News 24 Television
कमलको हालतमा राजेन्द्रः धवल बोक्ने ज्ञानेन्द्रको दाउमा पार्टी छाडेका नवराज !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको आन्तरिक विवाद चुलिन थालेको छ । राप्रपाभित्रको विवादले पार्टी फुटको स्थितिमा अवस्थामा लैजाला ? प्रश्न उठिरहेको बेला राप्रपामा धवलशमशेर जबराले रोचक सक्रियता बढाएका छन् । निर्मल निवासको चाहनाअनुसार अध्यक्ष राजेन्द्र लिङ्देनलाई कर्नरमा पार्ने गरि चलिरहेको चलखेल बढिरहेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको मुद्दा उठाउदै आएपनि को खाँटी राजावादी ? भन्ने प्रश्नले विवाद चर्काउने गरेको देखिन्छ । राप्रपाभित्रको आन्तरिक राजनीति अहिले यहि बिन्दुबाट पुनः विवादमा फस्दै गएको छ । 

कारबाहीदेखि निलम्बनका श्रृङ्खला चल्न थालेका छन् । तर, राप्रपाका नेताहरुले नै यो प्रकरणलाई प्रत्यक्ष रुपमा निर्मल निवाससंग जोड्ने गरेका छन् । 

पार्टीको साधारण सदस्यता त्यागेको दाबी गरेका नवाज सुवेदीले निर्वाचन आयोग गुहार्दै पार्टीभित्रको विवादमा नेताहरुका अनुहार बाहिर ल्याइदिएका छन् । यस्तोमा राजसंस्था पुस्र्थानाका लागि संयुक्त जनआन्दोलन समिति घोषणामै सुवेदीले आफू राप्रपाको साधारण सदस्य नभएको घोषणा गरिसकेका थिए । 

आफू राप्रपाको साधारण सदस्य समेत नरहेको दाबी गरेका सुवेदीले अहिले फेरि निर्वाचन आयोगमा आफूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिशोधपूर्ण ढंगले पार्टी विधानविपरित कार्यकाल बाँकी हुदै पदमुक्त गरेको दाबीसहित निवेदन दिन पुगेका छन् । 

निर्वाचन आयोगमा पुगेका उनले लिङ्देनको स्वेच्छाचारिता तोड्न आफू निर्वाचन आयोग पुगेको दाबी पनि गरेका छन् । 

अनुशासन समितिको संयोजकबाट लिङ्देनले सुवेदीलाई हटाएर उपाध्यक्ष रोशन कार्कीलाई जिम्मेवारी दिइसकेका छन् । जुन विषयको वैधतामा सुवेदीले प्रश्न उठाइरहेका छन् । तर, आफैले गरेको घोषणाविरुद्ध । 

निर्वाचन आयोगमा किन ?

नवराज सुवेदीसहित निर्वाचन आयोगमा महामन्त्री धवलशमशेर जबरासहित राप्रपामा संस्थापन इतरपक्षका नेताहरुको लर्को लागिरहेको छ । लिङ्देनको निर्णयविरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित नेताहरु निर्वाचन ायोग पुगेका थिए । जसमा नेताहरुले कारबाहीमाथि प्रश्नमात्रै उठाएका छैनन्, पार्टीमा समानान्तर अभ्यासको छनक समेत प्रष्ट ढंगले दिएका छन् । 

उसोतः लिङ्देनले नेता लावतीलाई समेत प्रवक्ताबाट जिम्मेवारीमुक्त गरिदिएका थिए । जुन निर्णयका कारण राप्रपाको विवाव थप उत्कर्षमा पुग्ने खतरा बढ्दै गएको छ ।

कमल थापाको झल्को !

