
मकवानपुर । बागमती प्रदेश सभा भवन भग्नावशेष बनेकै समय अब भने सदन सञ्चालनको तयारीलाई तीव्रता दिइएको छ । ऐन निर्माण गर्ने र नागरिकको पक्षमा आवाज उठाउने थलो नै लामो समयदेखि अस्तव्यस्त हुँदा बागमती प्रदेश सरकार नै कमजोर हुँदै गएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेश सभाको दुवै भवन जलेर बैठक बस्न नमिल्ने भएपछि अहिले प्रदेश सरकारले सदन सञ्चालनका लागि वैकल्पिक बैठक कक्षमा सदन सञ्चालन गर्ने तयारी गरिरहेको हो ।
जेन–जी प्रदर्शनका कारण बागमती प्रदेश सभाको दुवैवटा भवन जलेर खरानी बनेपछि प्रदेश सभा नै अन्योलमा रहेकाले प्रदेश सभा सञ्चालनका विकल्प खोज्न थालिएको छ । भवनहरु जेनजी आन्दोलनका क्रममा जल्दा लामो समयसम्म सभाको काम कारवाही नै ठप्प बन्यो । जलेर थुप्रिएको खरानी हेरेरै कर्मचारीहरुले दिन कटाए । प्रदर्शनको डेढ महिना बित्दा बल्ल प्रदेश सभा तग्रिन सुरु गरेको छ ।
जल्नबाट जोगिएका कोठा सरसफाइ गरेर अत्यावश्यक कामको थालनी गरिएको छ भने सदन सञ्चालनको लागि पुर्ननिर्माणको काममा जुटेको छ । प्रदेश सभाको संरचना पुर्ननिर्माण पछि पनि बस्न नमिल्ने गरी ध्वस्त भएपछि हाललाई अस्थायी रूपमा हेटौंडा उपमहानगरपालिका कार्यालय सभाहलमा बैठक सञ्चालन गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
उक्त हलमा पनि आन्दोलनका क्रममा आगजनी हुँदा क्षति भएको थियो । तर पुर्ननिर्माण पश्चात् बस्न योग्य रहेको भन्दै सोही सभाहल मर्मतमा जुटेको हो । प्रदेश सरकारको लगानीमा बनेको सभा हल हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण नुहँदै क्षति पुगको थियो ।
कम क्षति भएको उक्त हल उपमहानगरपालिकासँगकै सहकार्यमा प्रदेश सरकारले मर्मत गरेर अस्थायी रुपमा सदन सञ्चालन गर्ने सहमती भएको हो । सोही अनुसार मर्मत सम्भार भैरहेको र तिहार लगत्तै सदन सञ्चालन गरिने प्रदेश सरकारको तयारी छ ।
सचिवालयले बैठक सञ्चालनका लागि आवश्यक पर्ने कुर्सी, साउण्ड सिस्टमदेखि प्रत्यक्ष प्रशारण उपकरणसम्मका सामग्रीहरूको व्यवस्थापन गर्नुपर्नेछ । तत्कालका लागि, यी सामग्रीहरू भाडामा लिएर भए पनि बैठक सुचारु गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुखको राजीनामा पछि नयाँ सभामुखको चयन प्रक्रियालाई अगाडि बढाउनका लागि पनि बैठक बस्नैपर्ने बाध्यकारी अवस्था रहेकोे छ ।