
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सदस्यता नविकरण गरेपनि सक्रियता भने दिवंगत पति मदन भण्डारी फाउन्डेसनबाटै गर्नुपर्ने बाध्यतामा छिन् ।
भण्डारीले सार्वजनिक रुपमै पार्टी अध्यक्षको दाबेदारी पेश गरेपनि किन उनी एमालेको व्यानरको अतिथि बन्न सकेकी छैनिन् ?
मदन भण्डारी, विद्यादेवी भण्डारीका श्रीमान । मदनको निधनपछि एमालेले जनताको बहुलदलीय जनवाद र मदनलाई उच्चस्थानमा राख्न थाल्यो ।
जबजमाथिका प्रश्न गर्नेहरु एमालेमा धेरै छैनन् । तर, पनि मदन पत्नी भण्डारीलाई सक्रिय राजनीति गर्न भने फेरि मदनकै छाता ओढ्नु परिरहेको छ । एमालेको सदस्यता नविकरण गरेको घोषणा गरेपनि उनले एमालेको ब्यानरमा कार्यक्रम गरेर नेता कार्यकर्तालाई सम्बोधन गर्न पाएकी छैनिन् । विद्यादेवीले जबजलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने भनेकी छन् ।
भण्डारीले यतिमात्रै भनेकी भने होइनिन् । मदन भण्डारीको जबजलाई उच्च स्थान दिनुपर्ने जिकिर गर्दै गर्दा उनले समाज रुपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा हुने समेत बताइन् ।
भण्डारीले एमालेको सदस्यता नविकरण गरेको दाबी मात्रै गरेकी छैनिन्, उनले नेतृत्वको सवालमा समेत प्रष्ट बोलिसकेकी छन् ।
यता, उनको सक्रिय राजनीतिलाई लिएर प्रश्नसंगै अपेक्षा पनि नगरिएको भने होइन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विद्यादेवीको सक्रिय राजनीतिमा पुनरागमनलाई सकारात्मक र वामपन्थी एकताका निम्ति सहज हुने विश्वास व्यक्त गरेका छन् ।
चीनबाट फर्किएपछि खनालले दिएको अभिव्यक्ति र भण्डारीले चीन गएर फर्किएपछि गरेको घोषणाले केहि तथ्य भने संकेत गरिरहेको छ । तर, अहिले यसै भन्न सकिने स्थिति भने छैन् ।
एमालेको व्यानर कहिले ?
विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने बहस चलेपनि अहिले एमाले विधान महाधिवेशनको तयारीमा जुट्न थालेको छ ।
जसमा ७० वर्षे उमेरहदमा के गर्छ भन्ने विषय मुख्य बन्न पुगेको छ । एमाले महासचिव शंकर पोखरेलले उमेरहदको विषय हट्ने जिकिर गरिरहेका छन् भने अन्य केहि नेताहरुले यथावत रहने जिकिर गरिरहेका छन् ।
यस्तोमा एमालेको ब्यानरमा विद्यादेवीको पहिलो कार्यक्रम कहाँ र कस्तो स्थितिमा होला ? के विद्यादेवीले छिट्टै मदन भण्डारी फाउन्डेसनलाई छाडेर एमालेको ब्यानरमा सार्वजनिक अभिव्यक्ति दिन पाउलिन् ? प्रश्न र चासो बढेको छ ।