राप्रपाको अध्यक्षमा कमल थापा राजेन्द्र लिङ्देनसंग पराजित बने । आफ्नो पराजयको कारण थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाए । 

थापाले निर्मल निवासले हस्तक्षेप गर्दा आफू अध्यक्षमा पराजित भएको दाबी मात्रै गरेनन्, उनले पार्टीको सैद्धान्तिक मार्गनिर्देशनबाट राजसंस्थाको विषय नठ हटाइदिए । राजाको आवश्यकता अब हुन्न भन्दै राप्रपा नेपालको स्थापना पनि गरे । तर, कमल थापा यो विषयमा पनि धेरै लामो समय भने टिक्न सकेनन् । थापाले फेरि २०८० भदौ ७ गते पार्टीको केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन राजसंस्थालाई पार्टीको एजेण्डा बनाउने जिकिर गरे । 

थापाले आफू राप्रपाबाट बाहिरिनुपर्ने स्थितिदेखि अध्यक्षमा पराजित हुनुलाई कारण माने, निर्मल निवास अर्थात ज्ञानेन्द्र शाह । तर, उनले अन्तिममा पुनः राजसंस्थाको वकालतमा जोड दिएपनि लामो समय उनी निर्मल निवासमा जान पाएनन भने बल्लतल्ल निर्मल निवासमा पुग्ने मौका पाए । अहिले राजसंस्थाको वकालतकर्ताको रुपमा थापाको सक्रियता भने देखिन्छ ।

लिङ्देनलाई आपत्

कमल थापाले राजसंस्थाको माग छाडेकै बिन्दु र परिस्थितिमा अब राजेन्द्र लिङ्देन पुग्ने दाबी गर्न थालिएको छ । लिङ्देनलाई निर्मल निवासले पछिल्लो समय शंकामात्रै गरेको छैन्, धवललाई अघि सार्दै उनको विकल्पका निम्ति समेत नयाँ तयारी गरिरहेको छ । 
कमल थापाले राजसंस्था पुस्र्थापनाका लागि काम गर्न नसक्ने ठानेपछि लिङ्देनलाई अघि सारेको निर्मल निवास धवलको नेतृत्वमा पुग्ने छाँट देखिएको छ । 

जसकारण धवलले राप्रपा छाडेको औपचारिक घोषणा गरेका नवराज सुवेदीलाई लिएर निर्वाचन आयोग धाउनेदेखि बन्द कोठामा नयाँ रणनीतिमा जुटेका छन् । यसकारण कमल थापालाई रिप्लेस गर्न साथ पाएका लिङ्देनलाई फेरि निर्मल निवासले नै हटाउने अन्तिम तयारी गरेपछि उनी आक्रोशित बन्दै कारबाहीको डण्डा चलाउन थालेका छन् ।

लिङ्देनमाथि शंका किन ?

राजेन्द्र लिङ्देनले राप्रपाको नेतृत्व गरेपछि निर्मल निवासले सहज अपेक्षा गरेको थियो । तर, गएको निर्वाचनमा उनले एमालेसंग चुनावी गठबन्धन गरे । गणतन्त्र नेपालको संविधान मान्दै सरकारमा गए । सरकारमा मात्रै गएनन्, विभिन्न प्रदेशमा सभामुख पद लिनेदेखि यहि व्यवस्थामा मन्त्री बनाउने जस्ता काममा सक्रिय बने ।

पूर्वराजा ज्ञानेन्द्र शाहका अपिलपछि माहोल बनेको तर लिङ्देनले आन्दोलनलाई वर्षा लाग्यो भन्दै तुहाउने काम गरेको निर्मल निवासको बुझाई छ । 

राजसंस्थाको पक्षमा लिङ्देनले प्रष्ट अडान नलिएकोदेखि अनेक झन्जटमा फस्दै गएको र राजनीतिक रोटी सेकाउन राजसंस्थाको खोल ओढ्न पुगेको पूर्वराजाको देखिन्छ ।

जसकारण अब लिङ्देन पनि कमल थापाले भोगेको नियतितर्फ उन्मुख बनेको र धवलले पार्टी नेतृत्व लिएर राजसंस्थाको आन्दोलन चर्काउने अपेक्षा निर्मल निवासले गरेको छ । लिङ्देन पूर्णतः शंकाको घेरामा परेकाले पनि स्थिति थप जटिलतातर्फ गएको बताइन्छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update