कुनै लक्षण नदेखिएका व्यक्तिहरू समेत अचानक बेहोस भई मृत्यु हुने अवस्था अत्यन्त चिन्ताजनक छ । विश्वमा वार्षिक ४० देखि ५० लाख मानिसको मृत्युको कारण कार्डियक अरेस्ट बनिरहेको छ । 

खोप, तनाव वा अन्य कारण ?

कोभिडविरुद्धको खोपलाई लिएर पनि विभिन्न आशंका र बहसहरू भइरहेका छन् । कतिपय रिपोर्टहरूमा खोपले हृदयमा असर गर्न सक्ने सम्भावना औंल्याइएको भए पनि कार्डियक अरेस्टको सीधा कारण खोप हो भनेर वैज्ञानिक रूपमा पुष्टि भएको छैन ।

कार्डियक अरेस्ट आफैंमा कुनै एक कारणबाट मात्र हुने समस्या होइन । हृदयाघात, अनियमित धड्कन, हृदय मांसपेशी कमजोर हुने अवस्था, जन्मजात हृदय रोगजस्ता कारणहरूले कार्डियक अरेस्ट निम्तिन सक्छ । तर, यसबाहेक पनि अक्सिजनको कमी, अत्यधिक रक्तस्राव, नशालु पदार्थको ओभरडोज, इलेक्ट्रोलाइटको असन्तुलन वा करेन्टको झट्काजस्ता कारणले पनि यो समस्या उत्पन्न हुने चिकित्सकहरू बताउँछन् । तनावयुक्त जीवनशैली, अत्यधिक मदिरा सेवन, धूम्रपान, उच्च रक्तचाप, मोटोपन र पारिवारिक इतिहासले समेत हृदयमा गहिरो असर पार्ने गरेको विज्ञको भनाई छ ।

सतर्कता नै सुरक्षा

विशेषज्ञहरूका अनुसार कार्डियक अरेस्टजस्ता समस्याबाट बच्नको लागि जीवन शैलीमा सचेतता र नियमित स्वास्थ्य परीक्षण अत्यावश्यक छ । सन्तुलित आहार, दैनिक व्यायाम, पर्याप्त निद्रा र तनाव नियन्त्रणले हृदयको स्वास्थ्य जोगाउन सकिन्छ । 

फास्ट फूड, अत्यधिक चिल्लो र नुनयुक्त खानाको साटोमा फलफूल, सागसब्जी, होल ग्रेन, र प्रोटीनयुक्त आहार अपनाउनु उपयोगी हुन्छ । साथै, रक्तचाप, सुगर, कोलेस्ट्रोल, ईसीजीजस्ता परीक्षण समयसमयमा गराउनु अनिवार्य छ । 

कोभिड संक्रमण भइसकेका बिरामीलाई अझ बढी सतर्क रहन चिकित्सकहरूको सल्लाह छ । थकान, छाती दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु जरूरी हुन्छ ।

केवल ‘फिट’ देखिनु अब पर्याप्त छैन

सबैभन्दा गम्भीर कुरा के हो भने आजका दिनमा ‘फिट’ देखिनु मात्र पर्याप्त छैन । फिटनेसको बाहिरी आभासले मानिसलाई पूर्ण रूपमा स्वस्थ सावित गर्न सक्दैन । कुनै लक्षण नदेखिए पनि समय समयमा हृदयसम्बन्धी परीक्षण गर्नु, जीवनशैली सन्तुलित बनाउनु, तनाव व्यवस्थापन गर्नु र आवश्यक सावधानी अपनाउनु अहिलेको परिस्थितिमा जीवनरक्षक सावधानी बन्न पुगेको छ । 

हाम्रा हृदयको धड्कन सामान्य लाग्न सक्छ तर त्यसैलाई सुरक्षित राख्नु अब केवल चिकित्सा क्षेत्रको काम होइन व्यक्तिगत जिम्मेवारी पनि हो ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update