News 24 Television
पछिल्लो एक वर्षका ओली बोलीः राजाप्रति कठोर, रविप्रति कटाक्ष !

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेसको सहयोगमा प्रधानमन्त्री बनेको अब एक वर्ष पुग्दै छ । उनले प्रधानमन्त्री भए पछि निरन्तर दिइरहेका अभिव्यक्तिले उनको विपक्षीप्रति अनुदार व्यवहार मात्र होइन, पार्टी भित्रै पनि सम्भावित चुनौतीप्रति उनको कठोरपनलाई प्रदर्शित गर्दछ । यसबीच रवि, राजा र राजतन्त्र उनको निशानामा देखिए भने उनले काँग्रेससँग विश्वासको वातावरण निर्माणको लागि पनि उनले राम्रै परिश्रम गरे । आफ्नो कार्यकर्तामा आत्मविश्वास भर्न उनले दिएका केही अभिव्यक्ति भने उनको लागि प्रत्युपादक पनि भए । हेरौँ कटाक्ष र कठोरपन मिश्रित ओलीका चर्चित अभिव्यक्ति । 

रविप्रति कटाक्ष 

प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरे । झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका थिए । 

पूर्वराजाप्रति आक्रोश ! 

यस बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाएको टिप्पणी गरे । सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने भनेर नचाहिने कुरा गर्दै हिँडिरहनु उचित नहुने उनको भनाइ थियो । राजतन्त्र समर्थकहरु राजा ल्याउने भन्दै सडकमा आएर तमासा देखाइरहेको उनले बताएका थिए ।

जेठ १५ गते राजावादीहरुले राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन तयारी गर्दै गर्दा प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति आएको थियो ।

अराजकताको आग्रह 

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिए । नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका थिए । 

राजावादीहरुले जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ति देखाएको उनको टिप्पणी थियो । उनको यस अभिव्यक्तिको राष्ट्रिय मानव अधिकार आयोगले पनि आलोचना गरेको थियो । 

विद्या लक्षित अभिव्यक्ति 

पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा सँगै ओलीको पनि विद्या लक्षित अभिव्यक्ति आयो । उनले काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गर्दै भनेका थिए ।

तर, अहिले विद्या भण्डारी सक्रिय राजनीतिमा छिन् । र, उनी ओलीलाई विस्थापित गर्दै ११ औँ महाधिवेशनबाट अध्यक्ष बन्ने आकांक्षा सहित अघि बढिरहेकी छन् । 

काँग्रेससँग सहकार्य 

प्रधानमन्त्री केपी शर्मा ओलीले यस बीचमा दोहोराइरहेको अभिव्यक्ति हो –प्रधानमन्त्रीबाट राजीनामा विषय । सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बताएका थिए । 

त्यस अघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा काँग्रेस सभापति देउवा थाइल्याण्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । 

झोले अभिव्यक्ति !

पार्टी कार्यकर्ता र शुभेच्छुकलाई झोले भन्दै सञ्जाल र समाजमा आलोचना हुन थाले पछि प्रधानमन्त्री ओलीले आफूलाई पनि झोले करार गरे । उनले जनता, राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताए । बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अफ्ठ्यारो नलाग्ने उनको भनाइ थियो । 

तर, ओलीको अभिव्यक्ति र झोले अभियान एमाले र ओलीको लागि प्रत्यूपादक बन्यो । 

प्रधानमन्त्री ओलीका अभिव्यक्तिले यस बीचमा देशको राजनीतिको दशा र दिशा के थियो भन्ने प्रष्ट पार्छ । राजनीतिक रुपमा ओली आफ्नो दल एमालेलाई थप बलियो बनाउन मात्र लागेनन्, उनी यस बीचमा राजावादी आन्दोलनको प्रतिरोधमा देखिए । साथै माओवादीसँगै रास्वपा प्रतिको कटाक्ष र काँग्रेससँग विश्वासको वातावरण निर्माण उनले आफ्नो समय खर्चिएको देखिन्छ । 
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update