
काठमाडौं । ६ महिनापछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ । बजेट समयमै आउन नसकेको बेला बल्लतल्ल बसेको कार्यपालिका बैठकमा पनि मेयर बालेन्द्र साह ‘बालेन’ले २४ मध्ये एउटा प्रस्तावमात्रै बैठकमा पेश गर्दै बैठक समापन गरिदिएका हुन् । महानगरपालिकाले यसरी बजेटको तयारी गरिरहँदा बजेटदेखि अन्य असन्तुष्टिको समाधान होला ? प्रश्न र चासो बढेको छ ।
काठमाडौं महानगरपालिकामा अनेक बखेडा र झमेलाले निरन्तरता पाउने क्रम जारी छ । शुक्रबार पनि यस्तै परिदृष्य देखिए । ६ महिना पछि बल्लबल्ल बसेको कार्यपालिका बैठक मेयर बालेनले एक मिनेटमै सकिएको घोषणा गरिदिए ।
असार १० गतेभित्र आइसक्नुपर्ने बजेट काठमाडौं महानगरपालिकाभित्रको बजेट आन्तरिक विवादकै कारण अलपत्र अवस्थामा पुग्यो । बजेट समयमै आउन नसक्दा केहिले स्वतन्त्र मेयर बालेन्द्र साह ’बालेन’लाई काम गर्न नदिइएको आरोप लगाइरहेका छन् भने केहिले मेयरको स्वभावकै कारण यस्तो स्थिति सिर्जना भएको भन्ने गरेका छन् ।
जे जस्तो स्थिति भएपनि स्थानीय तह स्वायत्त र सरकारको काम नै गर्ने भएकाले बालेनले सबैलाई मिलाएर लैजानुपर्ने र महानगरको नेतृत्व गर्ने जिम्मेवारी लिनुपर्ने हुन्छ । जुन कुरा बालेनबाट हुन नसकेको भन्दै महानगरभित्र आलोचना हुने गरेको छ । कतिपयले बालेनको सल्लाहकार समूहले खडा गरेको घेराका कारण पनि समस्या आएको आरोप लगाउन गर्छन् । तर, यसको सत्यता भने सार्वजनिक रुपमा आएको देखिन्न ।
विवादकाबीच चलिरहेको बैठकले महानगरपालिकाको बजेट भने यहि २९ गते ल्याउने भनेको छ । कार्यपालिका बैठकका लागि तय गरिएका २४ प्रस्तावमा मेयर बालेनले शुक्रबार बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले बजेट पेश हुने दिनको प्रस्ताव गरेका हुन् ।
काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२\८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ । यस्तोमा महानगर प्रवक्ता नविन मानन्धर पनि बजेट आउने समयसीमाबाहेकको विषयमा बोल्न चाहेको देखिन्न ।
तानातानपछि शुक्रवार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरपछि महानगरपालिकाका प्रवक्ता मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताए ।
बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने महानगरले जनाएको छ ।
अन्ततः झुके बालेन !
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं उपस्थित भए कार्यपालिका बैठक नै नडाक्ने दाबी गर्दै आएका बालेनले अन्ततः गुरागाईंसहितको बैठका सहभागी भएका हुन् ।
उसोतः बालेनले अन्तिम समयसम्म पनि गुरागाईंलाई बिदामा बस्न वा बैठकमा अनुपस्थित भएको स्थिति सिर्जना गर्न खोजेका थिए । तर, कांग्रेस एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले अड्डी कसेपछि बजेट ल्याउनकै लागि भएपनि बालेनले गुरागाईंसहितको बैठकमा उपस्थिति जनाएका हुन् ।
गुरागाईमाथि काठमाडौं टावर निर्माणको क्रममा अनियमितता गरेको आरोप बालेनले लगाउने गरेका छन भने गुरागाईंले आफूलाई पहिले बालेनले नै निर्देशन दिएपछि काम गरेको तर अन्तिममा आएर आफ्नो बद्नाम गर्न खोजिएको आरोप लगाउने गरेका छन् । यस्तोमा संघीय सरकारले पनि काठमाडौं महानागरपालिकामा कार्यकारी प्रमुखको रुपमा अर्को व्यक्तिलाई पठाउन नमान्दा लामो समयसम्म विवाद अल्झिएको थियो ।
६ महिना लामो समयसम्म महानगरमा कार्यपालिका बैठक समेत बस्न सकेको थिएन् । यसरी घटनाक्रम विकास भएपछि अन्ततः बालेन बैठक आह्वान गर्न सहमत भएका हुन् । तर, उनले १ मिनेटभन्दा छोटो बैठक राखेर २९ गतेसम्मका लागि नयाँ योजना बनाउने गरि बैठक सारेका छन् ।