
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस डिलको आरोपले बद्नामित बनिरहेका छन् । यता, यसको सीधा प्रहार प्रधानमन्त्री केपी ओलीमाथि परेको छ ।
भ्रष्टाचार गर्न पनि दिन्न, गर्दा पनि गर्दिन भन्ने प्रधानमन्त्री ओलीले आफ्नै पार्टी र क्याबिनेट सदस्यले गरेको गैरकानूनी कामलाई किन छोप्न खोजिरहेका छन् भनि प्रश्न गर्न थालिएको छ ।
प्रधानमन्त्री केपी ओलीले मुलुकको नेतृत्व गरिसकेपछि भनेका थिए, अब साना ठूला भ्रष्टाचारका मुद्दाबारे सुन्नुपर्ने छैन् । आफू भ्रष्टाचारको सख्त विरोधि भएको हुंकार गरिरहे । ओलीले संसददेखि सार्वजनिक मञ्चमा भ्रष्टाचारविरोधि अभिव्यक्ति कति दिए होला ? त्यो हिसाब गरि साध्य छैन् । तर, उनले भनिहाल्छन्, भ्रष्टाचार उन्मुलन गर्छु । भ्रष्टाचार गर्न दिन्न ।
ओलीले भ्रष्टाचार गर्नै नदिने भनेपनि भ्रष्टाचार भने उनकै क्याबिनेटका सदस्यहरुले गरेको आरोप छ्यापछ्याप बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सेटिङ मिलाउनका लागि मन्त्रालयमा गरेको बार्गेनिङको अडियो सार्वजनिक भएपछि यो विषयमा चर्चा र चासो बढेको छ ।
अहिले मन्त्री गुप्ताले आफूले कुनै गल्ति नगरेको भनिरहेपनि त्यो अडियोको परीक्षण र उनले मन्त्री पदबाट बाहिरिने सामान्य राजनीतिक नैतिकता भने देखाएका छैनन् । मन्त्री गुप्ताले २५ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएपनि यसको स्वतन्त्र पुष्टी भने भएको छैन् । तर, घुस डिलसम्बन्धि उक्त अडियोमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारको नाम समेत मुछिएको छ । कास्कीमा भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिका लागि भएको भनिएको घुस डिलमा एक पुरुष, एक महिला र मन्त्री गुप्ताले कुराकानी लामो समयसम्म गरेको सुनिन्छ ।
यसरी चलिरहेको घुस डिलको अडियोमा प्रहरी वा अख्तियारले सक्रियता देखाएर अनुसन्धान भने गर्ने आँट गरेको देखिन्न । मन्त्री गुप्ता एमालेका नेता पनि हुन् ।
अरु मन्त्रीमाथि पनि प्रश्न
ओली सरकारका अन्य मन्त्रीमाथि समेत प्रश्न उठिरहेको छ । खेलकुदमन्त्री तेजुलाल चौधरीमाथि समेत नेपाल प्रिमियस लिग विवादमा मुछ्न थालिएको छ । मन्त्री चौधरीले अनाधिकृत पत्र तयार पारेको आरोप लागिरहेको छ । उसोतः गृहमन्त्री रमेश लेखकमाथि पनि भिजिट भिसा सेटिङ गरेको आरोपमा संसद नै अवरुद्ध बनिरहेको छ । यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले भनिरहेको सुशासन र भ्रष्टाचारविरोधि कुराहरु फिक्का हुन थालेको चर्चा हुन थालेको छ ।
प्रधानमन्त्रीमाथि नै गम्भीर प्रश्न
प्रधानमन्त्री केपी ओलीमाथि समेत भिजिट भिसा दुरुपयोगको आरोप लगाउन थालिएको छ । ओली सहभागी भएको संयुक्त राष्ट्र संघको कार्यक्रममा स्पेन गएकाहरु नफर्किएको भन्दै चर्चा चलिरहेको छ । तर, भिजिट भिसामा जानेहरु विचौलियालाई मोटो रकम बुझाएर गएको भनिएको छ ।