News 24 Television
मन्त्री फेर्न किन राजी भएन काँग्रेस ? एमाले भने तम्तयार !

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकार बनेको यही असारमा एक वर्ष पूरा भयो । ओलीले गत वर्षको असार ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गरेका थिए । संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले मिलेर बनेको सरकारमा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन् । त्यसबाहेक काँग्रेस र अन्य साना दलहरुले सरकारको प्रतिनिधित्व गरिरहेका छन् । सरकारको कार्यकाल एक वर्ष पूरा हुँदैगर्दा काँग्रेस एमालेमाथि मन्त्री फेर्नुपर्ने दवाव नउठिरहेका होइनन् । काँग्रेसमा मन्त्री फेर्नका लागि पार्टीभित्र दबाव बढ्दो छ । 

सरकारमा रहेर सशक्त कार्य गर्न नसकेको भन्दै पार्टीमा तीव्र दबाव रहेपनि काँग्रेसले मन्त्री तत्काल फेर्ने निर्णय भने गर्न सकेन । काँग्रेसको केन्द्रीय समिति बैठकमै यो विषयले प्रवेश पाएको थियो । तर पार्टीबाट मन्त्री फिर्ता बोलाउने र अरु पठाउने भन्ने औपचारिक निर्णय काँग्रेसमा भएको छैन । 

अर्कोतर्फ नेकपा एमालेले भने मन्त्री फेर्न चासो दिइरहेको छ । एमाले सांसदहरुले विभिन्न समितिको बैठकमा पनि मन्त्रिमण्डल हेरफेर गरिनुपर्ने विषय जोडतोडले उठाइरहेका छन् । एमालेले यस विषयमा औपचारिक निर्णय गर्न नसकेपनि नेताहरुले मन्त्री तत्काल फेरिनसक्ने संकेत दिइरहेका छन् । 

काँग्रेस एमाले सम्मेलित शक्तिशाली सरकारले सोचेअनुसारको काम गर्न नसकेकोमा नागरिकस्तरबाट आक्रोश बढ्दो छ । यस्तैमा बेलाबखत ओली नेतृत्वको सरकार नै ढलिहाल्ने आशंका पनि गर्ने गरिँदै आएको छ । तर नेताहरुको अभिव्यक्तिले सरकार ढलिहाल्ने संभावना भने देखाउँदैन । 

बरु मन्त्रिमण्डल फेरेर सरकार नयाँ ढंगले अघि बढ्ने संभावना भने देखिन्छ । हुनतः अब एमाले नेतृत्वको सरकारको कार्यकाल अब एक वर्ष मात्रै बाँकी छ । सत्ता सहकार्य हुँदा बखत नै आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भन्ने सहमतिमा ओलीपछि देउवाले सरकारको नेतृत्व गर्दैछन् । 

यस्तोमा मन्त्रिमण्डल फेरबदल गर्न दुवै दललाई दवाव भने सृजना भइरहेका छन् । तर पार्टीप्रति आलोचना बढ्नसक्ने खतराले काँग्रेस मन्त्री फेर्ने निर्णयबाट व्याक भएको देखिन्छ । ऊ आफू सम्मेलित सरकारले नै निर्माण गरेको बजेटमा अझै एक वर्ष काम गर्ने निचोडका साथ मन्त्री फेर्ने लाइनमा देखिन्दैन । अहिलेसम्म प्रचण्ड नेतृत्वको सरकारले नै निर्माण गरेको बजेटमै आधारित रहेर मन्त्रीहरुले काम गरेका थिए । तर उता एमाले भने तत्काल मन्त्री फेर्ने लाइनमै देखिन्छ । 

एमालेका कुन–कुन मन्त्री खतरामा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई सँधैजसो नतिजा दिनेगरी काम गर्न निर्देशन दिँदै आएका छन् । तर एमालेका कतिपय मन्त्रीहरुले अपेक्षित नतिजा दिन नसकेको आरोप खेपिरहेका छन् । यसकारण एमालेले सरकारमा रहेर कमजोर कार्यप्रदर्शन गर्ने र विवादित मन्त्रीहरुलाई फिर्ता बोलाउने संभावना देखिन्छ । 

यस्तोमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सरकारबाट बाहिरिनसक्ने सूचीमा छन् । हुन त उनी आँफै पनि सरकारबाट बाहिरिने मुडमा रहेको बताइँदै आएको छ । अघिल्लो पटक अर्थमन्त्री रहँदा पत्याइएका मन्त्रीमा पर्ने पौडेल यसपटक भने राष्ट्र बैंकको गभर्नर नियुक्ति, बीमा समितिको अध्यक्ष नियुक्ति तथा नेप्सेको सीईओ नियुक्ति लगायताका विषयमा विवादित बनेका छन् । 

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि सरकारमा रहेर अपेक्षित नतिजा दिन नसकेको आरोप खोपिरहेका छन् । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पनि मन्त्रिमण्डलबाट फिर्ता बोलाइने संभावना छ । उनी माओवादीसँगको गठबन्धनदेखि नै मन्त्री रहँदै आएका छन् । तर उनले पनि अपेक्षित काम गर्न नसकेको आरोप खेपिरहेका छन् । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानविर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि अपेक्षित काम गर्न नसकेकाले मन्त्रीबाट फिर्ता बोलाइन सक्ने सम्भावित सूचीमा छन् । यद्यपि एमालेले औपचारिक रुपमै मन्त्री फेर्ने घोषणा गरेको छैन । 
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update