
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सुशासन र परदर्शिताको नारा घन्काउँदै सरकारको नेतृत्व गरिरहेका छन् । सरकारको नेतृत्वमा आएदेखि मात्रै पनि प्रधानमन्त्री ओलीले सुशासनको नारालाई अझ चर्को बनाए । यसरी सुशासनका नारा घन्काइरहँदा प्रधानमन्त्री ओली भने आँफै कुशासन र भ्रष्टाचार आरोपबाट गुज्रिरहेका छन् । किनकि प्रधानमन्त्री ओलीकै क्याविनेटका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले खुलमखुल्ला लाखौँको ‘घुस डिल’ गरेकोे तथ्य बाहिरिएको छ । एमालेबाटै सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले खुल्ला रुपमै ‘घुस डिल’ गरेको अडियोले देशव्यापी बहस छेडिँदापनि प्रधानमन्त्री ओली भने भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भन्दै आदर्श र नैतिकताको पाठ सिकाइरहेका देखिन्छन् ।
तर के ओलीको यो नियती र नाराले मात्रै साँच्चिकै मुलुकमा सुशासन स्थापित हुनसक्छ ? के ओली नेतृत्वको सरकारले वास्तवमै भ्रष्टाचार निर्मुलन गर्न चाहिरहेको छ ? भन्ने जस्ता प्रश्न गम्भीर रुपमा उठिरहेका छन् । ओली नेतृत्वको सरकारका मन्त्रीहरुले भ्रष्टाचारका लागि बार्गेनिङ गर्ने गरेको खुलासा यो नै पहिलो होइन् । ओलीले नेतृत्व गरेका हरेक पटकका सरकारका कुनै न कुनै मन्त्रीहरु यस्ता भ्रष्टाचारका काण्डहरुमा जोडिँदै आएको यथार्थता छ । तर स्वयम प्रधानमन्त्री नै आरोपित मन्त्रीहरुको बचाउमा उत्रँदा भ्रष्टाचारको काण्डहरु निर्मुल गर्न समस्या परेका छन् । यस्तैमा ओलीले आफूले भ्रष्टाचार पनि गर्दिन र गर्न पनि दिन्न भन्नु सोभनिय देखिँदैन ।
रास्वपालाई भ्रष्टाचारीको ट्याग !
नेकपा एमाले र रास्वपा सुरुका दिनदेखि नै एकअर्काका नजिकका दलका रुपमा परिचित थिए । ओलीकै आग्रहमा रास्वपा दुई पटकसम्म सरकारमा सहभागी भयो । तर अहिले प्रतिपक्षी कित्तामा रहेको रास्वपालाई नै ओलीले भ्रष्ट र ठगको संज्ञा दिइरहेका छन् । रास्वपाले सभापति रवि लामिछानेको रिहाइका लागि विश्वव्यापी हस्ताक्षर अभियान गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने रास्वपालाई भ्रष्ट र ठग पार्टीको रुपमा दर्ज गरेका छन् ।
प्रधानमन्त्री ओलीले रास्वपामाथि भ्रष्टको संज्ञा दिइरहँदा एमाले महासचिव शंकर पोखरेलले पनि रास्वपाबारे अर्को रहस्यपूर्ण तथ्यको खुलासा गरिदिएका छन् ।
महासचिव पोखरेलले रास्वपाप्रति जनआकर्षण बढ्दो क्रममा रहँदा सत्तामा ल्याएर परीक्षण गर्ने र उनीहरुको आकर्षण घटाउने रणनीति लिएको खुलासा गरेका हुन् । त्यसैकारण एमालेले पनि रास्वपालाई रोजेकै मन्त्रालय दिलाएको महासचिव पोखरेलको दावी छ । उनले त्यो समय रास्वपाका लागि एमाले नै भरोसाको केन्द्र रहेको र रास्वपा नेताहरुको उठबस नै अध्यक्ष ओली निवास हुने गरेको खुलाएका छन् ।
सत्तामा सहयकार्य हुँदा एमालेले रास्वपा सभापति रविको सहकारी ठगी प्रकरणमाथि अनुसन्धान गर्न आवश्यक ठानेको थिएन । तर रवि आँफैले आफूमाथि अनुसन्धान गर्न तयार भएपछि नै उक्त विषयमा एमाले पनि छानविनका लागि तयार भएको बताइँदै आएको छ । तर सत्ताका लागि जोसुकैलाई बोक्ने र प्रतिपक्षीमा गएपछि उसैलाई भ्रष्टाचारीको संज्ञा दिइनु यो एमालेको कस्तो सुशासन ? यो प्रश्न एमाले र ओलीमाथि आम रुपमै उठेको देखिन्छ ।