News 24 Television
अप्रत्याशित र विनाशकारी प्राकृतिक विपद्को श्रृंखला

काठमाडौं । केही वर्षयता नेपालमा भारी वर्षा हुने र त्यसले जनधनसहित भौतिक संरचनाहरुमा क्षती पु¥याउने क्रम बढिरहेको छ । यसपाली पनि वर्षाको शुरु भए लगत्तै बाढी पहिरोले अप्रत्याशित क्षति पुर्याएको छ । अहिले बाढी पहिरोकै कारण कहिलेकाँही नाका बन्दीकै जस्तो समस्या झेल्नु परेको छ । खासगरी जलवायु परिवर्तनको प्रभाव स्वरुप वर्षाको समयबाहेक अन्य समयमा विपत्ति निम्तिने गरेको छ । 

केही दिनअघि मात्रै उत्तरी छिमेकी चीनबाट आएको आकस्मिक बाढीले रसुवाको टिमुरे क्षेत्र हुँदै त्रिशूली नदी किनारमा क्षति पु¥याएको २४ घण्टा नबित्दै हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा लेदोसहितको बाढीले तहसनहस बनायो । 

चुम्जुङ खोलामा उर्लिएको बाढीले ४ वटा पुल बगायो भने दुई पुलमा क्षति पु¥यायो । यी घटनाको लगत्तै म्याग्दीको मुदीमा पहाड खसेर खोला थुनियो । यी घटना कुनै संयोग मात्र होइनन्, बरु नेपालले भोगिरहेको जलवायु परिवर्तनको डरलाग्दो उदाहरण हुन् । विगत एक दशकको तथ्यांक हेर्ने हो भने नेपालमा यस्ता अप्रत्याशित र विनाशकारी प्राकृतिक विपद्को श्रृंखला निरन्तर बढ्दो क्रममा छ । 

एक दशकमा कहाँ कहाँ भए बाढी पहिरो र डुबान ? 
 
-  वि.सं. २०७२ मा म्याग्दीको राम्चे पहिरोले कालिगण्डकी नै थुनियो ।  

-  वि.सं. २०७३ मा बेगखोलाको बाढीले बस्ती नै सखाप भयो । 

-   वि.सं. २०७४ साउनमा तराईका ३० भन्दा बढी जिल्ला डुबानमा पर्दा १६० भन्दा बढीले ज्यान गुमाए । हजारौं भौतिक संरचना नष्ट । 

-   वि.सं. २०७७ सालमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा बस्तीमाथिबाट खसेको पहिरोले ३७ घर पुर्दा ३७ जनाको ज्यान गयो ।

-   वि.सं. २०७८ असारमा मेलम्ची नदीको मुहान भेमाथाङमा खसेको पहिरोले २५ जनाभन्दा बढीको ज्यान लियो, हेलम्बु बजारलाई बगरमा परिणत गरिदियो ।

-    वि.सं. २०८० असारमा संखुवासभा र ताप्लेजुङमा हेवा खोलामा आएको बाढीबाट जलविद्युत् आयोजनामा कार्यरत २८ जनालाई बेपत्ता । 
यी प्रतिनिधि घटना मात्रै हुन् । यी बाहेक बाढीपहिरोजन्य विपद्ले नेपालमा धनजनको ठूलो क्षति भएको छ । हिमालपारिका सुख्खा जिल्ला मानिने मनाङ र मुस्ताङ, जहाँ कुनै बेला मुस्किलले पानी पथ्र्यो, आज त्यहाँ आकस्मिक बाढी र पहिरोको कहर छ । यो बदलिँदो प्रकृतिको स्वरूपले जलवायु परिवर्तनको असर हाम्रो घर आँगनसम्म नै आइपुगेको छ । 

विश्वमञ्चमा उठाइँदै छ जलवायु परिवर्तनको असर

विज्ञहरूका अनुसार पछिल्लो समय नेपालमा (अनावृष्टि) चाहिने समयमा पानी नपर्ने, ( अतिवृष्टि ) चाहिनेभन्दा बढी पानी पर्ने र ( खण्डवृष्टि ) सानो क्षेत्रमा विनाशकारी वर्षा हुने जस्ता मौसमी गतिविधिहरू तीव्र बनेका छन् । हिमालमा तापक्रम बढ्दा हिमतालहरू फुट्ने जोखिम उत्तिकै छ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आएको छ । 

नेपालले विभिन्न विश्व सम्मेलनहरूमा सहभागिता जनाउँनुका साथै पर्वतीय मुद्दाहरूको वकालत, सगरमाथा संवादजस्ता कार्यक्रमको आयोजना पनि गरिसकेको छ । विश्वको ध्यान खिच्न भन्दै सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठकसम्म बसेको थियो । तर, कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि यसको मार खेपिरहेको नेपालजस्ता मुलुकको आवाजलाई विश्वका शक्तिशाली राष्ट्रहरूले गम्भीरतापूर्वक सुनेका छैनन् । 

आन्तरिक रूपमा सरकारले वन तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति जस्ता संरचनामार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । तर, विपद्को बढ्दो दर र त्यसले निम्त्याइरहेको विनाशको तुलनामा यी प्रयासहरू अपर्याप्त देखिएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update