News 24 Television
काठमाडौं जिल्ला अदालतबाट २६ हजार ७ सय ४४ मुद्दा फर्छ्यौट

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा चालु आर्थिक वर्षको असार २७ गतेसम्म २५ हजार ६ सय ३९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षको जिम्मेवारी सरेको मुद्दा २६ हजार ५०२ गरी यस आर्थिक वर्षमा अदालतमा जम्मा लगत संख्या ५२ हजार १ सय ४१ पुगेको छ ।

आईतवार पत्रकार सम्मेलनको आयोजना गरी अदालतले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनका क्रममा काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले चालु आ.व.को असार २७ गतेसम्म अदालतले २६ हजार ७ सय ४४ मुद्दा फर्छ्यौट  गरेको बताए । अब २५ हजार ३ सय ९७ वटा मुद्दा बाँकी रहेको उनले जानकारी दिए ।

अदालतले दुई वर्ष नाघेका बाँकी मुद्दा १ हजार ८ सय ५३ वटा रहेको बताएको छ । त्यस्तै फैसला कार्यान्वयनतर्फ चालु आ.व.को असार २७ गतेसम्म जम्मा लगत ३३ हजार ३ सय ९३, फर्छ्यौट ४ हजार १ सय ८०, बाँकी २९ हजार २ सय १३ रहेको छ । कैदतर्फ ८२ प्रतिशत फर्छ्यौट भएका छन् भने जरिवानातर्फ ४२ प्रतिशत फर्छ्यौट भएका छन् । सरकारी बिगोतर्फ ३७ लाख ३४ हजार ४ सय ५९ फर्छ्यौट भएका छन् भने निवेदनतर्फका २ हजार ४ सय २७ फर्छ्यौट भएका छन् ।

त्यस्तै मेलमिलापतर्फ मेलमिलाप केन्द्रमा पेश भएका २ हजार ७ सय ५ मुद्दामध्ये सफल भएका मुद्दाको संख्या ३ सय १ रहेको छ । मेलमिलाप शाखामा चालु रहेका मुद्दा ३ सय ८४ र मेलमिलाप हुन नसकी फिर्ता भएका मुद्दा २ हजार २० रहेको छ । मेलमिलापतर्फ कुल सफल प्रतिशत  १४.२० रहेको छ ।

अदालतले २०७७/०७८ मा ३७.०९, २०७८/०७९ मा ३९.२९, २०७९/०८० मा ४२.४५, २०८०/०८१ मा ४६.८१ र २०८१/०८२ मा ५१.२९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशहरुको जम्मा दरबन्दी ४३ रहेकोमा अहिले ३९ जना छन् भने ४ जना रिक्त रहेकाे छ । अन्य अदालतबाट काजमा आएका न्यायाधीशको संख्या २ गरी अहिले काम गरिरहेका न्यायाधीशको संख्या ३७ रहेको अदालतले जनाएको छ । अदालतले कार्यबोझ, न्यायाधीश तथा कर्मचारीहरुको दरबन्दीअनुसार अदालतको भवन लगायतको भौतिक अवस्था अपुग भएको गुनासो गरेको छ । 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update