News 24 Television
रास्वपाले गुमायो विश्वसनीयता, भारी पर्दै ‘स्पेन भम्रण’ आरोप !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको विषयलाई लिएर संसद अवरुद्ध गरेको एक महिनाभन्दा बढी भइसक्यो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै रास्वपाले सदन बहिस्कार गर्दै आएको छ । उसले गृहमन्त्रीमाथि गहन छानविन गरिनुपर्ने र उनको राजीनामा नै आउनुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएपनि सत्ता पक्षले भने रास्वपाको मागलाई बेवास्ता गर्दै सदन अघि बढाइरहेको छ । तर यस्तैमा रास्वपाले मंगलबारको संसद बैठकमा पनि सरकारमाथि गम्भीर आरोप लगाउँदै भर्खरै सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई पनि मानव तस्करी प्रकरणको गतिविधिसँग जोडेर व्याख्या गरेको छ ।

रास्वपाले मंगलबारको संसद बैठकमै प्रधानमन्त्रीको स्पेन भ्रमणबाट केही व्यक्तिहरु नफर्किएको भनेर सत्तामाथि प्रश्न उठाएको छ । त्यस्तै रास्वपाले यसमाथि अनुसन्धान हुनुपर्ने माग पनि जोडतोडले उठायो ।   

रास्वपाले उठाएको यो प्रश्न र सत्तामाथिको शंकाले संसदमा भने हंगामा मच्चियो । रास्वपाले लगाएको आरोपलाई नेकपा एमालेले खण्डन गरेको छ । साथै रास्वपाले उठाएको विषय तथ्यहीन र भ्रमपूर्ण भएको एमाले जवाफ दिएको छ । एमालेले संसदमा प्रधानमन्त्रीसँगको स्पेन भ्रमणबाट को–को व्यक्ति फर्किएननन् भनेर पुष्टि गर्नसमेत रास्वपालाई चुनौती दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा स्पेन भ्रमणबारे सबै जानकारी दिइसकेको तथा भ्रमण टोलीको विषयमा समेत स्पष्ट पारिसकेको भन्दै रास्वपाको आरोप तथ्यहीन भएको एमाले जवाफ दिएको हो । 

उता परराष्ट्र मन्त्रालयले पनि स्पेन भ्रमणमा गएका सबै व्यक्तिहरु फर्किएको भन्दै नामावाली नै प्रकाशन गरेको छ । त्यस्तैमा एमालेले संसदबाहिरबाटै पनि रास्वपाले लगाएको आरोप निराधार रहेको भन्दै को–को फर्किएनन् ? त्यसको पुष्टि आरोप लगाउनेहरुले नै गनुपर्ने भनिरहको छ ।  

यो चुनौतीले रास्वपा भने जवाफविहिन बन्ने देखिन्छ । बाहिरी चर्चाकै भरमा उठाएको यो विषयले रास्वपालाई संसदीय राजनीतिमा अपरिपक्वता पेश गरेको व्याख्या हुन थालेका छन् । यसले रास्वपामाथि विगतदेखि नै लाग्दै आएको राजनीतिक अपरिपक्वताको आरोपलाई अझ बढवा दिएको छ । 

कसरी चुक्यो रास्वपा ? 

रास्वपा पुराना दलहरुको कार्यशैली र चरित्रमाथि प्रश्न उठाउँदै राजनीतिमा उदाएको पार्टी हो । तर संसदमा प्रधानमन्त्रीको स्पेन भ्रमणबाट टोलीका सबै सदस्य नफर्किएको भनेर लगाएको आरोप भने रास्वपालाई भारी पर्ने देखिन्छ । 

भिजिट भिसाकै सवालमा सरकारमाथि सशक्त दवाब सृजना गर्न रास्वपाले यो विषयलाई संसदमा उठाएको देखिन्छ । तर यसको तथ्यमा भने रास्वपा चुचेको पक्कै हो । आधिकारिकताबाट टाढा रहेको बाहिरी हल्लालाई नै संसदमा मुख्य आरोपको विषय बनाउँदै सत्तामाथि प्रहार गर्दा रास्वपाले विश्वसनियता गुमाएको छ । जसले तत्कालका लागि रास्वपाविरुद्ध सत्ता पक्षलाई हावी गराएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update