
काठमाडौं । केपी शर्मा ओलीको नेत्तृत्वमा सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा पूनः एकपटक मन्त्रीहरु हेरफेरको विषयले चर्चा पाएको छ । सरकारमा रहेका मन्त्रीहरुको प्रस्तुति र कार्यक्षमताको बारेमा सत्तारुढ दलभित्रैबाट आलोचना हुँदै आएको छ भने मन्त्रीहरु केही न केही विवाद र लफडामा फस्दै आइरहेका छन् । यस्तोमा सरकारबाट हटाइन सक्ने मन्त्रीहरु को को हुन सक्छन् ?
केपी शर्मा ओली नेतृत्वको सरकार बनेको असार ३१ गते एक वर्ष पुरा हुँदैछ । ओलीले गत वर्षको असार ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गरेका थिए । संसदका दुई ठूला दलहरु कांग्रेस र एमाले मिलेर बनेको सरकारमा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री, कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री छन् ।
यी दुई दलबाहेक सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, लोसपा र जनता समाजवादी पार्टी जसपाबाट पनि मन्त्री छन् । मन्त्रीहरुको कार्यकाल एक वर्ष पूरा हुँदैगर्दा मन्त्रीहरुको कार्यक्षमताका कारण काँग्रेस एमालेमाथि मन्त्री फेर्नुपर्ने दवाव पटक–पटक उठिरहेको छ । सत्तारुढ दल कांग्रेसकै धेरै नेताहरुले सार्वजनिक रुपमै सरकारको आलोचना गर्दै मन्त्री फेर्न प्रत्यक्ष–अप्रत्यक्षरुपमा दबाब दिइरहेका छन् भने सरकारमा कांग्रेस हुनुको औचित्य पुष्टि गर्न चुनौति पनि दिइरहेका छन् । यसमा कांग्रेस संस्थापन इतरका नेताहरु सरकारको आलोचनामा बढि नै आक्रामक हुँदै आइरहेका छन् ।
सरकारमा रहेर सशक्त कार्य गर्न नसकेको भन्दै पार्टीमा तीव्र दबाव रहेपनि काँग्रेसले मन्त्री तत्काल फेर्ने निर्णय भने गर्न सकेन । काँग्रेसको केन्द्रीय समिति बैठकमै यो विषयले प्रवेश पाएको थियो । तर पार्टीबाट मन्त्री फिर्ता बोलाउने र अरु पठाउने भन्ने औपचारिक निर्णय काँग्रेसमा भएको छैन ।
अर्कोतर्फ नेकपा एमालेभित्र पनि मन्त्री फेर्ने विषयले चासो पाइरहेको छ । एमाले सांसदहरुले विभिन्न समितिको बैठकमा पनि मन्त्रिमण्डल हेरफेर गरिनुपर्ने विषय जोडतोडले उठाइरहेका छन् । एमालेले यस विषयमा औपचारिक निर्णय गर्न नसकेपनि मन्त्री हटाउने विषय भने एमालेभित्र जब्बर बनिरहेको छ ।
यता, काँग्रेस एमाले सम्मेलित शक्तिशाली सरकारले सोचेअनुसारको काम गर्न नसकेकोमा नागरिकस्तरबाटै पनि आक्रोश बढ्दो छ । यस्तैमा बेलाबखत ओली नेतृत्वको सरकार नै ढलिहाल्ने आशंका पनि गर्ने गरिँदै आएको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाको पछिल्लो अभिव्यक्तिलाई आधार मान्दा ओली नेत्तृत्वको सरकार तत्काल ढल्ने सम्भावना देखिदैन । बरु मन्त्रिमण्डल फेरेर सरकारमा नयाँ मन्त्रीहरु प्रवेश गराउने सम्भावना भने देखिन्छ । हुनतः अब एमाले नेतृत्वको सरकारको कार्यकाल अब एक वर्ष मात्रै बाँकी छ ।
आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने कांग्रेस एमालेबीचको सहमति अनुसार अब एक वर्षपछि देउवाले सरकारको नेतृत्व गर्दैछन् । र, देउवा नेत्तृत्वमा आउने बित्तिकै मन्त्रीमण्डल स्वत फेरबदल हुने सम्भावना छँदैछ । तर, सरकारको परफरमेन्सको धेरै आलोचना हुन थालेपछि यही बीचमै पनि मन्त्रीहरु फेरबदल हुनेगरी भित्रि तयारी भइरहेको हो । कांग्रेसभन्दा पनि एमाले मन्त्रीहरु फेर्न आतुर रहेको बुझ्न सकिन्छ ।
