
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हालैका दुई अभिव्यक्तिका कारण चर्चामा छन् । सोमबार एमाले केन्द्रीय पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रममा उनले भगवान् शिवको उत्पत्तिस्थान हलेसी क्षेत्र हुन सक्ने धारणा राख्दै शिवलाई चाम्लिङ राईसँग जोडेका छन् । भगवान् शिव हलेसीतिरैका चाम्लिङ हुन सक्ने उनको अनुमान छ ।
यद्यपि, हिन्दू धर्मशास्त्र र पुराणहरूमा शिवलाई आदिदेव महादेव, र रुद्रका रूपमा विश्वव्यापी र अनादिकालीन देवता मानिन्छ । शिवको कुनै निश्चित जाति वा थरसँग सम्बन्ध रहेको स्पष्ट धार्मिक वा ऐतिहासिक प्रमाण छैन । त्यसैले ओलीको उक्त अभिव्यक्तिलाई धेरैले उटपट्याङ भनेर सामाजिक सञ्जालमा आलोचना गरेका छन् । शिवसम्बन्धी धारणा व्यक्त गरेपछि प्रधानमन्त्री ओलीले भगवान् रामको जन्मस्थल नेपालमै भएको दाबी पनि दोहोर्याए । उनले रामको जन्म चितवनको ठोरी क्षेत्रमा भएको र त्यसको प्रचार गर्न नडराउनु पर्ने बताए ।
प्रधानमन्त्री ओलीले यसअघि पनि भारतले “नक्कली अयोध्या” निर्माण गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउँदै रामको वास्तविक जन्मस्थल नेपालको माडी भएको दाबी गरेका थिए । हिन्दू धर्मग्रन्थ रामायणमा रामको जन्म भारतको अयोध्यामा भएको उल्लेख छ । तर, रामायण, महाभारत वा अन्य धार्मिक ग्रन्थहरू ऐतिहासिक दृष्टिले प्रमाणित भएका छैनन् । वैज्ञानिक दृष्टिकोणले यी ग्रन्थहरूलाई मिथकको रूपमा हेरिन्छ । भारतले रामायण तथा महाभारतमा वर्णित स्थलहरूको पुष्टि गर्न ठूलो खर्च गरेको भएपनि कुनै ठोस पुरातात्विक प्रमाण फेला परेको छैन ।
प्रधानमन्त्री ओली रामायणमा वर्णित अयोध्या नेपालको माडीमा भनेर दाबी गर्नुको धेरै कारण छन्, त्यसमध्ये एक हो, जनकपुरस्थित जानकी मन्दिर र भारतमा भनिएको अयोध्याबीचको दूरी । माडी नजिकै वाल्मीकि आश्रम हुनुलाई पनि अर्को प्रमाणका रुपमा अघि सारिएको छ । तर, जनकपुरस्थित जानकी मन्दिर तथा वाल्मीकि आश्रम पनि अकाट्य प्रमाण नभएर अन्यजस्तै आस्था र विश्वासको सिर्जना मात्रै हो । वास्तविकता के छ भने अहिलेसम्म रामायण तथा महाभारतसँग सम्बन्धित कुनै भौतिक अवशेष प्राप्त भएको छैन ।
वनवासकै क्रममा अहिलेको उत्तर प्रदेशस्थित अयोध्यादेखि महाराष्ट्र राज्य हुँदै मध्य प्रदेशसम्मको विभिन्न स्थानमा रामले १४ वर्ष वनवास जीवन बिताएको रामायणले बताउँछ । रामको जीवन वृतान्तमा आधारित रामायणमा उल्लिखित विवरणलाई माडीस्थित अयोध्यापुरीलगायत नेपाली भूमिभित्र रहेका अन्य रामनामसँग सम्बन्धित स्थानहरुले पनि राम नेपालमै जन्मेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । यसैगरी राम अयोध्यापुरीमै जन्मिएकै हुन सक्ने प्रमाणहरू पनि प्रशस्त छन् ।
माडीस्थित अयोध्यापुरीकै प्रमाण हेर्ने हो भने माडी नगरपालिका–१ मा नारायणी नदीकै पूर्वी किनारमा वाल्मीकि आश्रम छ । दक्षिण अयोध्यापुरीको नामले चिनिने माडी नगरपालिका–९ स्थित चौकीडाँडामा राम गुफा, राम सीताले नुहाउने पोखरी, सोमेश्वर गढी, वैकुण्ठधाम, पाँच पाण्डव र कपाल गंगासमेतका छायामा पर्दै आएका प्राचीन धार्मिक तीर्थस्थल छन् । यस्तै, सुनसरीस्थित रामधुनी धाममा रामले विश्वामित्रबाट शिक्षा लिएको बताइन्छ । रामले सुरक्षा गरेको भनिएको धुनी आजसम्म प्रज्वलित छ ।
अयोध्यापुरी उत्तरमा रामपुर र सोभन्दा उत्तरमा रामनगर पर्दछ भने नारायणी नदी पारी नवलपरासी जिल्लामा सीता धरतीमा विलिन भएको स्थान देवघाट छ । रामले विश्राम गरेको स्थान रामनगर र रामग्राम पनि त्यसकै आसपासमा पर्दछ । जनकपुर त राम सीताको परिचयात्मक स्थल नै हो । त्यहाँ भएका मठमन्दिर र भौतिक संरचना आफैंले राम सीताको वर्णन गरिरहेका छन् ।
माडीको अयोध्यापुरीबाट सुनसरीको रामधुनी वनस्थित विश्वाभित्र ऋषिको आश्रममा जाँदा रामले प्रयोग गरेको बाटोमा पर्ने सिरहा जिल्लाकै बन्दीपुर दक्षिण, कमलापूर्व रामपुर भेडिया बस्ती पर्दछ । बन्दीपुरपूर्व मिर्चैया पश्चिम रामपुर बिर्ता छ । सिरहाकै मिर्चैया बजारलाई प्रारम्भदेखि नै रामनगर भनिन्थ्यो । मिर्चैयापूर्व गोलबजार पश्चिम अयोध्यापुर नामको अर्को बस्ती छ । सप्तरी जिल्लामा पनि सीताको खोजीमा लंका जाने क्रममा हनुमानले बाँदर सेनालाई जम्मा गरेको स्थान अहिले हनुमान नगरले चिनिन्छ । जहाँ जम्मा भएका बाँदर सेनालाई साथमा लिएर हनुमान लंका प्रस्थान गरेका थिए ।
यसका साथै रामायणमा उल्लिखित रोमपाद नाम गरेका राजाको आंदेश पनि गंगा र कोसीको संगमस्थल उत्तरको अहिलेको सप्तरी र उदयपुर जिल्लासम्मको नेपाली भूमि थियो । राम नामसँग जोडिएका यी स्थान कुनै न कुनै रूपमा रामसँग सम्बन्धित हुन सक्छ । यसर्थ, रामनामसँग जोडिएका नेपालका उपर्युक्त स्थान राम नेपालकै छोरा हुन् भन्ने आधार हुन सक्छ । अयोध्यापुरी नै रामको जन्मस्थल हो भन्ने प्रमाणित गर्न उक्त स्थानमध्ये धार्मिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक, वस्तुस्थितिजन्य एवं सान्दर्भिक दृष्टिकोणले बढी महत्वपूर्ण देखिएका स्थानहरु अनुसन्धान गर्नुपर्ने देखिन्छ ।