News 24 Television
उच्च अदालत पाटनद्वारा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट

काठमाडाैँ । उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्याैट गरेको छ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भएको बताए । तीमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फर्छ्याैट  गर्नुपर्ने लक्ष्य रहेकोमा यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्याैट गरेको बताए । असार २५ गतेसम्म कुल लक्ष्यको ९९.२१ प्रतिशत मुद्दा फर्छ्याैट  भएको उनकाे भनाइ छ । अझै ५ दिन बाँकी रहेको र यो समयसम्म शतप्रतिशत लक्ष्य हाँसिल गर्ने दाबी गरे ।

उच्च अदालत पाटनको इतिहासमै पहिलो पटक दुई वर्ष नाघेका मुद्दाहरु शुन्य बनाउन सफल भएको बताउँदै उनले भने, ‘यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भए । १७ हजार भन्दा बढी मुद्दाहरु लगतमा छन् । त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फछ्र्यौट गर्नुपर्ने थियो । यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फस्र्यौट गरेका छौँ । त्यो संख्या भनेको ९९.२१ प्रतिशत हो । यो असार २५ गतेसम्मको हो । अझै ५ दिन बाँकी छ । हामीले यो ५ दिनमा शतप्रतिशत नै लक्ष्य हाँसिल गर्नेकुरा सुनिश्चित छ । उच्च अदालत पाटनको इतिहासमा अहिलेसम्म दुई वर्ष नाघेका मुद्दाहरु शुन्य बनाउन सकेको छौँ ।’

पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पहिलो वर्ष पूरा गरेको र सबै अदालतहरुको प्रगति सन्तोषजनक रहेको बताए । योजनाले राखेका लक्ष्यहरुतर्फ प्रयास उन्मुख रहेको बताए । पाटन उच्च अदालतले लक्ष्य प्राप्ति पूरा गरेको बताउँदै उनले न्याय सम्पादन छिटो, छरितो बनाउने कुरा नै महत्वपूर्ण रहेको बताए । नयाँ दर्ता हुने मुद्दाको संख्या पनि बढेको उनकाे भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update