एमालेका कुन–कुन मन्त्री खतरामा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई सँधैजसो नतिजा दिनेगरी काम गर्न निर्देशन दिँदै आएका छन् । तर एमालेका कतिपय मन्त्रीहरुले अपेक्षित नतिजा दिन सकिरहेका छैनन् । यसकारण एमालेले सरकारमा रहेर कमजोर कार्यप्रदर्शन गर्ने र विवादित मन्त्रीहरुलाई फिर्ता बोलाउने संभावना देखिन्छ ।
यस्तोमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सरकारबाट बाहिरिन सक्ने सूचीमा छन् । हुन त उनी आँफै पनि सरकारबाट बाहिरिने मुडमा रहेको बताइँदै आएको छ । अघिल्लो पटक अर्थमन्त्री रहँदा पत्याइएका मन्त्रीमा पर्ने पौडेल यसपटक भने राष्ट्र बैंकको गभर्नर नियुक्ति, बीमा समितिको अध्यक्ष नियुक्ति तथा नेप्सेको सीईओ नियुक्ति लगायताका विषयमा विवादित बनेका छन् । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि सरकारमा रहेर अपेक्षित नतिजा दिन नसकेको आरोप खोपिरहेका छन् ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पनि मन्त्रिमण्डलबाट फिर्ता बोलाइने संभावना छ । उनी माओवादीसँगको गठबन्धनदेखि नै मन्त्री रहँदै आएका छन् । तर उनले पनि अपेक्षित काम गर्न नसकेको आरोप खेपिरहेका छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानविर राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि अपेक्षित काम गर्न नसकेकाले मन्त्रीबाट फिर्ता बोलाइन सक्ने सम्भावित सूचीमा छन् ।
झन सामान्य प्रशासन मन्त्री गुप्ता घुस डिल प्रकरणमा मुछिएपछि सुशासनको नारा दिएर नथाक्ने र भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्ने प्रधानमन्त्री ओली निकै ठूलो दबाबमा परेका छन् । मन्त्री गुप्तालाई सम्भवतः एक दुई दिनभित्रै सरकारबाट फिर्ता बोलाउने सम्भावना अत्यधिक छ ।
कांग्रेसबाट को–को ?
कांग्रेसबाट हटाइने मन्त्रीहरुको सूची र अनुमान सार्वजनिक नभएपनि केही मन्त्रीहरु भने निकै विवादित छन् । जसमध्ये गृहमन्त्री रमेश लेखक सबैभन्दा बढि विवादमा तानिएका छन् । भिजिट भिसा प्रकरणका कारण गृहमन्त्री आफुमात्रै विवादमा तानिएका छैनन्, उनकै कारण देशको राजनीतिलाई नै अस्थिर बनेको छ ।
गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने माग राख्दै रास्वपा र राप्रपाले निरन्तर संसद अवरोध गर्दै आइरहेका छन् । लेखक बाहेक उर्जामन्त्री दीपक खड्का, खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतले पनि अपेक्षित परिणाम दिनेगरी काम गर्न सकेका छैनन् ।
लोसपाको ठाउँमा जसपा नेपाल !
लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका सरतसिंह भण्डारी पनि धरापमा छन् । सरकारलाई हालै समर्थन फिर्ता दिएको जसपा नेपाललाई सरकारमा ल्याउने तयारी भइरहेको छ ।
राष्ट्रिय सभामा समिकरण मिलाउन समेत जसपा नेपाल महत्वपूर्ण भएकाले लोसपाका भण्डारीलाई मन्त्रीबाट बिदा गरेर उनको स्थानमा जसपा नेपाललाई भित्र्याउने ओली सरकारको तयारी छ ।
यसका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गरिरहेको र नयाँ अनुहारलाई अवसर दिने तयारी गरेको पनि पार्टी निकटले बताउने गरेका छन् । यद्यपि, मन्त्री परिवर्तनको अन्तिम निर्णय एमाले र कांग्रेसका शीर्ष नेताहरूको छलफलमा निर्भर रहने देखिन्छ ।