
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त रहेको तथा मुलुक बिचौलियाले चलाइरहेको पुष्टि भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद राईले यस्तो टिप्पणी गरिन् । उनले पछिल्लो समय बिचौलियाहरुको चलखेल र घुस डिलसम्बन्धी समाचार नियमित रुपमा आउन थालेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन् ।
उनले पालिकाका प्रमुख प्रशासकीय अधिकृत र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी अडियो सार्वजनिक भएको घटनालाई स्मरण गराउँदै प्रधानमन्त्रीमाथि प्रश्न गरिन्- मन्त्रीका घुस डिलहरू बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ?
उनले भनिन्, ‘सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ । मुलुक बिचौलियाहरुले चलाइरहेका छन् भन्ने कुराको पुष्टि हुनेगरी आएका समाचारहरु बढ्दै छन् । समाचारमा आएको विषय मन्त्रीज्यूको मात्र विषय नभएर सम्माननीय प्रधानमन्त्रीज्यूको पनि हो । कुनैपनि मन्त्रीवारे विवाद आए स्वयं मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो । मन्त्रीज्युको विषयमा त पालिका प्रमुख सरुवाको बारे लगायत विषयमा घुस डिल गरेको समाचारहरु आइरहन्थ्यो । यसरी घुस डिल गरेको अडियो सार्वजनिक हुँदा पनि चुप लागेर बस्ने हो सभामुख महोदय ? मन्त्रीका घुस डिलहरु बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ?’
सांसद राईले प्रधानमन्त्री र मन्त्रीहरुमा नैतिकताको खडेरी रहेको पनि टिप्पणी गरिन् ।