News 24 Television
रास्वपा : पूर्व न्यायाधीशदेखि चर्चित कलाकारको साथ, विपिन बने चुनावी कमाण्डर  

काठमाडौँ । सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा जेल पुगेसँगै केही समय रास्वपा दिशाहीन बन्यो । तर, पछिल्लो समय भने रास्वपाले विस्तारै गति बढाउँदै लगेको छ । उसले आफ्नो अभिष्टमा पनि उन प्रष्ट बन्दै गएको देखिन्छ । संसद, सञ्जाल र सडकमा उसको उपस्थिति बाक्लिन थालेको छ । उसले चलाइरहेको हस्ताक्षर अभियान होस् वा रुपन्देही ३ को उप निर्वाचनबारे उसको तयारी । भिजिट भिषा प्रकरणमा निरन्तर गरिरहेको विरोध नै किन नहोस् । रवि कै अभावमा पनि रास्वपाले फेरि लय समाउन थालेको छ । 
 

विपिन बने चुनावी कमाण्डर !

प्रतिनिधि सभा सदस्यको लागि कार्तिक १७ गते रुपन्देही ३ मा उप–निर्वाचन हुँदै छ । यो निर्वाचन प्रतिनिधि सभा सदस्यमा दलीय वा स्वतन्त्र उम्मेदवारको जित हार भन्दा बढी प्रतिष्ठाको लडाइ हो । दल र स्वतन्त्र उम्मेदवार अहिले सोचीविचारी तयारीमा लागिरहेका छन् । एमाले काँग्रेस आफ्नो जनसमर्थन कायमै रहेको दखाउन जितको खोजीमा रहने छन् । उता, रास्वापा उप निर्वाचन केन्द्रित तयारीमा लागिरहेको छ । 

रास्वपाको सचिवालय बैठकले उप निर्वाचनलाई नै लक्षित गर्दै उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरुको रायका लागि पठाएको छ । उसले केही दिनमा नै कार्यविधि अनुसार उप निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिलाई आवेदन आह्वान गर्ने पनि बताएको छ । त्यस पछि नै उसले उम्मेदवार छनोट गर्ने छ । 

साथै, उप निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्वको जिम्मेवारी सचिवालयले रास्वपा सह महामन्त्री विपिन कुमार आचार्यलाई दिएको छ । आचार्य रास्वपा लुम्विनी प्रदेश इञ्चार्ज पनि हुन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले यस अघि नै योग्य उम्मेदवारको प्रतिबद्धता व्यक्त गरिसकेका छन् । 

एकातिर रास्वपाले चुनाव लक्षित तयारी गरिरहेको छ भने अर्कोतिर उसले रविविरुद्ध प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान पनि चलाइरहेको छ । 

लय समाउँदै रास्वपा !

रविविरुद्ध प्रतिशोध साँधिएको भन्दै प्रतिरोधको लागि हस्ताक्षर अभियान चलाइरहेको रास्वपाको हस्ताक्षर अभियानले पनि गति समाएको छ । हस्ताक्षर अभियानमा अहिलेसम्म कलाकार विपिन कार्की, रमेश उप्रेती लगायत कलाकारको उपस्थिति रह्यो । हस्ताक्षर गर्न नायिका रेजिना उप्रेती पनि घण्टीघर पुगेकी थिइन् । 

साथै, पूर्व प्रधानमन्त्री डा. बाबराम भट्टराई पनि हस्ताक्षर अभियानमा पुगेका छन् । पूर्व प्रधानमन्त्री भट्टराई रास्वपा कै पार्टी कार्यालय पुगी हस्ताक्षर गरेका हुन् । पूर्व प्रधानमन्त्री नै आफ्नो अभियानमा सहभागी भएसँगै रास्वपा भने केही उत्साहित देखिएको छ । आड भरोसा चाहिने दुःख पीडा कै बेलामा हो भन्दै भट्टराईले रास्वपा नेताहरुले धन्यवाद दिएका छन् ।

पूर्व प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर पाल पनि हस्ताक्षर अभियानमा पुगेका छन् । रास्वपाको हस्ताक्षर अभियान अन्तर्गत नै हस्ताक्षरको लागि चर्चित कलाकार मनिषा कोइराला पनि पुगेकी छन् । सर्वोच्च अदालतको पूर्व न्यायाधीश बलराम केसी पनि हस्ताक्षरको लागि रास्वपा पार्टी कार्यालय पुगेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update