
काठमाडौँ । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई मरेको सिनोको संज्ञा दिँदै अर्ली महाअधिवेशनको माग गरेपछि पार्टीमा तरङ्ग पैदा भएको छ । कार्यकर्ता टिक्नै नसकेपछि आँफैमा राजनीतिक अस्थित्व संकटको सामना गरिरहेको नेकपा एसभित्र रामकुमारी झाँक्रीले उठाएको प्रश्नले पार्टी अझ अफ्ठ्यारोमा परेको छ । झाँक्रीले गत असार १४ गते नेकपा एस सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै माधवमाथि आक्रोश र पार्टीमा उनको विकल्प खोजिनुपर्ने भन्दै चर्को अभिव्यक्ति दिएकी थिइन् ।
खासगरी रामकुमारी झाँक्रीले संसदीय निर्वाचन र पार्टीको महाधिवेशमा पराजय भोगेपछि नेतृत्वमाथि कडा प्रहार थालेकी छन् । यस्तैमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्धा खेपिरहेका पार्टी अध्यक्ष माधवविरुद्ध रामकुमारीले आगो ओकलेकी हुन् । तर नेतृत्वविरुद्ध नै यस्तो अभिव्यक्ति दिँदा रामकुमारीलाई पार्टीले कारावाही गर्न सकेको छैन । रामकुमारीलाई असार १७ गते पार्टीको केन्द्रीय अनुशासन आयोगले ३ दिनको म्याद दिएर अभिव्यक्तिबारे स्पष्टिकरण दिन निर्देशन दिएको थियो । तर रामकुमारीले उक्त अवधिमा कुनै स्पष्टिकरण दिइनन् । बरु उनी प्रष्टिकर नै नदिने भन्दै पार्टी पङ्तीलाई नै खुलमखुल्ला चुनौती दिँदै आएकी छन् ।
रामकुमारीलाई अन्तिम मौका !
पार्टी अनुशासन आयोगको तीन दिने म्याद सकिएपछि पनि प्रष्टिकरण नदिएकी रामकुमारीलाई मंगलबार बसेको पार्टीको सचिवालय बैठकले स्पष्टीकरण सोध्ने समय ७ दिन थपेको छ । अहिलेसम्म यो अवधि पनि पाँच दिन नाघिसकेको छ । नेताहरुले रामकुमारीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मआलोचना गरेमा मात्रै पनि एक मौका दिन सकिने भन्दै आएका छन् ।
यद्यपि रामकुमारीले दोस्रो पटकको म्याद घर्किन लाग्दा पनि पार्टीलाई स्पष्टिकरण बुझाएकी छैनन् । यसले अब नेकपा एसमा रामकुमारी झाँक्री के होलिन् ? भन्ने प्रश्न उब्जाएको छ।
नेतृत्वमाथि कडा आलोचना गरेकी रामकुमारीप्रति पार्टीले दुई दुई पटकसम्म स्पष्टिकरण मौका दिएर केही लचकता देखाएको देखिन्छ । उता रामकुमारी पनि पार्टीले चालेको कदमबाट टसमस भइरहेकी छैनन् ।
माधवको प्रष्टिकरण कस्तो ?
पार्टीमा उब्जिएको प्रश्न र अदालती मुद्धाको सामना गरिरहेका अध्यक्ष माधव नेपाल भने रक्षात्मक बन्दै आएका छन् । उनले समग्रमा जवाफ दिँदै आफूले भ्रष्टाचार गरेको प्रमाण दिए जुनसुकै मूल्य चुकाउन तयार रहने टिप्पणी गर्दै आएका छन् ।
माधवले यस्तै प्रष्टिकरण दिएपनि पार्टीमा प्रश्न र बहस भने रोकिएका छैनन् । मुख्यतः नेतृ रामकुमरी झाँक्रीले नेतृत्वमाथि लगाएको संगीन अरोप नै नेकपा एसभित्रको बहसको विषय बनेको छ । पार्टीमा नेता र कार्यकर्ताहरु नै विकर्षित भइरहेको अवस्थामा रामकुमरीले यस्तो अभिव्यक्ति दिँदा अब कसरी चल्ने भन्नेमा नेतृत्व नै अन्योलमा छ । अर्कोतर्फ निर्धारित समयसीमा पनि रामकुमरीले चित्तबुझ्दो स्पष्टिकरण नदिए रामकुमारीविरुद्ध कस्तो कदम चाल्ने भन्नेमा पनि पार्टी स्पष्ट देखिँदैन ।